१० वर्षे माओवादी द्वन्द्वमा नराम्रोसँग दुखेको थवाङ यतिबेला फेरि दुखेको छ।
गत बिहीबार बिहानैदेखि थवाङ आफ्नै लयमा थियो। वैशाख पूर्णिमाका अवसरमा डाँडामाथि जलजलामा लाग्ने ठुलो मेला र पूजाका लागि सयौं दर्शनार्थीको ‘ट्रान्जिट’ थवाङ पाहुना सत्कारमा व्यस्त थियो। त्यसो त दुई दिनपछि थवाङ मै हुने ‘प्रगतिशील संगीत उत्सव–२०८३’ को तयारीले पनि यहाँको माहोल गर्मिलो थियो।
गर्मी मौसमका समयमा लगातार परिरहेको पानीले थवाङ, थवाङ्गी र यहाँ आउने पाहुनालाई चिस्याएको थियो। तर एकाएक थवाङको माहोल फेरियो। त्रास, चिन्ता र हतारो सुरु भयो। जलजला मेलामा हिँडेका दर्शनार्थी सवार गाडी दुर्घटनाको खबरले थवाङ मात्र हैन देश नै एकाएक स्तब्ध बन्यो।
प्रहरी, जनप्रतिनिधि, स्थानीय जो जससँग जे साधन छ त्यो लिएर जलजलातिर हुइँकिए। सवारी साधन नहुनेहरू पैदल दौडिए। थवाङमा रहेका दर्जनौं गाडी, रुकुमपूर्वबाट आएका एम्बुलेन्स र अन्य सवारी साधन तथा पैदल मार्फत घटनास्थल पुगेका सयौ उद्धारकर्मीको अगाडि मौसम र जटील भूगोलले चुनौती दिइराख्यो।
निरन्तरको झरी अनि चिप्लो सडकका कारण घटनास्थल पुग्न उद्धार टोलीलाई निकै समय लाग्यो। जलजला बराह देवता सम्झेर कसैलाई केही नहोस भन्ने कामना गर्दै गर्दा अपुष्ट खबरले थवाङ संगै देश तड्पियो। गाडी करिब ८ सय मिटर तल झरेको र जीपमा सवार कोही जीवित नहुन सक्ने खबरसंगै सन्नाटा सुरु भयो।
उद्धार टोली पुग्दाको दृष्य जति भयानक थियो त्योभन्दा ठुलो पीडा गाडी झरेको ठाउँबाट तल पुग्दा थियो। छरपष्ट रहेका क्षतबिच्छेद शवहरू, रुखमा ठक्कर खाँदै कपडामाथि हांगामा अड्किएर यात्रु तलझरेका अनि वीभत्स त्यो भूमिले सबैको मथिङगल हल्यायो। सुरुमै पुगेका प्रहरी टोली, थवाङ गाउँपालिकाका अध्यक्षसहितको टोलीले जीवित हुन सक्नेको खोजी गर्दागर्दै दिन ढल्किँदै गयो।
रात पर्दै गएपछि निरन्तरको झरी, भिरालो अनि अत्यन्त असजिलो घटनास्थलमा उद्धारको सम्भावना कम भयो। रोल्पा सदरमुकामबाट पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रुकुमपूर्वबाट पुगेको सुरक्षाको थप टोलीले भोलिको उज्यालो पर्खनुको विकल्प रहेन। उद्धारका लागि खटिएकाहरूले चारैतिर छरपष्ट रहेका शव कुरेर पानी झरीमा रात बिताए।
१४ जना सिट क्षमताको लु१ज ४१६७ नम्बरको जीप दुर्घटनामा २० जनाको मृत्यु र १ जना घाइते खबरले आम नेपालीलाई स्तब्ध बनाइरहँदा १८ गते बिहानै सुरु भएको उद्धार असजिलो मात्र भएन एकैछिन असम्भव जस्तै देखियो। तालिम प्राप्त सुरक्षाकर्मीको जुक्तिले बिस्तारै उद्धार कार्य सुरु गरे।
भिमकाय रुखहरूको जंगलमुनी रहेका शवहरू ८ सय मिटरमाथि तान्नका लागि सशस्त्र प्रहरीको तालिम प्राप्त जनशक्तिले जुक्ति लगाए। डोरीमा ह्वीलवाला स्टेचरको सहायताले घण्टौको मेहनतपछि २० वटा शवमाथि डाँडामा ल्याइयो।
थवाङमा बसेर उद्धारको समन्वय गरिरहेका पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री तथा सांसद वर्षमान पुन, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले हेलिकप्टर बोलाएर शव उठाउन पहल गर्ने सोच बनाइरहँदा घटनास्थलबाट सुरक्षाको टिमले त्यो सम्भावना नरहेको बताएका थिए।
रोल्पाका प्रहरी प्रमुख डिएसपी बिरेन्द्रवीर विश्वकर्मा, सशस्त्र प्रहरी प्रमुख डिएसपी दिपेन्द्रकुमार पाण्डे, नेपाली सेना, रुकुम जिल्लाका सुरक्षा प्रमुखहरू, थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगर सबिन, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी लगायत घटनास्थलमा आफैँ खटिएका थिए।
