कञ्चनपुरको वेदकोट नगरपालिका-९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय घाइते छाडा चौपायाको स्याहारमा समर्पित गरेका छन्। पेसाले नेचर गाइड पनेरु सात वर्षदेखि अभियान चलाएर घाइते जनावरको उपचार र स्याहारमा जुटेका छन्। उनले सडक दुर्घटना होस् वा अमानवीय व्यवहारका कारण घाइते भएका छाडा पशुचौपायालाई उद्धार गरेर आफ्नै घरमा लगेर उपचार र स्याहार गर्छन्। पछिल्लो समय घाइते जनावरको उद्धारका लागि पनेरुको खोजी हुने गरेको छ।
‘घाइते, बिरामी छाडा चौपाया देखेपछि दयाको भावना जाग्छ, घरमै लगेर उपचार गर्छु,’ पनेरुले भने, ‘उपचारपछि व्यवस्थापन गर्ने स्रोत नहुँदा पुनः सडकमै छाड्नुपर्दा नरमाइलो लाग्छ।’ उनले हालसम्म करिब एक हजारभन्दा बढी जनावरको उद्धार र उपचार गरिसकेका छन्।
‘अहिले पनि १० वटा घाइते गाईगोरु उपचारका लागि घरमै राखेको छु,’ पनेरुले भने, ‘सामाजिक सञ्जालबाट थाहा पाएपछि मेरो अभियानमा सात-आठ जना अन्य विद्यार्थी र युवा पनि जोडिएका छन्।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेचर गाइडका रूपमा कार्यरत पनेरु मासिक रु २५ हजारसम्म कमाउँछन्। त्यसै आम्दानीबाट उनले जनावरको उपचार र स्याहारमा खर्च गर्छन्। ‘अहिले घाइते जनावर देख्नेबित्तिकै जिल्लाका विभिन्न स्थानबाट मलाई फोन आउँछ,’ उनले भने, ‘गाईगोरु मात्रै होइन, घाइते कुकुर, बिरालोलगायत अन्य जनावरको पनि उद्धार गरिरहेको छु।’
छाडा चौपाया व्यवस्थापनका नाममा कञ्चनपुरमा पालिकाहरूले करोडौँ रुपैयाँ खर्च गरिसकेका छन्। गौशाला निर्माण र छाडा चौपाया व्यवस्थापनका नाममा करोडौँ खर्च भए पनि त्यसअनुसारको व्यवस्थापन हुन सकेको छैन। छाडा चौपायाकै कारण सडक दुर्घटनामा पशुचौपाया घाइते हुने गरेका छन्। दूध दुहुञ्जेल गाईलाई घरमा पाल्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रचलनले समस्या निम्तिएको पनेरु बताउँछन्।
‘सामुदायिक वन भएपछि त्यहाँबाट गाईवस्तुका लागि घाँस ल्याउन पाइँदैन, चरन क्षेत्र पनि छैन,’ उनले भने, ‘यसले गर्दा छाडा चौपायाको समस्या झन् विकराल बन्दै गएको छ।’ स्थानीय सरकारले हरेक वडा कार्यालयमा पशुपालनको तथ्याङ्क राख्नुपर्ने उनको सुझाव छ। ‘दण्ड र जरिवाना नहुँदा जनावर छाडा छाड्ने प्रचलन बढ्दै गएको छ,’ पनेरुले भने, ‘स्थानीय सरकारले दण्ड र जरिवाना लागू गरेको भए छाडा चौपाया न्यूनीकरण हुन्थ्यो।’ उनले छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकार गम्भीर नहुँदा समस्या बढ्दै गएको बताए। रासस
प्रकाशित: २९ असार २०८२ ०८:१६ आइतबार




-600x400.jpg)
