२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

गौरवशाली सुरक्षा-संस्थाको स्थापना

इतिहास

लमजुङका राजकुमार द्रव्य शाह वि.सं. १६१६, भाद्रवदी, अष्टमी तिथि, रोहिणी नक्षत्र, बुधबार लिगलिगकोटको राजा भए। सोही मितिबाट राजा द्रव्य शाहले नारायण अर्ज्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राजपुरोहित, गणेश पाण्डेलाई प्रशासन हेर्ने मन्त्री, भगीरथ पन्तलाई सेनापति, केशव बोहोरालाई भूमि विभाग प्रमुख तथा गंगाराम रानामगरलाई प्रधानन्यायाधीश (न्याय विभाग प्रमुख) नियुक्त गरेका थिए। प्रशासन हेर्ने १, सेना हेर्ने १, भूमि सम्बन्धी हेर्ने १ तथा न्याय हेर्ने १ गरी जम्मा ४ जना काजी (मन्त्री) को व्यवस्था भएको थियो। यो प्रथा पछिसम्म पनि रह्यो। त्यही मितिबाट सैनिक संगठन खडा भएकाले तिनै सेनाको विकासक्रम अहिलेको नेपाली सेना हो। यसर्थ नेपाली सेना वि.सं. १६१६ मा खडा भएको हो भने पहिलो सेनापति भगीरथ पन्त हुन्। उतिखेर सेनापतिलाई प्रधानसेनापतिको जिम्मेवारी दिइन्थ्यो। त्यसबेला लिगलिगकोट, उपल्लोकोट र तल्लोकोट गरी तीन साना भुरे राज्य थिए। ती सबैलाई राजा द्रव्य शाहले एकीकरण गरेर एउटै राज्य बनाई, गोरखा नामकरण गरेर गोरखा राज्य स्थापना गरिएको थियो।

तिलंगा, गोरखाली सेना, नेपाली सेना, शाही सेना, शाही नेपाली सेना र पुनः नेपाली सेनाको नामबाट हुर्कंदै गएको यस संस्थालाई पृथ्वीनारायण शाहको पालामा नेपाली सेना भनिएको थिएन। पछि राजा त्रिभुवनको समयमा र चन्द्र शमशेरको पालामा मात्र गोरखा सरकारको सट्टा नेपाल सरकार, गोरखाली सेनाको सट्टा नेपाली सेना, राजालाई ‘हिज हाइनेस’को सट्टा ‘हिज मेजेस्टी’ र प्रधानमन्त्रीलाई ‘हिज एक्सिलेन्सी’ भन्न सुरु गरिएको हो। तसर्थ हाल आएर कान्तिपुरलाई नेपाल भनिन्थ्यो र कान्तिपुर १८२५ सालमा कब्जा भएपछि गोरखा राज्य नेपाल भएको थियो भन्ने व्यक्तिगत भनाइलाई जोड दिएर नेपालको पूर्व राजसंस्था र सेनाको इतिहासलाई समेत २४० वर्ष भन्न थालिएको छ, जसमा कुनै ऐतिहासिक तुक रहेको छैन। विशाल नेपाल टुक्रिएर बाइसे–चौबिसे र काठमाडौं उपत्यकाका तीन वटा राज्यसमेत खडा भएका थिए। यसर्थ कान्तिपुर राज्य पनि टुक्रिनुभन्दा हलियाको विशाल नेपालकै एक टुक्रा थियो। कान्तिपुर राज्य आफैं नेपाल थिएन।

वि.सं. १८२५ को इन्द्रजात्राको रात्रिमा गोरखालीले कान्तिपुरमाथि हमला गर्दा पनि नेपाल उपत्यकामा नेपाल भन्ने राज्य कतै थिएन। थिए भने कान्तिपुर, भक्तपुर र पाटन राज्यहरू थिए। जनमानसमा काठमाडौं उपत्यकालाई नेपाल भन्ने प्रचलन थियो। पृथ्वीनारायणले नै हो जमिनमा नेपाल देखाएको।

