सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गरे। सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाफदेही बनाउने प्रमुख संस्था भएकाले स्वतन्त्रतासँगै उत्तरदायित्व पनि गम्भीरतापूर्वक बहन गर्नुपर्ने उनले औँल्याए।
मन्त्री तिमिल्सिनाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै स्वतन्त्र प्रेसबिना सुशासन र पारदर्शिता मजबुत हुन नसक्ने धारणा व्यक्त गरे।
उनले प्रेस स्वतन्त्रतासँगै जिम्मेवारी, तथ्यप्रति प्रतिबद्धता, व्यावसायिक मर्यादा तथा सार्वजनिक हितप्रतिको उत्तरदायित्व उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे। “प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ,” सन्देशमा भनिएको छ।
डिजिटल युगमा गलत सूचना, भ्रामक सामग्री, सामाजिक सञ्जालको दुरुपयोग तथा प्रविधिमार्फत हुने मनोवैज्ञानिक प्रभावजस्ता चुनौती बढ्दै गएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सत्य, तथ्य र जनहितमा आधारित पत्रकारिता अझ आवश्यक भएको बताए।
समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक दिशामा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैँ महत्वपूर्ण रहने उल्लेख गर्दै उहाँले सत्य र जनहितका पक्षमा क्रियाशील सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मान व्यक्त गरे।
‘शान्तिपूर्ण भविष्यको निर्माण स् मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ भन्ने नारासहित मनाइँदै गरेको यस दिवसले स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको परम्परा अझ सुदृढ हुने विश्वास मन्त्री तिमिल्सिनाको छ।
प्रकाशित: २० वैशाख २०८३ ११:५८ आइतबार



-600x400.jpg)

