कैलालीको जानकी गाउँपालिका वडा नम्बर ५ पहाडीपुरका प्रेमप्रसाद जोशी वैदेशिक रोजगारीका क्रममा पाँच वर्ष मलेसिया बसे । वि.सं. २०६५ मा मलेसिया गएका जोशी २०७० मा मात्रै फर्किए ।
प्रशस्त पैसा कमाउने सोच बनाएर मलेसिया हिँडेका जोशी फर्किदा वैदेशिक रोजगारी प्रति सन्तुष्ट थिएनन् । उनका अनुसार मलेसिया बसाई आर्थिक रुपमा सफल रहेन । उनी जीवनका ऊर्जाशील पाँच वर्ष विदेशमा पसिना बगाएर स्वदेश फर्किए ।
उनी आफू त स्वदेश फर्किए जेठो छोरा नारायण भने अर्को वर्ष विदेश हिँडे । २०७१ मा नारायण आफ्नै बुबाले पाँच वर्ष पसिना बगाएको मलेसिया पुगे । वैदेशिक रोजगारीको तितो अनुभव बटुलेर फर्केका प्रेमप्रसादले जेठो छोरा नारायणलाई रोक्न सकेनन् । नारायण धेरै समय मलेसिया बस्न सकेनन् । उनले दुई वर्षमै मलेसिया छोडे । त्यसपछिको उनको यात्रा कतार रह्यो । उनी कतारमा समेत धेरै समय बस्न सकेनन् । उनले दुई वर्षमै कतारको रोजगारी त्यागेर घर फर्किए ।
उनी छिट्टै घर फर्किनुको मुख्य कारण हो तरकारी खेती । वैदेशिक रोजगारीबाट फर्केका बुबा प्रेमप्रसादले गाउँमै तरकारी खेती सुरु गरे । तरकारी खेतीले आम्दानी दिन थाल्यो । उनलाई तरकारी खेती विस्तार गर्ने हो भने विदेशको भन्दा राम्रो कमाई हुन सक्छ भन्ने लाग्यो । उनले जेठो छोरा नारायणलाई घर फर्काए । कान्छो छोरा सुनिल बुबासँगै तरकारी खेतीमा सक्रिय भैसकेका थिए ।
जेठो छोरा नारायणले पनि तरकारी खेतीमा भइरहेको प्रगतिमा सम्भावना देखे । उनले २०७७ मा खप्तड पशुपक्षी तथा कृषि फर्म दर्ता गरे । अहिले जोशीका तीन बुबा छोरा तरकारी खेतीमा सक्रिय छन् । घरका अन्य चार सदस्यहरूले समेत घरायसी कामका अलावा तरकारी खेतीमा सघाउने गरेका छन् । जोशी परिवारले तीन विगाहमा तरकारी खेती गर्दै आएको छ । ‘अझै बिस्तार गर्ने योजनामा छौँ’ नारायणले भने–‘थप जमिन भाडाका लागि कुरा भइरहेको छ ।’ उनले कम्तीमा दश विगाहमा तरकारी खेती विस्तार गर्ने योजना रहेको सुनाए ।
उनीहरुले बेमौसमी तरकारी खेती गर्दै आएका छन् । उनीहरु मुख्य गरी काँक्रा, लौका, भिण्डी, करेला, सिमी, टमाटर लगायतका तरकारी बाली उत्पादन गर्छन् । बजारको कुनै समस्या छैन । लम्की, टीकापुर, सुखड, चिसापानी लगायतका स्थानीय बजारमै धेरै उत्पादन खपत हुन्छ । कान्छो छोरा सुनिलका अनुसार स्थानीय बजारमा खपत नभएको तरकारी कोहलपुर, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगरसम्म बिक्री हुने गरेको बताए । ‘व्यापारी गाडी लिएर बारीमै पुग्छन’ उनले भने–‘बजारको समस्या छैन । अहिलेसम्म तरकारी बारीमा सड्नु परेको छैन ।’
जोशी परिवारले तरकारी खेतीमा तीस लाख रुपैयाँ लगानी गरिसकेको छ । उनीहरुले लगानी अनुसारको प्रतिफल पाइरहेको बताए । नारायणका अनुसार विदेशको भन्दा राम्रो कमाई भइरहेको छ । ‘मलेसियामा मासिक ४० हजार जति हुन्थ्यो’ उनले भने–‘यहाँ डेढदेखि दुई लाखसम्म आम्दानी भइरहेको छ ।’
तरकारी खेतीमा भइरहेको प्रगतिले प्रेमप्रसादलाई देश विदेश चिनाएको छ । उनी यस वर्ष देशकै उत्कृष्ट कृषकका रुपमा सम्मानित समेत भएका छन् । २०८२ असार १० गते राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उत्कृष्ट कृषकका रुपमा जोशीलाई सम्मान गरे । उनले यो सम्मान आफ्ना लागि ठूलो उपलब्धि भएको बताए । वैदेशिक रोजगारी त्यागेर आफ्नै देशमा तरकारी खेतीमा रमाएका जोशी सम्मानले हौसिएका छन् ।
रानी जमरा कुलरिया सिँचाई आयोजना कृषि कार्यान्वयन एकाइले जोशी परिवारलाई सहयोग गरिरहेको छ । उसले अनुदान, बिउ बिजन, कृषि औजारका साथै प्राविधिक सहयोग समेत गर्दै आएको छ । कार्यालयको सहयोगले अहिले धेरै किसानहरू तरकारी खेती तर्फ आकर्षित भइरहेको कार्यक्रम संयोजक भरतप्रसाद कँडेल बताउँछन् ।
प्रकाशित: २७ असार २०८२ १४:२३ शुक्रबार





