झन् सुस्त पाएँ गति जिन्दगीको
बिग्रेछ क्या हो मति जिन्दगीको।
च्यापेर कुम्लो ठिमितर्फ बढ्ने
होला कहाँ उन्नति जिन्दगीको।।१।
कतै हरायो लय जिन्दगीको
बढ्यो त्यसैले भय जिन्दगीको।
भोगाइले नै तय गर्छ अर्थ
बुझिन्नझैँ आशय जिन्दगीको ।।२।
अनेक आए पल जिन्दगीमा
गर्ने सयौँ छन् छल जिन्दगीमा।
थुप्रै समस्या असरल्ल देख्छु
भेटिन्न जस्तो हल जिन्दगीमा।।३।
संघर्षमा यो रत जिन्दगीको
गर्ने गरौँ इज्जत जिन्दगीको।
जस्तो छ आफू बनिदिन्छ...
सपार्नुहोस् आदत जिन्दगीको।।४।
हुँदैन नाघी हद जिन्दगीको
घट्नेछ आफ्नै कद जिन्दगीको।
जली खरानी किन बन्नु आफैँ
वृथा नपालौँ मद जिन्दगीको।।५।
खोजेर आफैँ पथ जिन्दगीको
तयार पारौँ रथ जिन्दगीको।
भन्छन् सबैले सकिँदैन यात्रा
उत्साहले होस् अथ जिन्दगीको ।।६।
दरो गरी आर्जन जिन्दगीले
थुपार्छ खोटो धन जिन्दगीले।
पैसा हुनेको दिल हुन्न भन्छन्
सकेन जित्नै मन जिन्दगीले।।७।
हुनेछ मानौँ जित जिन्दगीको
या हार होला कि त जिन्दगीको।
हो खेल साँच्चै यदि यो भने ता
चाहेर बाँचौ्ं हित जिन्दगीको।।८।
तेरो न मेरो हर जिन्दगीको
हुँदैन रत्तीभर जिन्दगीको।
भन्नेहरू छन् दुनियाँछ नजाती
गर्ने गरौँ आदर जिन्दगीको।।९।
खिचोस् न कोही बल जिन्दगीको
खोलेर पार्टी दल जिन्दगीको।
सत्पात्रको चाह हर्यो कसैले
हौँ पात्र हामी खल जिन्दगीको।।१०।
कुनै भरोसा छ र जिन्दगीको
मानेर बाँच्यौँ डर जिन्दगीको।
अवश्य लानेछ सरकार आई
पर्नेछ तिर्नै कर जिन्दगीको ।।११।
आए सुनौला क्षण जिन्दगीमा
उडे धुलोका कण जिन्दगीमा।
ताकेर मात्रै किन होस् गुलेली
छेड्नै छ बाँकी रण जिन्दगीमा ।।१२।
भेट्ने र छुट्ने क्रम जिन्दगीमा
गर्नै छ थुप्रै श्रम जिन्दगीमा।
अन्योलमा बाँच्नु हुनेछ व्यर्थ
चिरेर बाँचौँ भ्रम जिन्दगीमा ।।१३।
आफ्नै लिई हुर्मत जिन्दगीले
बाँचूँ भन्यो औसत जिन्दगीले।
लड्दै छ एक्लै रमिते भएँ म
माग्दैन क्या मद्दत जिन्दगीले ।।१४।
टाढा भए शंसय जिन्दगीको
चिरेर गाढा भय जिन्दगीको।
पुकार हाम्रो सुनिदेन दैव
हुनेछ पक्का जय जिन्दगीको।।१५।
प्रकाशित: २ फाल्गुन २०८२ १३:५१ शनिबार