काठमाडौं उपत्यकाका तीनवटै राज्य जितेपछि भारदारहरूसँग छलफल गरेर विजय प्राप्त भूगोलहरूलाई गोरखा नभनी नेपाल भन्ने निर्णय भयो भने सुरुमा भक्तपुरलाई राजधानी बनाउन खोजिएकोमा पशुपतिनाथ र गुह्येश्वरीलगायतका देवीदेवता रहेको र बागमती र विष्णुमतीले सिञ्चित भूगोलसमेत भएकाले कान्तिपुर अर्थात् काठमाडौंलाई नै नेपालको राजधानी बनाउने निर्णय भएको थियो। देशको नाम के दिने र राजधानी कहाँ बनाउने भन्ने कुरा जहिले पनि विजेताकै निर्णयमा हुन्छ। यो सांसारिक मान्यता हो।

वि.सं. १६१६ मा स्थापित गोरखा राज्यको शाह वंशीय राजाहरूको क्रमिकता वि.सं. २०६३ सालसम्म रह्यो र हाल नेपालमा रहेका जे जति भूगोल छन्, त्यही राजवंशले आर्जेको हो। वर्तमान नेपाली सेना पनि त्यही राजवंशका पहिलो राजा द्रव्य शाहले वि.सं. १६१६ मा लिगलिगकोटमा स्थापना गरेका थिए। वि.सं. १६१६ बाट २०६३ सालसम्म रहेको उक्त राजवंशलाई २४० वर्ष भन्ने माओवादीका जुन दन्त्य कथा भनिन्छ, त्यो इतिहास बाहिरको गफ मात्र हो।

नेपालको इतिहास धेरै वर्ष पुरानो छ। वि.सं. १८०० पछिका वर्षहरूलाई आधुनिककाल मानेको छ। तुलना गर्दा त्यसपछिको इतिहासले धेरै विषयमा प्रकाश पनि पारेका छन्। आधुनिक नेपाली सेनाको जन्मदाता बडामहाराजा पृथ्वीनारायण शाह नै हुन्।

गोरखा राज्यको इतिहास लिगलिगकोटबाट सुरु भई गोरखा, नुवाकोट, कान्तिपुर, टिष्टा नदीबाट कांगडा पुगेर विशाल नेपाल बनेको हो। पृथ्वीनारायण शाहको राज्यकालबाट मात्र गोरखाको इतिहास सुरु गर्नु ऐतिहासिक पक्षपात हुनेछ तर वि.सं. १६१६ देखि १८१९ सम्म सेनामा झारा प्रथा तथा घरधुरी मान्छे बोलाउने व्यवस्था थियो। कुनै पनि कम्पनी खडा भएका थिएनन्। वि.सं. १८१९ मा मकवानपुर गढीमा मिरकासिमको फौजसँग लडी ती बैरीबाट खोसिएका हातहतियारबाट श्रीनाथ, वर्जवाणी, पुरानो गोरख, कालिबक्स र सबुज कम्पनीलगायत पाँच वटा कम्पनी स्थापना भए र आधुनिक नेपालको सेनाको सुरुवात भयो।

गोरखा राज्यको स्थापना र इतिहासलाई पन्छाएर नेपाल र नेपाली सेनाको इतिहास लेख्न सकिँदैन। तसर्थ, लिगलिगकोटबाट सुरु भई गोरखा राज्य स्थापना भएको थियो र त्यही कुरालाई राष्ट्रिय इतिहासले मानेको छ भने वि.सं. १६१६ मा नेपाली सेनाको स्थापना भएको हो।

गोरखा राज्यको इतिहास केलाउँदा र त्यसबखतको संसारकै राज्य विस्तार गर्ने नीतिलाई विश्लेषण गर्दा गोरखाले पनि वि.सं. १६१६ देखि नै सैनिक प्रयोग गरी राज्य विस्तार गर्दै आएको छ। किनभने द्रव्य शाहको छोरा राजा पूर्ण शाहले गोरखा राज्यको विस्तार गरेका थिए भने उनका पनि छोरा राम शाहले उत्तरतर्फ तिब्बतको कुकुरघाटसम्म सैनिक युद्ध गरेरै आफ्नो अधिकार जमाएका थिए। तत्कालीन कान्तिपुरका राजाविरुद्ध पाटनका राजा सिद्धिनरसिंह मल्लले सैन्य सहयोग माग्दा राम शाहका छोरा राजा डबर शाह स्वयं ठुलो फौजको नेतृत्व गरी काठमाडौं उपत्यका पुगेको तथ्य इतिहासले देखाएको छ।