दाङ र रुकुमपूर्वका आफन्त परिवारहरू सल्लाह गरेर भाकल गरिए अनुसार पूजाका लागि जलजला जाँदै गरेकाहरूको एकै स्थानमा भएको दुखद मृत्युले ठुलो चुनौती थपेको छ। रुकुम पूर्वका ११ जना र दाङका ९ जना एकै परिवार भित्रका आफन्तको मृत्युले यात्राका लागि एउटा भय थपेको छ। सडक यात्रा गर्नेहरूलाई मानसिक रूपमा असहज बनाएको छ।
समय समयमा हुने यस्ता भयानक दुर्घटनाले केही दिन झस्काउँछ अनि भुल्दै जाने परम्पराले दुर्घटना न्यूनीकरण हुँदैन। हिजोआज रोल्पा, रुकुममा गाडी चेकजाँच बढेको छ। गाडीमा राखिएका छत झिक्ने काम तीव्र पारिएको छ। तर प्रहरी चौकी अगाडि यात्रु झारेर अलि पर पुगेर गाडीमा कोच्ने चलन उस्तै छ। थवाङ दुर्घटनाका दिन पनि त्यसै भएको थियो। रुकुम र रोल्पामा पर्ने प्रहरी चेकजाचका स्थानमा यात्रु ओरालेर पर पुगि चढाइएको प्रहरीले अनुमान गरेको छ।
२००९ मोडेल अर्थात १७ वर्ष पुरानो दुर्घटनाग्रस्त गाडीको यान्त्रिक परीक्षण थियो थिएन अनुसन्धानले बताउला। तर अहिले हेर्दा क्षमताभन्दा धेरै यात्रु, असजिलो सडक र निरन्तरको वर्षाका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान देखिएको छ।
सरकारले घटनाको छानबिनका लागि प्रदेश प्रहरी कार्यालय तुलसीपुरका एसपी यादव ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। घटनाको भोलिपल्ट बिहानै थवाङ पुगेका ढकालले छानबिनकै क्रममा रहेकाले अहिले अन्य प्रतिकृया दिन मानेनन्।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘पहिलो प्राथमिकता उद्धार र शव व्यवस्थापन महत्वपूर्ण थियो त्यो गरियो। छानबिन समितिले प्रतिवेदन दिएपछि दुर्घटना न्यूनीकरणमा अबका दिनमा कस्तो रणनीति अपनाउने भन्ने योजना बनाएर अगाडि बढ्ने छौं।’
प्राविधिक तरिकाभन्दा पनि डोजर अपरेटरको सहजतामा खनिने पहाडी सडक दुर्घटनाका प्रमुख कारण हो। प्राविधिकले सडक सञ्चालनका लागि ठीक छ नभन्दै जबरजस्ती गाडी चलाउनुले यस्ता दुर्घटना निम्त्याउने देखिएको छ। वर्षौं पुराना गाडी यान्त्रिक परीक्षणबिना सञ्चालन गर्नु अर्को जोखिम देखिन्छ भने क्षमताभन्दा अत्यधिक यात्रु सवारी गराउनु ठुलो हताहतीका कारण भएको स्थानीय बताउँछन्।
दुर्घटनामा मृत्यु हुनेहरूमा पूर्वीरुकुम सिस्ने ५ टाकुराका २८ वर्षीय गोर्खबहादुर बिसी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बुढाथोकी, १० वर्षीय दिव्यान बुढाथोकी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदिप बुढाथोकी, ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन्।
त्यसैगरी, घोराही उपमहानगरपालिका १६ बुद्धचोकका ५० वर्षीया द्रुपती जि.सी, ३२ वर्षीया तिला जि.सी, ७ वर्षीय जेनिस घर्ति, १२ वर्षीया जेनिसा जि.सी, २५ वर्षीया एलिसा घर्ति, लम्जुङका ७ वर्षीय संयोग थापा र यमबहादुर जि.सी रहेका छन्।
त्यसैगरी, दाङ शान्तिनगर गाउँपालिका घर भइ हाल रुकुमपूर्व सिस्ने गाउँपालिका ५ टाकुरा बस्ने ४२ वर्षीय बेदु राम बि.क.(चालक), रुकुमपुर्व सिस्ने गाउँपालिका ५ का ६० वर्षीया मिना बि.क, ६० वर्षीया लाटी भन्ने लक्ष्मी शाह, भुमे गाउँपालिका ५ का टेकप्रसाद बुढा, २७ वर्षीया रुक्मिना थापा बस्नेत र घोराही उपमहाननगरपालिका १२ गुर्जे बस्ने भनमाया बिष्ट रहेका छन्।
प्रकाशित: २० वैशाख २०८३ ११:५४ आइतबार





