१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

ग्रिन लिष्टमा समेट्न सकिने सम्भावनाबारे ताप्लेजुङमा अध्ययन सुरु

विश्वमा भइरहेको जैविक विविधताको निरन्तर ह्रासलाई रोक्न चालिएको अभियान स्वरुप ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रसहितका पर्यावरणीय महत्वका स्थानहरूको सम्भाव्यता अध्ययन सुरु भएको छ।

ग्रिन लिष्टमा समेट्न सकिने वा नसकिने भन्ने बारे अध्ययन सुरु गरिएको प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयुसिएन)का नेपाल राष्ट्रिय प्रतिनिधि डा. नरेन्द्रमान प्रधानले जानकारी दिए। उनका अनुसार चार जना परार्मशदाताले करिब १५ दिनको समय लगाएर ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्र लगायतका यहाँका पर्यावरणीय महत्वका स्थलहरूको अध्ययन गर्ने छन्।

कञ्चनजंघा संरक्षण क्षेत्र नेपालकै पहिलो समुदायद्वारा व्यवस्थापन तथा सञ्चालन हुँदै आएको क्षेत्र हो। ग्रिन लिष्टमा समेट्न सकिने क्षेत्रको रूपमा कञ्चनजंघा संरक्षण क्षेत्रका बारेमा अध्ययन हुने र बाँकी पर्यावरणीय महत्वका स्थानलाई ओईसिएमएसमा समेट्न सकिने सम्भावनाका बारेमा अध्ययन गर्ने तयारी रहेको डा.प्रधानले बताए। जैविक विविधताको हिसाबले महत्वपूर्ण रहेका क्षेत्रहरूका प्रभावकारी संरक्षणका उपायबारे आईयुसिएनले बनाएको मापदण्डका आधारमा ग्रिन लिष्टमा समेट्न सकिने वा नसकिने भन्ने बारेमा सम्भाव्यता अध्ययन हुने छ।

आइयुसिएन नेपालमा कार्यरत डा. दीपज्योति चापागाँईका अनुसार अध्ययनको क्रममा प्रभावकारी संरक्षण भएको छ कि छैन भनेर मापन गरिन्छ। जैविक विविधता र पर्यावरण क्षेत्रको प्रभावकारी संरक्षण भएको अवस्थामा उक्त क्षेत्रलाई ग्रिन लिष्टमा समावेश गर्न प्रकृया अघि बढाइने चापागाँईले जानकारी दिइन्। ग्रिन लिष्ट भनेको प्रकृतिको संरक्षणका कार्यलाई व्यवस्थित रूपले काम गर्न मान्यता प्राप्त अवधारणा हो। वन्यजन्तुको अझ राम्रो संरक्षण गर्न,समुदायलाई सहयोग गर्न, पारदर्शिता र विश्वास बढाउन, सुधारका लागि प्रेरित गर्न, सुधारिएको पृथ्वीको आस गर्न, असल शासन कायम गर्न, योजनाबद्ध तयारी गर्न र सफल संरक्षणका अभियान चाल्न ग्रिन लिष्टको आवश्यकता हुने गरेको छ।

ग्रिन लिष्टमा पुग्न चार मुख्य आधार र त्यसभित्र ५० वटा सूचक रहेको चापागाँईले जानकारी दिइन्। आवेदन चरण, उम्मेदवारी चरण सूचीकरण चरण र प्रमाणीकरण चरण गरी ग्रिन लिष्टमा समेटिन चार वटा चरण रहने छन्। विश्वमा अहिलेसम्म ६० भन्दा बढी देशका ६ सयभन्दा बढी क्षेत्र ग्रिन लिष्टमा समेटिएको आयुसिएनले जनाएको छ। आगामी दशकका लागि तोकिएका नयाँ लक्ष्यअनुसार सन् २०३० सम्म विश्वको ३० प्रतिशत जमिन, समुद्र, सामुद्रिक क्षेत्र तथा जमिनले घेरेको जलक्षेत्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गर्ने लक्ष्यका साथ ग्रिन लिष्ट अभियानलाई कञ्चाजंघा संरक्षण क्षेत्रलाई अध्ययनको केन्द्र बनाइएको आइयुसिएनले बताएको छ।

हाल विश्वको १७ प्रतिशत जमिन क्षेत्र र १० प्रतिशत सामुद्रिक क्षेत्र संरक्षित रहेको छ। सन् २०३० सम्ममा जमिन, समुद्र, सामुद्रिक क्षेत्र तथा जमिनले घेरेको जलक्षेत्रमा हाल भएको ३० प्रतिशत ह्रासलाई पुनर्स्थापना गरिने छ र त्यसो गर्न नसकिए यो अभियानलाई निरन्तरता दिइने समेत आईयुसिएनले बताएको छ।

यसैगरी जैविक विविधताको हिसाबले उच्चतम महत्व बोकेका क्षेत्रमा भइरहेको ह्रासलाई सन् २०३० सम्ममा शून्यमा झार्ने लक्ष्य लिइएको छ। ताप्लेजुङको फुङलिङ नगरप्रमुख अमिर मादेन, जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाले अध्ययन टोलीलाई जैविक विविधता र पर्यावरणीय महत्वका स्थलहरूलाई समेटेर अध्ययनको दाएरा फराकिलो बनाउन सुझाव दिएका छन्।

प्रकाशित: ३० असार २०८२ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App