त्यसैगरी डम्बर शाहका नाति राजा रुद्र शाहको राज्यकाल वि.सं. १७२८ मा गोरखाली, पाटन र भक्तपुरको संयुक्त सेना भई मकवानपुरविरुद्ध लड्न गएको तथ्य पनि भेटिन्छ भने पृथ्वीनारायण शाहका पिता राजा नरभुपाल शाहले नुवाकोटमाथि असफल हमला गरेका थिए। उनको मृत्युपछि मात्र उनका छोरा पृथ्वीनारायण शाह वि.सं. १८०१ मा नुवाकोट जित्न सफल भएका हुन्।

यद्यपि, हामीले वि.सं. १८०१ भन्दा पहिलाको करिब ५३ वटा ससाना राज्यमा विभक्त सबै नेपालको सैनिक महत्त्वको इतिहास पनि लेख्नु जरुरी छ। हालसम्म प्राप्त इतिहासमा प्रायः सबै इतिहासले केवल गोरखा राज्यको मात्र बेलिविस्तार लगाएको भेटिन्छ।

अर्को कुरा, नेपालका राष्ट्रिय विभूतिहरू, प्रधानमन्त्रीहरू, प्रधानसेनापतिहरूको छनोट र निर्क्याेल कसले र कुन आधारमा गर्‍यो, स्पष्ट हुन जरुरी छ। तत्कालीन दरबारसँग सम्बन्ध र पहुँच हुने केही जात र व्यक्ति (प्राज्ञसमेत) को छनोटबाट निर्धारण भएको भन्ने सुनिन्छ। त्यो राम्रो हो, सुरुवात भयो, तर त्यसको सत्यता र आधारहरूको खोजी हुनु आज जरुरी छ। किनभने राजा पृथ्वीनारायण शाहले आफू राजा हुनासाथ विराज थापा मगरलाई मूलकाजी दिएर नुवाकोट कब्जा गर्न लगाए। मूल काजी विराज थापा मरेपछि उनका छोरा रामकृष्ण थापालाई मूल काजी बनाए। अनि त्यसपछि मात्र काममा ढिलो गरेपछि उनको कज्याइँ खोसेर महेश्वर पन्तलाई काजी बनाई नुवाकोटमाथि हमला गरियो। त्यो हमला असफल भएपछि पृथ्वीनारायण शाहले वि.सं. १८०१ को भाद्रतिर कालु पाण्डे (वंशीधर पाण्डे) लाई मूल काजी र शिवराम सिंह बस्न्यातलाई सेनापति काजी बनाए। अनि पृथ्वीनारायण शाहले आफ्नै नेतृत्वमा नुवाकोटमाथि तीनतिरबाट हमला गरी विजय गरे। तीनतिरबाट हमला गर्दा युद्ध सञ्चालन आफैंले गरेका र आफैं पनि लडेका थिए। तसर्थ गोरखा राज्यको इतिहास केलाउने हो भने वि.सं. १६१६ मा बनेका काजी भगीरथ पन्त पहिलो प्रधान सेनापति हुन्। नियुक्तिले नै दिएको कमाण्डर–इन–चिफलाई आधार मान्ने हो भने भीमसेन थापा पहिलो प्रधानसेनापति हुन्।

राज्यको आवश्यकतामा नै सेनाको विस्तार र विकास हुने हो। यही क्रममा गोरखा राज्यको राजनीतिक इच्छाशक्तिले आफ्नो भूभाग बढाउने सपना देखेरै अन्ततः एक संगठित सेनाको विकास भयो। पटकपटक कान्तिपुरको भूभाग नुवाकोटमा भएको गोरखाली हारपछि पृथ्वीनारायण शाहले गोरखाका समग्र भाइ, भारदार, जातजातिदेखि बिसे नगर्ची (दमाईं) समेतको सल्लाह र आर्थिक सहयोगमा बनारस पुगी हातहतियार खरिद गरी ल्याए। साथमा तीन जना हतियार चलाउन र बनाउन जान्ने मुसलमान पनि ल्याए।

