स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आइतबारदेखि सिंहदरबार परिसर भित्र टहरा र प्रिफ्याब कोठामा सर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बिहीबारदेखि पसिरभित्र नयाँ बनेको कार्यालयमा मन्त्रालयका सामान सार्न सुरु गरिने छ भने आइतबारदेखि पूर्ण रूपमै मन्त्रालय सार्ने तयारी छ ।
बुढाथोकीका अनुसार सिंहदबार परिसरभित्र रक्षा मन्त्रालय नजिकै नेपाली सेनाको नर्सिङ दल गण रहेको ठाउँमा प्रिफ्याब तथा टहरा निर्माण गरी मन्त्रालय सार्न लागिएको हो । त्यहाँ ६ वटा प्रिफ्याब तथा एउटा टहरा निर्माण गरिएका छन् । बुढाथोकीका अुनसार प्रिफ्याब भनेको अस्थायी कन्टेनर झैं हो ।
यसलाई सजिलैसँग एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिन्छ तर टहरामा भने एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिन्न । टहरा सार्नु पर्यो भने भत्काउनै पर्छ ।
विश्व स्वास्थ्य सङ्गठनले करिब १० करोड खर्च गरेर टहरा तथा प्रिफ्याब बनाएको हो । बुधबार काठमाडौंमा गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसख्यामन्त्री डा. सुधा गौतमलाई विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा कथेरिन बोहेमले ती भवनका संरचना हस्तान्तरण गरेका थिए । ५२वर्ष अघि स्वास्थ्य मन्त्रालय सिंहदबार परिसरभित्रै थियो । ५२ पछि यो मन्त्रालय पुन सिंहदरबार पसिरभित्र सर्न लागेको हो ।
स्वास्थ्य मन्त्रालयको कार्यालय पटक पटक सर्दै आएको छ । २०३० मा सिंहदरबार आगलागी भएपछि टेकुमा स्वास्थ्य मन्त्रालय सारिएको थियो । त्यसको केही वर्षपछि मन्त्रालय रामशाहपथ सर्यो । जेन जी आन्दोलनको क्रममा रामसाह पथमा रहेको मन्त्रालयको भवन पूर्ण रूपमा जलेको छ । इञ्जिनियरहरूको एउटा टोलीमा यो भवन तत्काल प्रयोग गर्न नमिल्ने गरी सरकारलाई रिपोर्ट बुझाएको छ । शहरी विकास तथा भवन निर्माण विभागले यो भवनमा रातो स्टिकर लागेको छ । रातो स्टिकर लगाउनुको अर्थ भवन तत्काल प्रयोग गर्न मिल्दैन भन्ने हो । त्यसैलै जेन-जी आन्दोलन पछि यही शुक्रबारसम्म स्वास्थ्य मन्त्रालय मन्त्रालयसँग रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट संचालन हुने छ ।
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत नेपाल सरकारका सबै मन्त्रालय सिंहदरबारभित्र रहेका छन । स्वास्थ्य मन्त्रालय मात्रै बाहिर छ । यसबाट प्रधानमन्त्री कार्यालयसहित अन्य मन्त्रालयसँग सहकार्य र समन्वय गर्न केही अप्ठेरो परेको मन्त्रालयका कर्मचारीहरूको भनाइ छ । उनीहरूका अनुसार स्वास्थ्य मन्त्रालय पनि सिंहदबार परिसरभित्रै सरे पछि यो अप्ठ्यारो सामधान हुने छ ।
मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार सिंहदरबारभित्र नयाँ संसद् भवन बनेपछि हाल संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयको स्थायी संरचनाको रूपमा प्राप्त गर्ने विषयमा छलफल भइरहेको छ । हाल नयाँ संसद भवनको निर्माणको काम अन्त्य अन्त्य तीर पुगेको छ । यही पुस महिना भित्र काम सक्न भवन विभागले ठेकेदार कम्पनीलाई अन्तिम समय दिएको छ ।
जेनजी आन्दोलको क्रममा जलेको रामसाह पथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन इञ्जिनियरिङको हिसाबबाट विद्यार्थीहरूकोलागि अध्ययनको विषय बनेको थियो । यो भवनबारे अध्यन गर्ने उद्देस्यबाट मात्र विभिन्न देशबाट विद्यार्थीहरू काठमाडौं आउने गर्थे । पिल्लरबिनै बनेको यो भवन आर्किटेक्चर र इञ्जिनियरिङमा अनौठो नमुना थियो । यस्तो भवन दक्षिण एशियामा नेपाल र श्रीलकांमा मात्रै रहेको थिए ।
प्रकाशित: ३ मंसिर २०८२ २०:२१ बुधबार





