अछामको पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीका नेत्रबहादुर शाहीले गाउँमा व्यापार थालेको दुई दशक भयो। गाउँमै सामान्य स्तरको व्यापारबाट घर गुजारा चलाइरहेका उनी हिजोआज भने बस्तीमा क्रमिक रूपमा भएको विकासले हर्षित मात्र होइन, व्यापार बढाउन अटो रिक्सा सञ्चालन गरेका छन्।
पञ्चदेवल विनायक नगरपालिका वडा नं ५, ६, ७, ८ र ९ का नागरिकले विगतमा दिनहुँ हिँडेर नाउ र झोलुङ्गे पुल तरेर जीविका चलाएको पञ्चदेवल विनायक नगरपालिका वडा नं ५ लयाटीका बलबहादुर शाहीले विगत सुनाए। तर हालै राकम कर्णाली नदीमाथि आरसिसी र स्टिल ट्रससहितको पक्की मोटरेबल पुल बनेपछि गाउँको विकासको ढोका खुलेको उनको भनाइ छ। पञ्चदेवल विनायक नगरपालिकाभित्रका विनायक, लयाटी, तोली, पुल्लेतोला, वारला, चिल्ताडा, भानाकोटलगायतका गाउँमा पहिला भोग्नुपरेको बाध्यता क्रमिक रूपमा हट्दै गएपछि गाउँमा खुसी छाएको हो।
‘हामी त कुवाका भ्यागुतासँगै भएर दशकौँ संघर्ष गर्दै दुर्गम बस्ती बस्याैँ।’ स्थानीय चक्र माझीले भने, ‘यो पुल हिँडडुलका लागि मात्र होइन, रामारोशन पर्यटकीय क्षेत्र जोड्ने छोटो करिडोरमा समेत पर्ने भएकाले यसको महत्व धेरै छ।’ उनले पुल नहुँदा पारि राकममा रहेको विद्यालयमा बर्खामा विद्यार्थीले पढ्न जानसमेत छाडेको विगतको अवस्था सुनाए। ‘आजभन्दा डेढ दशकअघि म आफैँ विद्यालय जाँदा नदीमा बगेपछि मुस्किलले ज्यान जोगायौँ।’ लयाटी, कालेगाडाका स्थानीयले खच्चरमा खाद्यान्न बोक्नुपर्ने बाध्यता पनि पुल बनेपछि हटेको उनको भनाइ छ।
विसं २०६८ मा दैलेखको आठबिस नगरपालिकाको ताराबजारदेखि पञ्चदेवल विनायक नगरपालिका जोड्ने पक्की पुलको ठेक्का सम्झौता भएको थियो। त्यसैगरी बस्ती भएरै कर्णाली नदी किनार भएर ‘ट्र्याक’ समेत खोल्ने काम थालिएपछि पञ्चदेवल विनायक नगरपालिकाभित्रका लयाटी, कालेगाडा, पुल्लेतोला, चिल्ताडालगायतका जनतामा खुसीको सीमा छैन।
विनायकका नरेश शाहले यहाँका स्थानीयले निकै अभाव र गरिबीका बीच कर्णाली नदीको पीडा सहेर बस्ती बचाएको बताए। ‘बस्तीमा बिरामी पर्दा डोकोमा बोकेर कर्णाली नदीका झोलुङ्गे पुल तारेर राकम तथा सुर्खेतमा उपचारका लागि जानुपर्ने बाध्यता थियो।’ उनले भने, ‘अहिले पुल, सडकलगायतका विकास पूर्वाधार जोडिँदा गरिबका पनि दिन आएजस्तो भान भयो।’ २०६८ सालमा ठेक्का सम्झौता भएको पुल दशकपछि निर्माण हुनु दुर्भाग्य भएको उनको भनाइ छ।