नेपाली सेनाको विकासमा ती मुसलमानको ठुलो योगदान छ। त्यही गुनले गर्दा पृथ्वीनारायणको पालादेखि अहिलेसम्म पनि ती मुसलमानका सन्तान नेपाली सेनाको हतियार बनाउने र मर्मत गर्ने अंगमा कार्यरत छन्। त्यसपछि नेपाल एकीकरणका विभिन्न युद्ध हुँदै गए र मकवानपुर राज्य र त्यसअन्तर्गतको सिन्धुली इलाकासमेत गोरखालीले जितेपछि बंगालका नबाब मिरकासिमको फौजले एक्कासी वि.सं. १८१९ मा मकवानपुर दरबार र गढीमाथि कब्जा गर्न आए। शत्रु पक्षको विशाल फौजलाई नेपाली सेनाको सानो फौजले अपत्यारिलो तरिकाले बर्बाद पार्‍यो। तिनबाट करिब ५०० नाल राइफल र दुई वटा तोप खोसे भने हजारौं बैरी मारे। तिनै हतियारबाट सोही वर्ष सेनाको इतिहासमा पाश्चात्य पाराले पाँच वटा कम्पनीहरू खडा भए, जसको नाम दिइसकेको छ।

मकवानपुरको युद्धले दुई वटा अभिलेख राखेको छ। पहिलो हो, नेपाली सेनाले पहिलो पटक विदेशीसँग युद्ध गरेको र अर्को हो, सेनाको कम्पनी तहको संगठनात्मक रूपरेखा तयार भएको। त्योभन्दा पहिले राजा द्रव्य शाहकै पाराको सैनिक व्यवस्था कायम थियो।

उक्त युद्धको पाँच वर्षपछि वि.सं. १८२४ मा कान्तिपुरका राजा जयप्रकाश मल्लको सहयोग र गोरखालीहरूको विरुद्धमा प्रयोग गर्न कान्तिपुरबाट बोलाइएका अंग्रेज क्याप्टेन किनलकले नेतृत्व गरेको इस्ट इन्डिया कम्पनीको विशाल सेनालाई नेपाली सेनाले हालको सिन्धुली जिल्लाको पौवागढी (आडा पनि भनिन्छ) मा नराम्रोसँग हरायो र प्रशस्त हातहतियार खोसे। यसबाट आधुनिक हातहतियारको अझै विकास भयो र कम्पनीहरूको संख्या बढ्दै गए।

उक्त युद्ध नेपालले अंग्रेजसँग लडेको पहिलो लडाइँ थियो। यो पहिलो नेपाल–अंग्रेज युद्ध हो। तर हाम्रा इतिहासकारहरूले पहिलो लेखेनन्। यसलाई सिन्धुली गढीको लडाइँ भनिएको छ तर होइन। सिन्धुली गढी र पौवा गढी कहाँ पर्छ भनी स्थलगत अध्ययन नगरी इतिहासमा लेखिएको छ। वास्तवमा सिन्धुली गढीमा वि.सं. १८०१ पछि बैरीहरूसँग कुनै पनि युद्ध भएकै छैन। यतिबेलासम्म नेपाली सेनाको विस्तार र विकास धेरै राम्रो भइसकेको थियो।

त्यसपछि गएर राजा रणबहादुरका नायब राजकुमार बहादुर शाहको पालामा नेपालमा फ्रेन्च कालीगढहरू र प्रशिक्षकहरू झिकाई तोप, राइफल, गोला तथा गोली बनाउने काम प्रशस्तै भए। पाश्चात्य पाराको युद्धविद्या सिकाइयो। सेनामा कप्तान पद सृजना गर्ने बहादुर शाह हुन्। पछि गएर काजी तथा कमाण्डर–इन–चिफ भीमसेन थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्न पुनः फ्रेन्च नै कालीगढ, वास्तुविद तथा प्रशिक्षक झिकाई थुप्रै प्रयास गरे।

वि.सं. १८१९ मा खडा भएको कम्पनी संगठनलाई ठुलो पारी भीमसेन थापाले पल्टन (रेजिमेन्ट) र कम्पु (ब्रिगेड) मा विकास गरे। जंगी अड्डा र ब्यारेक घरको समेत (छाउनी) व्यवस्था गरे। हाल राष्ट्रिय संग्रहालय, छाउनीको भवन उनले बनाएको पहिलो सैनिक मुख्यालय थियो। कर्नेल, जनरल र कमान्डर–इन–चिफको पद सिर्जना गर्ने उनै थिए। पहिलो जनरल र कमान्डर–इन–चिफ उनै हुन्।

