१९ पुस २०८२ शनिबार
image/svg+xml
समाज

चिकित्सकमाथि हातपातको विरोधमा मलंगवा अस्पतालको सेवा ठप्प

चिकित्सकमाथि हातपात भएको विषयलाई लिएर प्रादेशिक अस्पताल मलंगवाका आकस्मिक सेवा बाहेक अन्य सबै सेवा ठप्प पार्दै चिकित्सक आन्दोलित भएका छन्।

सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात भएको घटनाको विरोधमा चिकित्सकले अस्पतालको सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन्।

मंगलबारदेखि नै अस्पतालका चिकित्सकले कुटपिट गर्नेमाथि कारवाही हुनुपर्ने माग गर्दै आकस्मिक सेवा बाहेक ओपिडी, ल्याब, एक्सरे लगायतका अन्य सेवा पूर्ण रूपमा बन्द गरेका छन्। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जीव सिंहले दोषीमाथि कानुनी कारवाहीको माग गर्दै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए।

गत सोमबार राति ९ बजे अस्पतालमा हड्डी भाँचिएर उपचारका लागि आएका मलंगवाका एक बिरामीलाई अन्यत्र रेफर गर्ने विषयलाई लिएर बिरामीका आफन्तले अस्पतालमा कार्यरत अर्थोपेडिक डा. साहमाथि हातपात गरेका थिए।

डा. साहमाथि हातपात गर्नेलाई तुरुन्त नियन्त्रणमा लिएर प्रशासनले कारवाही गर्नुपर्ने माग गर्दै अस्पतालमा कार्यरत सबै चिकित्सकले आकस्मिक बाहेक अन्य सेवा ठप्प पारेका हुन्।

अस्पताल प्रशासन र नेपाल चिकित्सक सङ्घले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सक कुटपिट गर्नेमाथि कारवाहीको माग गरेका छन्।

चिकित्सकको आन्दोलनका कारण आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द भएपछि उपचारका लागि आउने अन्य सेवाग्राही समस्यामा परेका छन्। सर्लाही रामबनका अमीत कुमार झाले आफ्नी आमाको उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा गएका थिए।

चिकित्सकको आन्दोलनका कारण सीमावर्ती सितामढी तर्फ उपचार गराउन जानुपर्ने बाध्यता सुनाए। अस्पतालजस्तो संवेदनशील ठाउँमा चिकित्सक कुटिनु निन्दनीय कार्य भएको बताए। सम्बन्धित पक्षले बन्द रहेका अस्पतालका अन्य सेवा तुरुन्त सञ्चालन गराउन जरुरी रहेको बताए।

प्रकाशित: ७ श्रावण २०८२ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App