२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

अध्ययन भन्छ: पूर्वाधारमा प्राविधिक त्रुटि र जलप्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

सबै प्रकारका अवरोध हटाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

वर्षायाममा माइतीघर मण्डला क्षेत्रमा हुने डुबानको मुख्य कारण त्यस आसपासको पूर्वाधार निर्माणमा भएको प्राविधिक त्रुटि, जलप्रवाह क्षेत्रको अतिक्रमण तथा प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको निष्कर्ष निकालिएको छ।

झरीसँगै उक्त क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा कार्यरत निकायका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो।

अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले सम्बन्धित कार्यालयका अधिकारीहरूको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन्। सोही निर्देशनअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले आइतबार स्थलगत प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनअनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा इन्जिनियरिङसम्बन्धी त्रुटि देखिएको छ। माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटर व्यासको ढल रहेको छ भने तल्लो भागमा पुग्दा यसको आकार ६० सेन्टिमिटरमा सीमित भएको छ। यसका कारण माथिल्लो भागबाट आउने पानीको चाप तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’को समस्या उत्पन्न भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ।

यसबाहेक, टुकुचा खोलाको सतह बढेका बेला ढलको पानी खोलातर्फ जानुको सट्टा उल्टै बस्ती र सडकतर्फ फर्कने (ब्याक फ्लो) समस्याका कारण पनि माइतीघर क्षेत्र जलमग्न हुने गरेको पाइएको छ। प्रतिवेदनले भौतिक पूर्वाधारसँगै वातावरणीय तथा सहरी विकास र व्यवस्थापनसम्बन्धी कमजोरीलाई पनि डुबानको प्रमुख कारणका रूपमा औँल्याएको छ।

विगतमा माइतीघर चोकसँग जोडिएका खुला क्षेत्रले ‘प्राकृतिक जलाधार’को काम गर्दै वर्षाको पानी जमिनमुनि सोस्ने भूमिका निर्वाह गर्थे। तर अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिलको कार्यालयलगायत ठूला भवन निर्माण भएपछि जमिन कङ्क्रिटले ढाकिएको छ। यसले पानी सोसिने प्राकृतिक प्रक्रिया अवरुद्ध भई सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढेको र त्यो पानी माइतीघर चोकमा केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ।

अतिक्रमणको समस्या पनि माइतीघर डुबानको अर्को प्रमुख कारण देखिएको छ। अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत तथा सरकारी भवनका संरचना निर्माण गरिएकाले नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ। ढलभित्र प्लास्टिकजन्य फोहोर, बोतल तथा ढुङ्गा–गिटी थुप्रिनुले पानीको बहाव थप अवरुद्ध भएको प्रतिवेदनमा उल्लेख छ। यस समस्याको समाधानका लागि कार्यवाहक प्रमुख डंगोलले अनुगमनकै क्रममा स्थानीय प्रशासन तथा साझेदार निकायसँग समन्वय गरी सबै प्रकारका अवरोध हटाउन निर्देशन दिइन्।

प्रतिवेदनले तत्काल तथा दीर्घकालीन रूपमा अपनाउनुपर्ने उपायसमेत सिफारिस गरेको छ। तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलको उचाइ बढाउने तथा नियमित सरसफाइलाई प्राथमिकतामा राख्न सुझाव दिइएको छ।

दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र भूमिगत ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ। यसबाट वर्षाको उच्च बहावका बेला आउने पानी केही समयका लागि भण्डारण गरी क्रमशः निकास दिन सकिने प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, टुकुचा खोलाको निकास बिन्दुमा पानी फिर्ता हुन नदिने ‘नन–रिटर्न भल्भ’ जडान गर्न, उपत्यकाभरको ढल सञ्जालको जीआईएस म्यापिङ गर्न तथा माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाका आधारमा ढल निकास प्रणालीको क्षमता पुनःडिजाइन गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ। रासस

प्रकाशित: १० श्रावण २०८३ १९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App