बानेश्वर क्षेत्रमा जेन-जीको प्रदर्शन र प्रहरीको हस्तक्षेपका कारण अस्तव्यस्त बनेको छ। बिहान स्कुल गएका विद्यार्थीहरू स्कुल छुटेर घर फर्कन पाएका छैनन्।
अभिभावकले फोन गरेर तनाव लिएका छन्। भ्याली पब्लिक संचालक एवं प्याबसनका अध्यक्ष कृष्ण अधिकारीका अनुसार प्रहरीले विद्यालयहरूमा फोन गरेर विद्यार्थीलाई होल्ड गर्न लगाएको छ।
‘हामीले अभिभावकहरूलाई आन्दोलन केही शान्त भएपछि मात्र विद्यार्थी फर्काउने कुरा गरेर विद्यालयमै होल्ड गरेका छौं,’ अध्यक्ष अधिकारीले भने, ‘मुख्य तनाव कक्षा ११ र १२ का विद्यार्थीका अभिभावकहरूमा देखिएको छ।’ उनले थपे, ‘दिउँसो कक्षा सकेर घर पुगे नपुगेको बारे स्कुल र अभिभावक चिन्तित छन्।’
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरुको बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीद्वारा चलाइएको गोली लागेर हालसम्म १४ युवाहरूको मृत्यु भएको पुष्टि भएको छ। भने सयौँको सङ्ख्याका घाइतेहरू उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।
प्रकाशित: २३ भाद्र २०८२ १६:२७ सोमबार





