१९ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

विराटनगरको बस्ती नजिकै दुर्लभ नीलगाई मृ*त फेला

विराटनगरको बस्ती नजिकै रहेको धान खेलमा दुर्लभ नीलगाई मृत अवस्थामा फेला परेको छ। विराटनगर महानगरपालिका–५ कलरुवास्थित धान खेतमा आइतबार नीलगाई मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत अवस्थामा नीलगाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले आइतबार दिउँसो साढे ४ बजेतिर नीलगाई मृत अवस्थामा रहेको सूचना प्राप्त भएको जानकारी दिए। उनले भने, ‘खबर प्राप्त हुन साथ प्रहरी टोली गएको र वन कार्यालयलाई खबर गरी संयुक्त रुपमा कानुनी प्रक्रिाय थालेका हौं।’

मृत नीलगाईबाट दुर्गन्ध आउन थालिसकेको प्रहरीको भनाइ छ। वन कार्यालयको प्राविधिक र वन्यजन्तु विज्ञसहितको टोलीले घटनास्थलको मुचुल्का उठाएपछि खाल्डो खनेर घटनास्थलनजिकै नीलगाईलाई गाडिएको छ। नीलगाई कहिले मरेको हो भन्ने यकिन हुन सकेको छैन। स्थानीयले भने शनिबार राति नै मरेको हुन सक्ने आशंका गरेका छन्।

नीलगाई आफैँ मरेको वा कसैले मारेको हो भन्ने यकिन छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नीलगाई एसियाकै सबैभन्दा ठूलो मृग प्रजातिको र शाकाहारी वन्यजन्तु हो। घाँस, पात र झारपात यसको मुख्य आहारा हुन्।

नेपालमा नीलगाई तराईका विभिन्न संरक्षित क्षेत्रमा पाइन्छ। कोशी टप्पु वन्यजन्तु आरक्ष पनि यसको प्रमुख बासस्थानमध्ये एक हो। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अध्ययनअनुसार नेपालमा यसको संरक्षण अवस्था जोखिमपूर्ण मानिएको छ।

विराटनगरको बस्तीनजिकै नीलगाई मृत भेटिनुको कारण भने खुलेको छैन। थप कुरा अनुसन्धानपछि पत्ता लाग्ने वन कार्यालयले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०८३ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App