कञ्चनपुरको लालझाँडी गाउँपालिका-३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरूसँगै कक्षाकोठामा राखिएको छ। यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरिए पनि अन्य विद्यार्थीहरूसँगै राखेर पढाइन्छ।
शारीरिक रूपमा अशक्त बालबालिका शिक्षाबाट वञ्जित नहोऊन् भन्ने उद्देश्यले अन्य विद्यार्थीसँगै कक्षाकोठामा राखेर पठनपाठन गर्ने गरिएको पूर्णिमा आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर वडायकले जानकारी दिए। उनका अनुसार यस वर्ष मात्र विद्यालयले अपाङ्गता भएका चार बालबालिकालाई विद्यालयमा भर्ना गरेको छ।
बालविकास कक्षामा अपाङ्गता भएका बालबालिकालाई पठनपाठनका लागि दातृ निकायको सहयोगमा छुट्टै शिक्षकको व्यवस्था गरिएको छ। “हामीले वडामा रहेका अपाङ्गता भएका बालबालिका पत्ता लगाएर विद्यालयमा भर्ना गर्न लगायाैं,” प्रधानाध्यापक वडायकले भने, “अरूलाई देखेर पनि बालबालिकाको मनोबल बढ्छ कि भनेर हामीले विद्यालयमा भर्ना गरेका हौं।”
विद्यालय भर्ना भएपछि बालबालिकामा सुधार आइरहेको उनको भनाइ छ। “कक्षा ५ मा एकजना बच्चा देख्न र बोल्न सक्दैनन्, तैपनि हामीले पढाइमा लगाव बढाउन उत्प्रेरित गरिरहेका छौं”, वडायकले भने।
अपाङ्गता भएकै कारण घरको कोठाबाट बाहिर आउन नसक्ने लालझाडी गाउँपालिका–३ बल्मीकामयन्क राना हाल कक्षाकोठामा अन्य विद्यार्थीसँगै पढ्छन्।
“मैले त छोरा यसरी विद्यालयमा भर्ना होला भन्ने कल्पना समेत गरेकी थिइन”, आमा श्रीमतु रानाले भनिन्, “हाल छोरा अलिअलि हिँड्छ, विद्यालयमा भर्ना भएको छ। विद्यालयमा ल्याउने लिने काम म आफैँले गरिरहेकी छु।”
उनले छोराको खुट्टामा समस्या भएकाले विगतमा हिँडडुल गर्न सकिँदैन भनेर घरमै राख्ने गरेको भए पनि नजिकैको विद्यालयले भर्ना लिने र पढाउने भनेपछि हाल केही सहज भएका भन्दै खुसी व्यक्त गरिन्। “छोरो बस्न र हिँड्डुल गर्न सक्दैन थियो, धेरै अस्पतालमा उपचारका लागि गए, केही सुधार भएन। विद्यालय भर्ना भएपछि पहिलाको तुलनामा धेरै फरक आएको छ। धेरै खुसी छु”, रानाले भनिन्।
हाल उक्त विद्यालयको बालविकास कक्षामा अपाङ्गता भएका तीन बालबालिका छन्।
यहाँको भानु माध्यमिक विद्यालयमा पनि अपाङ्गता भएका विद्यार्थीलाई अन्य विद्यार्थीसँगै राखेर अध्यापन गरिँदै आइएको छ। विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले हाल अपाङ्गता भएका विद्यार्थीलाई लक्षित कक्षाकोठा व्यवस्थापन गरेर पठनपाठन भइरहेको जानकारी दिए।
“कक्षामा कम सुन्ने, पछाडिबाट बोर्डमा लेखेको नदेख्ने र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई कक्षामा छुट्टै बस्ने व्यवस्थापन गरेर पठनपाठन गरिरहेका छौं”, उनले भने, “अझै धेरै अपाङ्गता भएका विद्यार्थीहरू शिक्षाको पहुँच बाहिर छन्। यस पटक हामीले विद्यार्थी भर्ना अभियानमा अपाङ्गता भएका बालबालिकालाई समेत भर्ना गरेका छौं। यहाँ अपाङ्गता भएका २३ विद्यार्थीले अध्ययन गर्ने अवसर पाएका छन्।”
सामान्यतः अपाङ्ता भएका बालबालिकाका लागि छुट्टै विद्यालय हुनुपर्ने व्यवस्था छ, तर यस क्षेत्रमा त्यस्तो विद्यालय छैन। जसले गर्दा धेरैजसो अभिभावक शिक्षाबाट वञ्चित भइरहेका छन्। यहाँका दुई विद्यालयले अन्य विद्यार्थीसँगै राखेर अपाङ्गता भएका बालबालिकालाई पनि अध्ययन गराउन थालेपछि केही सहज भएको छ।
प्रकाशित: १२ भाद्र २०८२ १०:०२ बिहीबार





