सरकारले खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ।
खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको हो। यसबारे निर्णय गर्न अहिले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा विभिन्न निकायका प्रतिनिधि छलफलमा बसेका छन्।
भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि सरकारले आधा सिलिन्डर (७ दशमलव १ केजी) मात्रै भरेर बिक्री गर्ने योजना बनाएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले आधा सिलिन्डरको व्यवस्थाबारे छलफल भइरहेको नागरिकलाई जानकारी दिए।
मन्त्रिस्तरीय निर्णय वा नेपाल आयल निगमको सञ्चालक समितिको बैठकबाट यसबारे औपचारिक निर्णय हुने छ।
नेपाल आयल निगमका अनुसार हाल देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर रहेका छन्। हाल १४ दशमव २ केजीको सिलिन्डर बिक्री हुँदै आएकोमा नयाँ निर्णयपछि ७ दशमलव १ केजी ग्यास भरेर बजारमा पठाइनेछ।
उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय ९स्टक० गरेका कारण बजारमा अभाव देखिएको निगमको दाबी छ। ग्यास अन्य वस्तुजस्तो लामो समय थुपारेर राख्न नमिल्ने र आधा सिलिन्डर मात्र वितरण गर्दा धेरै उपभोक्तासम्म पुग्ने भएकाले अभाव हट्ने निष्कर्ष निगमले निकालेको हो।
प्रकाशित: २८ फाल्गुन २०८२ १७:२० बिहीबार