पश्चिम नेपालको तराई, पहाड हुँदै हिमालसम्म जोड्ने छोटो दूरीका रूपमा रहेका यी बाटा पहिले हाटबजार गर्दादेखि नै चलनचल्तीका हुन्। इतिहास बोकेका बाटा भएकाले त्यहाँ पुल बनेपछि आवतजावतमा सजिलो हुनुका साथै रामारोशन क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा पनि विकास गर्न सकिने स्थानीयको विश्वास छ।
अहिले राकम कर्णाली नदीमाथिको पुल सञ्चालनले पञ्चदेवल विनायक नगरपालिका वडा नं ५ को लयाटी हुँदै कालीकोटको कालेखोला जोड्ने सडक विकल्पको बाटोका रूपमा सञ्चालन गर्न सकिने पञ्चदेवल विनायक नगरपालिका वडा नं ६ का कमल शाहले बताए। उनले भने, ‘कर्णाली राजमार्गको गगने खोलामा पटकपटक जाने पहिरोले यो बाटो सञ्चालनमा आएपछि वैकल्पिक बाटो पनि हुने छ।’
पञ्चदेवल विनायक नगरपालिका वडा नं ५ का वडाध्यक्ष हेमबहादुर शाहीले सडक पूर्वाधार क्रमिक रूपले विकास भएसँगै बस्तीको मुहार फेरिएको बताए। पुल बन्यो, अब लयाटीदेखि भानाकोट हुँदै कालीकोट जोड्ने सडक निर्माण भएमा धेरै राहत हुने छ। पञ्चदेवल विनायक नगरपालिका ५, ६, ७, ८, ९ का स्थानीयले कहीँकतै करिडोरको ट्र्याक खुलेपछि आवागमन पनि हुन थालेको बताएका छन्।
राकम कर्णाली नदीमाथि बनेको आरसिसी र स्टिल ट्रससहितको पुल लामो समयपछि निर्माण भएको सडक डिभिजन सुर्खेतका इन्जिनियर दिनेशराज ओझाले बताए। कुमार श्रेष्ठ राजेन्द्र जेभीले १५ करोड ५३ लाख लागतमा निर्मित पुलको लम्बाइ ४५ मिटर रहेको उनको भनाइ छ। उनले भने, ‘पुल बनेपछि गाउँबाट पनि राम्रो प्रतिक्रिया पायौँ।’ उनले निर्धारित समयभन्दा ढिलाइ हुनुमा पहिलाको डिजाइनभन्दा फेरि डिजाइन गर्दा धेरै ढिला भएको बताए।
सडक डिभिजन, सुर्खेतका प्रमुख ई. विवश बाबु सदादेवले कर्णाली राजमार्गमा स्तरउन्नतिका काम भइरहेको बताए। उनले भने, सुर्खेतदेखि माथिको सडकमा ठेक्का चालु अवस्थामा छन्, राकमदेखि दौही खोलासम्मको सडक उन्नतिका लागि बजेटको माग गरेको उनको भनाइ छ।
कर्णाली प्रदेशअन्तर्गत दैलेखको पश्चिम क्षेत्र र सुदूरपश्चिम प्रदेशको अछामसँग आवागमन सहज गर्ने उद्देश्यले दैलेखको आठबिस नगरपालिकास्थित कर्णाली नदीमा २०६८ सालमा निर्माण थालिएको थियो। पुल निर्माण सम्पन्न भएपछि दैलेखको पश्चिम क्षेत्र राकम कर्णालीको मुख्य बजारबाट सुदूरपश्चिम प्रदेशको अछामको उत्तरी क्षेत्रलगायतका विभिन्न जिल्लामा यातायात सहज भएको छ।
राकमको तारा बजारमा पक्की पुल निर्माण भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्बन्ध विस्तारमा निकै सहज भएको छ। अहिले पुल निर्माणपछि राकम कर्णालीको तारा बजार क्षेत्र आन्तरिक पर्यटनको रोजाइमा परेको छ। अहिले राकमको पुलमा फोटो खिच्नेको भीड लाग्ने गरेको छ।
प्रकाशित: २ मंसिर २०८२ १२:५८ मंगलबार





