चितवनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा एक कर्मचारीसहित तीन जना पक्राउ परेका छन्।
जिल्लाका विभिन्न मतदानस्थलमा उच्छृङ्खल गतिविधि गर्ने र निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
चितवन क्षेत्र नं-३ अन्तर्गत माडी नगरपालिकास्थित माडी माध्यमिक विद्यालय मतदानस्थलमा कार्यरत कार्यालय सहयोगी बुद्धिसागर पौडेल पक्राउ परेका छन्।
पौडेलले मतदातालाई प्रभावित पार्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पक्षमा मत मागेको आरोप लागेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पौडेलले लाइनमा बसेका मतदातालाई एक पक्षमा भोट हाल्न उक्साएपछि नियन्त्रणमा लिइएको जानकारी दिए।
यस्तै, भरतपुरको नारायणी नमुना मावि अगाडि चुनाव बहिष्कारको पर्चासहित प्रदर्शन गर्ने अन्य दुईजना पनि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेकपा (बहुमत) चितवनका जिल्ला सेक्रेटरी सुमन श्रेष्ठ र अखिल क्रान्तिकारीका जिल्ला संयोजक किरण गौतम रहेका छन्। मतदान चलिरहँदा पम्प्लेट बोकेर विरोध प्रदर्शन गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रशासनले जनाएको छ।
चितवनमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। पछिल्लो विवरण अनुसार जिल्लामा ३३ प्रतिशत मत खसिसकेको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १३:०३ बिहीबार




