११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

चोलेन्द्र प्रकरणमा प्रहरी भन्छ : सुरक्षाका लागि ल्याएका हौँ, पक्राउ होइन

फाइल तस्बिर

प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको स्पष्ट पारेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले सुरक्षा थ्रेटका कारण जबरालाई प्रहरीको निगरानीमा राखिएको बताए। उनका अनुसार जबरामाथि आक्रमण हुनसक्ने आपत्कालीन सूचना आएपछि तत्काल सुरक्षाका लागि उनलाई प्रहरीको निगरानीमा ल्याइएको हो।

उनले नागरिकन्युजसँग भने, ‘यो साँच्चै पक्राउ होइन। उहाँको विषयमा अलिकति थ्रेट भन्ने कुराहरू आयो। उहाँको सुरक्षाका लागि मात्रै हामीले ल्याएको हो। पक्राउ होइन।’

एसपी खड्काका अनुसार जबरा अहिले प्रहरीकै सुरक्षामा छन्। ‘पहिला त इमर्जेन्सी हामीलाई सूचना आयो कि उहाँमाथि आक्रमण हुँदैछ भन्ने खालको सूचना आयो। तत्कालै हामीले उहाँलाई प्राथमिकतामा राखेर उहाँको सुरक्षा हुनुपर्छ भनेर लिएर आएका हौँ,’ उनले थपे।

जबरालाई घरमै राखेर सुरक्षा दिन सकिने विषयमा पनि तयारी भइरहेको खड्काले बताए।

कस्तो खतरा हो र घरमै राखेर कसरी सुरक्षा दिन सकिन्छ भन्ने विषयमा निर्णय गरिने पनि खड्काले बताए। तर खतरा कहाँबाट आएको हो भन्नेबारे उनले स्पष्ट जानकारी दिएनन्। यस्ता विषय अरूले पनि सिकेर दोहोर्‍याउन सक्ने भएकाले अहिले धेरै विवरण सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

प्रकाशित: ११ आश्विन २०८३ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App