भक्तपुरको मनोहरा खोलाको सिमसार क्षेत्रमा दुर्लभ आगन्तुक चरा गेरुमुहार चाँचर भेटिएको छ। जैविक विविधता विज्ञ सुजन श्रेष्ठ र वन्यजन्तु फोटोग्राफर कृष्णकाजी प्रजापतिले पुस ३० गते उक्त चरालाई क्यामेरामा कैद गरेका हुन्।
यो अवलोकन नेपालमा दोस्रो र काठमाडौं उपत्यकामा पहिलो आधिकारिक अभिलेख भएको दाबी गरिएको छ। प्रारम्भिक पहिचानपछि बर्ड कन्जर्भेसन नेपालका विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका चरा विशेषज्ञले यसलाई गेरुमुहार चाँचरकै रूपमा पुष्टि गरेका छन्।

दक्षिण–मध्य साइबेरियालाई प्रजनन क्षेत्र मानिने यो चरा जाडो याममा पूर्वी एसियाली मुलुकसम्म आव्रजन गर्छ। विज्ञहरूका अनुसार मनोहरा जस्ता सिमसार क्षेत्र चराका लागि अस्थायी बास र आहारस्थल हुन्।
विज्ञहरूले काठमाडौं उपत्यकामा सिमसार क्षेत्र तीव्र रूपमा नष्ट हुँदै गएको भन्दै यो अभिलेखलाई सहरी विकास र जैविक संरक्षणबीच सन्तुलन आवश्यक रहेको चेतावनी का रूपमा लिन आग्रह गरेका छन्।




तस्बिर: कृष्णकाजी प्रजापति
प्रकाशित: ३ माघ २०८२ १७:२८ शनिबार




