बागलुङ–२ का मतदाताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सडक स्तरोन्नति र वन्यजन्तु नियन्त्रणलाई मुख्य एजेण्डा बनाएका छन्।
सालझण्डी–ढोरपाटन सडक लामो समयदेखि स्तरोन्नति नभएको भन्दै स्थानीयले सास्ती बेहोर्दै आएका छन्। सडकको अवस्था कमजोर हुँदा यात्रा र ढुवानी दुवैमा समस्या भइरहेको छ।
ढोरपाटन नगरपालिका–९ का थुमकला विकले बुर्तिबाङ बजारदेखि ढोरपाटन उपत्यका जोड्ने सडक एक दशकअघि निर्माण भए पनि हालसम्म स्तरोन्नति नभएको बताए।
सडक बनेपछि सुविधा हुने अपेक्षा गरिए पनि झन् समस्या बढेको उनको भनाइ छ। चुनावका बेला सडक बनाउने प्रतिबद्धता जनाए पनि निर्वाचित भएपछि नेताहरू गाउँ नफर्किएको गुनासो उनले गरे।
स्थानीय तुलबहादुर घर्ती मगरले नजिकैको जंगलबाट बाँदर, बँदेल र चितुवा लगायत वन्यजन्तु आएर बालीनाली नष्ट गर्ने र मान्छेमाथि आक्रमण गर्ने गरेको बताए। वन्यजन्तु नियन्त्रणका लागि ठोस पहल गर्ने उम्मेदवारलाई समर्थन गर्ने विषयमा गाउँलेबीच छलफल भएको उनले जानकारी दिए।
‘बिहान बेलुका बाँदर र बँदेल धपाउँदैमा दिन बित्छ। बारीमा लगाएको तरकारी र अन्नबाली जोगाउनै कठिन छ,’ उनले भने।
त्यस्तै निसीखोला गाउँपालिका–५ कुँडेका गङ्गाबहादुर विकले सडक व्यवस्थित नहुँदा यात्रा र सामान ढुवानी गर्न कठिन भएको बताए। साँघुरो र अप्ठ्यारो सडकका कारण बजारबाट दैनिक उपभोग्य सामग्री ल्याउँदा महँगो भाडा तिर्नुपरेको उनले बताए।
मतदाताहरूले यसपटक बुर्तिबाङ–ढोरपाटन तथा ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई प्राथमिकता दिने बताएका छन्।
प्रकाशित: २ फाल्गुन २०८२ १३:५६ शनिबार