सेनाको विकासक्रममा राणा प्रधानमन्त्री जंगबहादुर राणाको विशेष योगदान छ। उनको बेलायत यात्रापछि पाश्चात्य पाराले नेपाली सेनाको पेसागत युद्धकला तथा हातहतियारमा ठुलो परिवर्तन भएको थियो भने विश्वमै नेपाली सेनाको बहादुरी उच्चस्तरको गनिएको थियो। उनको बेलायत यात्रापछि वि.सं. १९१३/१४ मा उनले नेतृत्व गरेको विशाल नेपाली सेनाले भारतमा भएको सिपाही विद्रोह दमन गरी फर्केपछि त हरेक पक्षको प्रगति भयो।

प्रधानमन्त्री वीर शमशेरको पालामा उनका छोरा (वैज्ञानिक) जनरल गेहेन्द्र शमशेरले नेपालमा स्वचालित तथा हावाबाट चल्ने मेसिनगन र विभिन्न थरीका राइफलहरू बनाए, जसलाई गे–राइफल र च–राइफल पनि भनिन्छ। गेहेन्द्रको नामबाट गे–राइफल र चन्द्र शमशेरको नामबाट च–राइफल भनिएको हो।

हाल रानीपोखरीको जमलमा पहिले परीक्षा नियन्त्रण कार्यालय बसेको घरहरू उनले हतियार बनाउन तयार गरिएको सैनिक आर्सनल हो, पछिसम्म त्यो सेनाको स्वामित्वमा थियो। विकासक्रमलाई केलाउँदा अंग्रेजको सहयोगमा प्रधानमन्त्री चन्द्र शमशेरले प्रथम विश्वयुद्ध र प्रधानमन्त्री जुद्ध शमशेरले दोस्रो विश्वयुद्धमा नेपाली सेना पठाएपछि सैनिक युद्धकला तथा हातहतियारमा ठुलो परिवर्तन आएको थियो। त्यसपछि नेपालमा प्रजातन्त्र अर्को प्यारा बनाउ आएपछि २००९ सालमा सेनाको पुनर्गठन भयो र देशलाई चाहिने जति मात्र सेना राखियो।

वि.सं. २००७ को सफल आन्दोलनपछि नेपाली कांग्रेस सरकारको पहलमा पहिलो पटक नेपाली सेनामा फिल्ड मार्सलको पद सिर्जना गरियो र उक्त जिम्मेवारी रुद्र शमशेर राणालाई दिइयो। यो ऐतिहासिक पदलाई जनताको सरकारले सिर्जना गरेको थियो। भीमसेन थापाले पाएको कमान्डर–इन–चिफको नियुक्तिलाई राजा वीरेन्द्रको पालामा चिफ अफ आर्मी स्टाफ बनाइयो र गुण शमशेर राणा पहिलो चिफ अफ आर्मी स्टाफ भए।

सैनिक इतिहासमा गुण शमशेर राणाको देनलाई नेपाल आर्मीले सदा सम्मान गर्नुपर्छ। ‘मार्सल अफ गोरखा आर्मी’को पद जंगबहादुर राणाले श्री ३ भएपछि धारण गरे, जुन पद सुप्रिम कमान्डर–इन–चिफ हो। जंगबहादुरले नै सुप्रिम कमान्डर–इन–चिफको पद सिर्जना गरे भने राजाले प्रयोग गर्ने सिंह भएको झन्डा (बाघ झन्डा) जंगबहादुरले बनाएको मार्सल झन्डा थियो। मार्सल र श्री ३ महाराजको पद लमजुङ र कास्की २ जिल्लाका लागि मात्र राजा सुरेन्द्रले दिएका थिए। पछि २००७ सालमा राजा त्रिभुवनले मार्सल झन्डा राजाको झन्डा बनाएका थिए भने राजाले प्रयोग गर्दै आएको राष्ट्रिय झन्डा प्रधानमन्त्री तथा मन्त्रीले प्रयोग गर्न थाले।

त्यसैगरी बेलायती पाराले राजा त्रिभुवनले आफ्ना रानीहरू कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मीलाई क्रमशः राजदल गण र गणेशदल गणको कर्नेल–इन–चिफ बनाएर नेपाली सेनामा कर्नेल–इन–चिफको पदको थालनी भएको थियो। राजा वीरेन्द्रको पालाबाट मानको खातिर नेपाली सेनाका विभिन्न गणहरूमा कर्नेल कमान्डान्ट राख्ने व्यवस्था पनि भएको छ। त्यसपछि हालसम्मका दिनहरूमा देशको खाँचोले माग गरेअनुसार नेपाली सेनाको विस्तार र विकास भएको छ।

