२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो

नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको बथान लामो अवधिसम्म झापा र मोरङको जङ्गली क्षेत्रमा बसेपछि मानव–हात्ती द्वन्द्वको जोखिम बढेको छ।

वन्यजन्तु संरक्षणमा चासो दिइरहेकाहरूले पहिल्यैदेखि यी दुई जिल्लाको जङ्गलमा घटीमा ३० वटा रैथाने हात्ती रहेको बताउँदै आएका छन्। अब फेरि हात्ती थपिएपछि मानवसँग द्वन्द्व बढ्ने त्रास उत्पन्न भएको हो।

गत साता मोरङको सुन्दरहरैचा क्षेत्रको जङ्गलबाट पूर्वतर्फ लागेका २५ देखि ३० वटा हात्तीको लस्कर पूर्वी गौडा बाहुनडाँगी हुँदै भारततिर लाग्ने सम्भावना देखिएको थियो। ती हात्तीको बथान दुई वर्ष अघि बाहुनडाँगी गौडाबाटै नेपाल भित्रिएका थिए।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले मोरङबाट झापाको रतुवामाई वृक्षरोपणको जङ्गल क्षेत्रसम्म आइपुगेका हात्तीको बथान छिन्नभिन्न भएर ठूलो सङ्ख्या मोरङतिरै फर्किसकेको र अरु दुई झुण्ड झापाको जङ्गलतिरै बरालिरहेको जानकारी दिए।

सीमित क्षेत्रफलको जङ्गलमा लगातार हात्तीको सङ्ख्या थपिदै जाँदा मानव–हात्ती द्वन्द्व स्वतः बढिरहेको छ। जङ्गलमा हात्तीका लागि त्रासरहित बास र पर्याप्त आहार छैन। भोकाएर हात्तीको बथान गाउँबस्तीतिर प्रवेश गर्ने हुँदा त्यसको मार जङ्गल छेउका बासिन्दाले व्यहोरिरहेका छन्।

चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले मोरङको जङ्गलबाट पूर्व लाग्नेबित्तिकै हात्तीको बथान सरासर हिँडेर भारततिरै जान्छ भन्ने सोचाइ गलत भएको बताउँछन्। 'हात्ती घुमन्ते प्राणी हो, तर उसले आहार र सुरक्षित बासस्थान पाउञ्जेल हत्तपत्त ठाउँ छाडिहाल्दैन,' उनी भन्छन्, 'मोरङबाट झापातिर आइपुगेको हात्तीको बथानमा साना बच्चाहरू र किशोर उमेरका हात्तीको सङ्ख्या अधिक छ। उनीहरूलाई माउ हात्तीले डुलाउँदै, खुवाउँदै र ठाउँ चिनाउँदै ढिलो बसाई सार्छन्।'

भारतको आसामदेखि पश्चिम बङ्गालको सुकुना हुँदै नेपाल भित्रिने बथानका हात्तीले पुस्तौँदेखि निरन्तर ओहोरदोहोर गरिरहेको उनी बताउँछन्। हाल झापा र मोरङमा आहारका लागि धान, मकै र केरा पर्याप्त भएकाले हात्तीहरू भारततिर नगएको हुनसक्ने उनको भनाइ छ।

झापामा बथान छुट्टिएका हात्तीसँग दमकको हम्सेदुम्से र शिवसताक्षी क्षेत्रमा स्थानीयवासीको जम्काभेट हुन थालेको छ। बथानमा रहेका हात्ती दिनभरि बाक्लो बन क्षेत्रमा बास बस्ने र दिउँसो आहाराको खोजीमा हिँड्ने गर्छन्। जङ्गलमा दाउरा लिन र गाईबस्तु चराउन जानेहरू हात्तीको आक्रमणमा पर्ने उच्च जोखिम छ।

रैथाने हात्तीको तुलनामा बसाई सरी आएका बथानका हात्ती कम आक्रामक हुने गरेको खरेल बताउनुहुन्छ। 'मानिसको कुटाइ र लखेटाइका कारण थेत्तरो भएको एक्ले रैथाने हात्तीहरू सिधै मान्छेलाई झम्टिन्छन्,' उनी भन्छन्, 'तर, बथानका हात्ती मान्छेले खेदाउँदा बालबच्चालाई घेराभित्र जोगाउँदै भाग्छन्। हत्तपत्त आक्रमणमा उत्रिदैनन्।'

उनले जनावर भएकाले हात्तीलाई जिस्काउने, आगो झोस्ने र बिथोल्ने गतिविधि गर्दा नै मानवीय क्षति निम्तिने गरेको बताए। जङ्गलमा खाने आहारको कमीले भोकाएका हात्तीहरू मान्छेको खेतीपाती र बस्तीतिरै पस्ने भएकाले हात्तीको सङ्ख्या बढेसँगै मानव–हात्ती द्वन्द्व बढ्ने सम्भावनालाई मध्यनजर गरेर आमजनसमुदाय र सरोकारवाला निकायहरूले आवश्यक सावधानी अपनाउनु पर्ने उनको सुझाव छ। रासस

प्रकाशित: ६ मंसिर २०८२ १३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App