विगत दुई आर्थिक वर्षदेखि लोकसेवा आयोगले खुलाएको विभिन्न पदमा फाराम भर्ने युवाको संख्या घट्दै गएको छ। यसबाट सरकारी जागिरमा युवाको आकर्षण क्रमशः घट्दै गएको देखिएको छ। तर त्यही अनुपातमा वैदेशिक रोजगारीमा इपिएस प्रणालीबाट दक्षिण कोरिया जान चाहने युवाको संख्या भने बढ्दै गएको छ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा आव २०८०/८१ मा आयोगको परीक्षामा फाराम भर्ने युवाको संख्या करिब १० हजारले घटेको थियो। आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा पनि आयोगको परीक्षामा फाराम भर्ने युवाको संख्या करिब १० हजारले नै घटेको पाइएको छ।
लोकसेवा आयोगले आव २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलले अझै बुझाइसकेको छैन। आयोगका एक उच्च कर्मचारीले राष्ट्रपतिलाई प्रतिवेदन नबुझाएका कारण औपचारिक रूपमा भन्न नमिले पनि आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा आयोगले खुलाएको परीक्षामा फाराम भर्ने युवाको संख्या करिब १० हजारले घटेको छ। आयोगले २०८०/८१ को प्रतिवेदन भने राष्ट्रपतिलाई बुझाइसकेको छ। उक्त प्रतिवेदन सार्वजनिक पनि भइसकेको छ।
विज्ञहरूका अनुसार वैदेशिक रोजगारलगायत विभिन्न कारणले पछिल्लो समय सरकारी सेवामा युवाको आकर्षण घटेको छ। आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा लोकसेवा आयोगको परीक्षामा सहभागी हुन दरखास्त परेको कुल संख्यामा करिब १० हजारले कमी आएको हो।
आयोगका अनुसार आव २०७९/८० मा ४ लाख ८३ हजार २ सय ३ जनाको आवेदन परेको थियो। आव २०८०/८१ मा आवेदन दिनेको संख्या चार लाख ७३ हजार चार सय ९० पुगेको थियो। आयोग स्रोतका अनुसार आव २०८१/८२ मा चार लाख ६३ हजार हाराहारीमा युवाले फाराम भरेका छन्।
आयोगका सूचना अधिकारी एकनारायण शर्माले दिएको जानकारीआनुसार आव २०८०/८१ मा तीन हजार ६ सय ९० पदमा आयोगले विज्ञापन खुलाएको थियो। ती पदमा चार लाख ७३ हजार चार सय ९० युवाले फाराम भरेका थिए। सरकारीमा भन्दा निजीमा सेवासुविधा बढी भएकाले, निजी क्षेत्रमा रोजगारीका अन्य क्षेत्रहरू पनि सिर्जना हुने गरेकाले तथा वैदेशिक रोजगारीमा आकर्षण बढ्नाले पछिल्लो समय सरकारी सेवामा युवा आकर्षण घट्दै गएको पाइएको हो।
आव २०७८/७९ मा लोकसेवा आयोगमा ३ लाख ६५ हजार चार सय ३४ जनाबाट दरखास्त परेको थियो। उक्त आवमा परेको भन्दा आव २०७९/८० मा परेका दरखास्तको संख्या ३२.२३ प्रतिशतले बढेको थियो। आयोगका अनुसार पछिल्लो १० वर्षमा आयोगमा सबैभन्दा कम दरखास्त आव २०७५/७६ मा परेको थियो। त्यस वर्ष एक लाख ४३ हजार सात सय ५३ जना व्यक्तिबाट मात्र दरखास्त परेको थियो।
यसैगरी सबैभन्दा बढी दरखास्त आव २०७३/७४ मा परेको थियो। त्यस वर्ष आठ लाख ४४ हजार दुई सय ९७ जनाबाट दरखास्त परेको थियो। आयोगले निकालेका वार्षिक प्रतिवेदनहरूलाई हेर्ने हो भने सबैभन्दा बढी आवेदन अप्राविधिक खरिदार, त्यसपछि अप्राविधिक नायब सुब्बा र त्यसपछि अप्राविधिक शाखा अधिकृत पदमा बढी पर्ने गरेको छ।
खरिदार, नायब सुब्बा र शाखा अधिकृतपछि सबैभन्दा बढी आवेदन अप्राविधिक उपसचिव पदमा परेको आयोगको भनाइ छ। सरकारी सेवाप्रति कर्णाली प्रदेशवासीमा भने आकर्षण बढेको पाइएको छ। लोकसेवा आयोगको ६३औं र ६४औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक हेर्दा लोकसेवा आयोगको परीक्षामा सहभागी हुन फाराम भर्ने प्रतिशत दर कर्णालीमा बढेको देखिएको छ।
कोरियामा आकर्षण बढ्दै
यता यस वर्ष इपिएस प्रणाली मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान खुलाइएको पाँच हजार तीन सय कोटाका लागि एक लाख तीन हजार युवाले आवेदन दिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतको भनाइ छ। दक्षिण कोरियाले हरेक वर्ष करिब ११ हजार कामदार इपिएस प्रणालीमार्फत नेपाली कामदार रोजगारीका लागि लाने गरेको छ। कोरिया जान लाखौं युवाले फाराम भर्ने गरेका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले वैदेशिक रोजगारका लागि हरेक वर्ष दक्षिण कोरियामा जान आवेदन दिने युवाको संख्या बढ्दै गएको बताए। ‘खासगरी आकर्षक तबलको कारण दक्षिण कोरियामा जान हरेक वर्ष युवाको संख्या बढ्दै गएको हो,’ उनले भने। मन्त्रालय स्रोतका अनुसार पनि कोरियामा जान फाराम भर्ने युवाको संख्या हरेक वर्ष बढ्दै गएको छ।
प्रकाशित: १० भाद्र २०८२ ०७:१६ मंगलबार