सेनाको आफ्नो मात्र इच्छाले केही हुँदैन। देशको राजनीतिक इच्छाशक्तिको योजनामा साथ मात्र दिने हो। अर्को कुरा, समयको मागले राजनीतिलाई डोर्‍याउँछ। उसबेलाको जमाना भनेको सेनाको महत्त्व उच्च थियो। यही परिवेशमा गोरखाका राजाको नेतृत्वमा राज्य विस्तार सुरु भई अन्ततः नेपाली सेनाले पूर्वमा टिष्टा नदीदेखि पश्चिममा काँगडासम्म नेपाल एकीकरण गर्‍यो। यस कार्यमा हजारौं वीर सैनिकले राष्ट्रका लागि प्राण आहुति दिएका छन्।

अहिलेको चस्माले त्यसबेलाको राजनीतिलाई छड्के पाराले हेरी नेपाल एकीकरणको योगदानलाई बिर्सेर गाली मात्र गरेमा पक्कै पनि अन्याय हुनेछ। नेपाल एकीकरणका हस्तीहरू पृथ्वीनारायण शाह, रानी राजेन्द्रलक्ष्मी, राजकुमार बहादुर शाह, काजी शिवरामसिंह बस्न्यात, काजी कालु पाण्डे, बडाकाजी अमरसिंह थापा, भक्ति थापा, नयनसिंह थापा, बलभद्र कुँवरलगायतका वीर वीरंगनालाई इतिहासले भुलेमा महापाप लाग्नेछ।

हामी सम्पूर्ण नेपालीले घमण्ड गर्नैपर्छ, त्यसबेलाको स्थितिमा पनि नेपालीले त्यत्रो नेपाल बनाए। त्यो आमनेपालीको कमाइ थियो, पृथ्वीनारायण, राजेन्द्रलक्ष्मी, बहादुर शाह र नेपाली सेनाको मात्र होइन।

अर्को पाटो हेर्ने हो भने नेपालविरुद्ध पटक–पटक शत्रुहरूले आक्रमण गरेका छन्। बंगालका नबाब मिरकासिमले मकवानपुरमा गरेको आक्रमण, अंग्रेज क्याप्टेन किनलकले गरेको सैनिक अभियान, तिब्बत र चीन मिली गरेको आक्रमण तथा अंग्रेजले गरेको युद्धहरूको प्रतिकारमा नेपाली सेनाले आफ्नो प्राण अर्पेको छ। ठुला शक्तिहरूको पन्जाबाट नेपाललाई बचाउन कोसिस गरेको छ। उत्तरतिर मात्र नेपाली सेनाले तीन पटक युद्ध लड्यो। उसबखत अरुण नदीपूर्व सबै भूगोल सिक्किमको थियो।

वि.सं. १८३१ मा बडामहाराजको पालामा सिक्किमे फौजलाई हराई नेपालको सिमाना टिस्टा नदी पुग्यो। सिक्किमसँग नेपालले तीन पटक युद्ध लड्यो। अर्को चरण हेर्ने हो भने देशको कूटनीतिक इच्छाशक्तिलाई सघाउन तत्कालीन सरकारको इच्छाअनुसार नेपाली सेनाले भारतमा भएको सिपाही विद्रोहविरुद्ध लड्न, प्रथम विश्वयुद्ध, बजिरिस्तानको युद्ध, द्वितीय विश्वयुद्ध तथा भारत स्वतन्त्र भएपछि पनि हैदरावादमा भएको हिन्दु–मुस्लिम समस्या समाधान गर्न समेत हजारौं सेना पठाएर सहयोग गरेको थियो।

उक्त कारबाहीहरूमा सयौं सेनाले वीरगति पाए र नेपाली वीरताको शिलालेख बनाए। देशको यही कूटनीतिक पाटोमै श्रीवृद्धि गर्नका लागि नेपाली सेनाले २०१७ सालदेखि हालसम्म संसारका विभिन्न दंगाग्रस्त क्षेत्रमा एक लाख ६० हजारभन्दा बढी शान्ति सेना पठाई संसारभर आफ्नो उच्च प्रतिष्ठा कायम गरेको छ। यो नेपाल सरकारको गौरवको विषय हो। संयुक्त राष्ट्रसंघमा नेपालले औंला ठाडो पार्न सक्ने बलियो आधार यही बनेको छ।

