फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा निर्वाचन आयोग सहित सरोकारवालाले जोड दिएका छन्।
मंगलबार धनगढीमा आयोजित निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक छलफलका सहभागीले आचारसंहिता उल्लङ्घनका घटनामा कडा कानूनी कारबाही गर्नुपर्ने बताए।
कार्यक्रममा निर्वाचन आयोगकी आयुक्त डा जानकी कुमारी तुलाधरले निर्वाचन आयोग शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउन सक्रिय रहेको बताइन्। उनले आचारसंहिता विपरीत गतिविधि भएमा उजुरी दिन सकिने व्यवस्था रहेको उल्लेख गर्दै उल्लङ्घन पुष्टि भए कानुनी कारबाही अघि बढाउने बताइन्।
निर्वाचन केवल आयोगको मात्र जिम्मेवारी नभई राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र नागरिक सबैको साझा दायित्व भएको उनको भनाइ छ।
यस्तैगरी सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन नगरेसम्म शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्भव नभएको बताए। उनले निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा नागरिक समाज सबैले आचारसंहिता पालना गर्नुपर्ने बताए ।
प्रकाशित: २८ माघ २०८२ १०:३३ बुधबार




-600x400.jpg)
