२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २२:१७ अपराह्न
समाज

शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो

फाइल तस्बिर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो। 

आर्थिक वर्ष २०८०/८१ मा चार हजार पाँच सय ७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। जसमा चार हजार दुई सय ९४ जना नेपाली, एक सय ३७ जना सार्क मुलुकका र एक सय ४३ जना विदेशीले निकुञ्ज भ्रमण गरेका थिए। यो तुलनामा आर्थिक वर्ष २०८१/८२ मा निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। यो आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी जम्मा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी वाग्लेले बताए। जसमा तीन हजार तीन सय ७१ जना नेपाली, सार्क मुलुकका एक सय ९९ जना र एक सय ५२ जना विदेशी पर्यटकले यो निकुञ्ज भ्रमण गरेका थिए।

आर्थिक वर्ष २७९/८० मा तीन हजार पाँच सय ५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए। जसमा सार्क मुलुकका एक सय ५८ जना र विदेशी एक सय २१ जना थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनुजस्ता समस्याले यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आएको सूचना अधिकारी वाग्लेले जानकारी दिए। 

‘जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो, थोरै क्षेत्रफलमा धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ,’ उनले भने।  

हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नहुनुले पनि पर्यटकको सङ्ख्यामा कमी आएको सूचना अधिकारी वाग्लेको भनाइ छ। उनले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको गन्तव्य भएको बताए। 

‘यहाँ भारतीय पर्यटकको ठूलो सम्भावना छ तर नाकामा असहजताका कारण पर्यटक आउन सकेका छैनन्,’ सूचना अधिकारी वाग्लेले भने, ‘यसको प्रचारप्रसार र निजी क्षेत्रको लगानी हुन जरुरी छ।’ उनले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरे पनि त्योअनुसारको टुर प्याकेजको व्यवस्था हुन नसक्दा विदेशी पर्यटक शुक्लाफाँटासम्म नपुगेको बताए। 

‘विदेशी पर्यटकलाई हवाई भाडामा पनि झन्डै दोब्बर छ, सबै देशका नागरिकलाई समान भाडादर हुनुपर्ने थियो, त्यो छैन, त्यसकारण पनि नजिकैको काठमाडौँ, पोखरा र चितवनसम्म पुगेर उनीहरू फर्किन्छन्,’ सूचना अधिकारी वाग्लेले भने, ‘पर्यटक लक्षित विभिन्न टुर प्याकेजमा निजी क्षेत्रको लगानी हुन जरुरी छ।’ 

यहाँका पर्यटन व्यवसायीले शुक्लाफाँटा सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावले उल्लेख्य रूपमा पर्यटक आउन नसकेको बताउँछन्। ‘नाकामा आवागमन सहज छैन, गड्डाचौकी नाकामा पर्यटक प्रहरी हुनुपर्थ्यो, त्यो छैन,’ यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने, ‘सीमित पूर्वाधार र प्रचारप्रसारको अभाव।’ उनले आन्तरिक पर्यटकलाई समेत प्रोत्साहन हुन नसकेको बताए। 

शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु एकै ठाउँमा देखिने भएकाले विदेशी पर्यटक यहाँ पुग्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरुले बताए। उनले भने, ‘यहाँ आउने विदेशी पर्यटक थोरै ठाउँमा धेरै वन्यजन्तु देखिने भएकाले शुक्लाफाँटा मन पराउँछन्।’ उनको भनाइअनुसार यहाँ छिमेकी मुलुक भारतबाट समेत पर्यटक आउने गरेका छन्। 

‘यहाँको विशाल घाँसे मैदान, चराचुरुङ्गी, शान्त वातावरण विदेशीले एकदमै मन पराउँछन्,’ पथप्रदर्शक पनेरुले भने–‘फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशी धेरै खुसी हुन्छन्।’ 

पथप्रदर्शक पनेरुका अनुसार शुक्लाफाँटामा अध्ययन अनुसन्धानका लागि पनि पर्यटक आउने गरेका छन्। तीन सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध छ। निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ। निकुञ्जमा दुई हजार तीन सय २३ भन्दा बढी बाह्रसिङ्गा छन्। यहाँ ४४ पाटेबाघ छन्। विश्वकै सबैभन्दा ठूलो घाँसे मैदान रहेका कारण पनि यसको बेग्लै विशेषता छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु र दुर्लभ वनस्पतिका लागि प्रसिद्ध छ। रासस

प्रकाशित: ९ श्रावण २०८२ १५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App