त्यसैगरी नेपाली सेनाले देश विकास कार्यमा विशेष गरी वि.सं. १९१२ को नेपाल–भोट युद्धको तयारी र त्यसपछिका दिनहरूमा हजारौं किलोमिटर कच्ची तथा पक्की सडक तयार गरेको छ र हालसम्म पनि सो कार्यमा लागिपरेको छ। देशको प्राकृतिक सम्पदा जोगाउन वन्यजन्तु, निकुञ्ज, आरक्ष, पानीका स्रोतको संरक्षणमा वर्षौंदेखि खटिएको छ भने देशलाई आपत्ति आइपर्दा विभिन्न दैवी तथा अन्य प्रकोपमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

वि.सं. १९९० सालमा काठमाडौं उपत्यकामा, २०४५ सालमा पूर्व क्षेत्रमा र २०७२ सालमा आएको विनाशकारी भूकम्पमा नेपाली सेनाले अमूल्य योगदान पुर्‍याएको थियो। कोभिड महामारीको बेला नेपाली सेनाले गरेको सेवा प्रशंसनीय थियो। अन्य समयमा तराई क्षेत्रमा घटेका बाढीपहिरोजस्ता कार्यमा समेत करोडौं रुपैयाँको आर्थिक तथा खाद्य र लगाउने वस्तुहरूको सहयोग प्रदान गरेको छ। दुःख परेको बेला सबैले सबैलाई मद्दत गर्ने नेपाली संस्कारलाई नेपाली सेनाले आत्मसात् गरेको छ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको नेपाली सेनाले जगेर्ना गरेको सांस्कृतिक परम्परा हो। इतिहासकालदेखि हालसम्म सेनाले बुद्ध जयन्ती, फूलपाती, शिवरात्रि, घोडेजात्रा, क्रिसमस, वसन्त श्रवण, इदजस्ता राष्ट्रिय पर्वहरूको सम्मान गर्दै आएको छ भने हरेक सैनिक अंगमा आआफ्नो निसानको पूजा, हरेक महिना सत्यनारायणको पूजा, हरेक दिन स्थानीय देवीदेवताको पूजा, स्वस्थानीको पूजा तथा दसैंलाई धार्मिक विधिअनुसार मान्दै आएको छ।

देशभर रहेका गढी/किल्ला र त्यसभित्र रहेका विभिन्न घर, देवीदेवता स्थलहरू देशकै वास्तुकला र धार्मिक सम्पदा पनि हुन्, जुन सेनाले बनाएको थियो। भर्खरै भएको जेएनजी आन्दोलनको बेलामा धेरै राष्ट्रिय नेतालगायतको ज्यान बचाई शान्ति–सुरक्षा कायम गर्न सफल भयो।

वर्तमान अवस्थामा नेपाली सेनाले नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग अति राम्रो सहकार्य गरेको आभास सबैले गरेका छन्। यद्यपि, आन्तरिक रूपका घटना घट्दा नेपाली सेना स्वःस्फूर्त परिचालित हुन सक्ने गरी नेपाल सरकारले नियम बनाइदिनुपर्ने टड्कारो रूपमा देखियो।

 नेपाली सेनालाई जनताको माया र आशीर्वाद चाहिन्छ भने आमनेपालीको भावना बुझेर सेनाले काम गर्नुपर्छ। यसैबाट हामी सबैको हित हुनेछ। नेपाली सेना नेपाल बनाउने, नेपाल बढाउने र नेपाल बचाउने खम्बा हो। आफ्नो पेसामा अब्बल र अनुशासित नेपाली सेनाको जुगौंजुग खाँचो छ, नेपालमा। वि.सं. १६१६ बाट वि.सं. २०८२ सम्म पुग्दा यो नेपाली सेना ४६६ वर्षीय संस्था भएको छ। नेपाल आमाका लागि जीवन आहुति दिनुहुने ज्ञात–अज्ञात नेपाली वीर सैनिकहरूप्रति श्रद्धासुमन अर्पण गर्दै यही फागुन ३ गते पर्ने सेना दिवसका लागि हार्दिक शुभकामना!

प्रकाशित: २ फाल्गुन २०८२ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App