२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

सदरमुकाममै महिनौंदेखि सडक अवरुद्ध, जिम्मेवार निकाय मौन

सदरमुकाम मान्म बजारको मुख्य सडक अवरुद्ध भएको महिना बित्दा पनि मर्मत हुन सकेको छैन। खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा २०८१ फागुनको तेस्रो साता पहिरोले सेरापाटा बजारको सडक भत्काएको थियो। महिनौँदेखि सडक बन्द हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ। सडक मर्मत कहिले हुन्छ? प्रश्न धेरै उठ्छन्।

खाँडाचक्र नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्कापछि आरएनसिएस बिल्डर्सले जग खन्ने क्रममा माथिबाट सडकसहितको सुख्खा पहिरो झरेर फागुनयता सडक पूर्ण रूपमा बन्द हुँदा पनि नगरपालिका मूकदर्शक बनेको छ।

मान्म बजारका व्यापारीदेखि आम नागरिकले बजारमा सहज रूपमा हिँडडुल गर्न सकेका छैनन्। नगरपालिकाले सडक बनाउन चासो नदिएकाले लामो समयदेखि सदरमुकाम मान्म बजारको मुख्य सडक अवरुद्ध भएको स्थानीयको भनाइ छ। सडक बन्द हुँदा बिरामी र व्यापारीले दुख खेप्नुपरेको छ।

नगरपालिकाले जग खनेको क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था छ, तर यस विषयमा नगरपालिका र जिल्ला प्रशासन कार्यालयले चासो नदिएको पाइन्छ।

खाँडाचक्र नगरपालिकाले भवन निर्माणका लागि भ्याटसहित २५ करोडको ठेक्का आह्वान गरेकोमा काठमाडौंको आरएनसिएस बिल्डर्सले १९ करोडमा ४० महिनाको समयावधिमा काम सक्ने गरी सात तले भवन निर्माणको ठेक्का लिएको खाँडाचक्र नगरपालिकाका इन्जिनियर सुमित भट्टले बताए। उनले भने, ‘जग खन्ने क्रममा पहिरोले सडक भत्काएको हो। नगरपालिकाले मर्मतका लागि कम बजेट छुट्याएकाले फेरि पहिरो गएर समस्या थपिएको छ।’

उनका अनुसार पहिरोले भत्काएको सडक मर्मतका लागि स्थानीय समितिमार्फत काम गर्न ५ लाख रुपैयाँ नगरपालिकाले छुट्याएको छ। उनले भने, ‘जग खन्दा बजार जाने सडकसहित स्थानीयका घर जोखिममा परेपछि नगरपालिकाको भवन निर्माणको काम वैशाखदेखि रोकिएको छ।’

नगरपालिकाले पहिले भत्किएको सडकको पर्खाल लगाउन २० लाखको ठेक्का गरेर १६ लाखमा मेसिनरी पर्खालको जिम्मा स्थानीय व्यवसायी मानबहादुर शाहीलाई दिएकोमा यस बेलाको वर्षाले पर्खाल भत्काएको छ। उनले असारमै काम सके पनि रकम नपाएको गुनासो छ।

नगरको भवन निर्माणका क्रममा मान्म बजार जाने सडक भत्किएपछि बजारका व्यवसायी मर्कामा परेका छन्। कर्णाली राजमार्गबाट बजारसम्म साना गाडी र मजदुरबाट सामान ढुवानी गर्दा प्रतिगाडी दुई हजार महँगो पर्ने गरेको छ।

यसैबिच नगरको कामले मान्म बजार जाने बाटो अवरुद्ध भएको र स्थानीयका घर पहिरोको जोखिममा परेको गुनासोपछि मंगलबार नेपाल तरुण दल कालीकोट र मानव अधिकार तथा सामाजिक न्याय मञ्चले प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयललाई ध्यानाकर्षण पत्र बुझाएको छ।

नेपाल तरुण दल कालीकोटका अध्यक्ष दमनराज शाहीले कालीकोट जिल्लाको केन्द्रबिन्दु खाँडाचक्र नगरपालिका वडा नं. १ स्थित मान्म बजार जाने सडक केही समयदेखि अस्तव्यस्त रहेको, शिक्षा, स्वास्थ्य तथा खानेपानीमा अनियमितता, सरकारी भौतिक संरचना व्यक्तिको प्रयोजनमा प्रयोग, कालीकोट जिल्लाभित्रका स्थानीय तह तथा सरकारी कार्यालयमा भ्रष्टाचार, सरकारी सवारी साधनको दुरुपयोग, लागूऔषध दुरुपयोग नियन्त्रणका विषयमा प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

यस्तै, मानव अधिकार तथा सामाजिक न्याय मञ्चका केन्द्रीय सदस्य कर्ण प्रसाद चौलागाईंले खाँडाचक्र नगरपालिकाको सेरापाटा स्थित भत्किएको सडक ३ दिनभित्र निर्माण कार्य सुरु गर्नुपर्ने, बजारवासीलाई नियमित खानेपानीको व्यवस्था ३ दिनभित्र सुनिश्चित गर्नुपर्ने सुझावसहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। नगरपालिकाको भत्किएको बाटो हुँदै यात्रा गर्दा दुई पटक मोटरसाइकल दुर्घटना भएको छ।

मान्म बजार क्षेत्रमा जमिनमा नगरको भवनका लागि डोजर लगाएर फाउन्डेसन खन्दा सडकसहित स्थानीय कर्ण प्रसाद चौलागाईं, कालीबहादुर शाही, भवानी प्रसाद आचार्य, नर प्रसाद चौलागाईं, गंगाराम आचार्य, लाल प्रसाद पोख्रेल र हर्कबहादुर शाहीका पक्की घर पहिरोको उच्च जोखिममा छन्। तीमध्ये कालीबहादुर शाही र कर्ण प्रसाद चौलागाईंको परिवारसहित भाडामा बस्ने व्यक्तिहरू विस्थापित भएर आफन्तको घरमा बसिरहेका छन्।

कालीकोट जिल्लाको बाटोको अवस्था यस्तो हुँदा पनि स्थानीय सरकारले चासो नदिएको गुनासो बढेको छ। खाँडाचक्र नगरपालिकाका इन्जिनियर सुमित भट्टले नगरपालिकामा पर्याप्त बजेट नहुँदा समस्या परेको बताए। उनले भने, ‘पर्खाल लगाउँदा ठुलो ढुंगा फेला परेपछि समस्या थपिएको हो। अहिलेकालागि बजेट कम छ।’ उनले उपभोक्तालाई काम गर्न जिम्मा दिने गरी नगरपालिकाले ५ लाख रुपैयाँ बजेट छुट्याएको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले मान्म बजारको बाटोको विषयमा दश पटकसम्म छलफल गरेको बताए। नगरपालिकाका इन्जिनियरलाई पनि आफूले भनिसकेको बताउँदै उनले भने, नगरपालिकाले चासो नदेखाएकाले नागरिकले धेरै सास्ती खेप्नुपरेको छ।

प्रकाशित: १२ कार्तिक २०८२ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App