१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली

पोखराको फेवाताल केवल पर्यटकीय आकर्षणको मात्र होइन सामाजिक, सांस्कृतिक र वातावरणीय पहिचान पनि हो । फेवातालामा टलक्क टल्कने माछापुच्छ्रे हिम शृखङ्लाको मनमोहक दृश्य, तालबाराहीको मन्दिरको दर्शन, वरिपरिको हरियालीसहित शान्त वातावरण हेर्न बर्सेनि हजारौँ पर्यटक पोखरा आइपुग्छन् ।  

पोखराको पहिचान र सुन्दरतालाई जोगाउन अहिले स्वःस्फूर्तरुपमा पोखरेली जेटेका छन् भने आवश्यक नीतिगत व्यवस्थासहित सरकारले पनि प्राथमिकताका साथ सहयोग गरिरहेको छ । पछिल्लो समय प्रदूषण, अतिक्रमण र अव्यवस्थित सहरीकरणले फेवातालको सुन्दरतामा ह्रास आउन थालेपछि नागरिकको सक्रियता बढेको हो । फेवातालको पानीको मुख्य स्रोतको रूपमा रहेको ‘हर्पन खोला’ले हरेक वर्ष वर्षायाममा हजारौँ टन गेग्रानसहित माटो बगाएर ल्याउँछ, जसले तालको गहिराइ र क्षेत्रफल दुवै घटाउँदै लगेको छ ।

यसका साथै, ताल वरपरका होटल, रेस्टुरेन्ट र घरहरूबाट निस्कने अप्रशोधित ढल सिधैँ मिसाउनेक्रम बढेसँगै ताल प्रदूषित भएको भनी स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । फेवातालको सुन्दरतालाई कायम राख्न बर्सेनि पोखरेलीहरु स्वस्फूर्तरुपमा  सफाइ अभियानमा जुटने गर्दछन, जसले ताललाई बचाउन सहयोग पु¥याएको छ ।  

विज्ञहरूका अनुसार प्लास्टिकजन्य फोहर र वर्षायाममा तालको ठूलो हिस्सा ढाक्ने जलकुम्भी झारले तालको सौन्दर्यमा गम्भीर असर पारेको छ । वातावरण संरक्षणका लागि महाअभियानका संयोजक एवं नागरिक समाजका अगुवा रामबहादुर पौडेल भन्छन्, “वर्षायाममा बाढीपहिरोसँगै प्लास्टिक, ढललगायत ताल ढाक्ने गरी आउने जलकुम्भीले फेवातालको अस्तित्वमा गम्भीर असर पारेको छ, यो जोगाउने जिम्मा सरकारसँगै हामी नागरिकको पनि हो ।”

पौडेलका अनुसार फेवातालको संरक्षण गर्दा पर्यटन प्रवद्र्धन, वातावरणीय सन्तुलन र सामाजिक चेतना तीनै कुरा सँगसँगै अगाडि बढ्छन्, भन्ने बुझाइ अब पोखराबासीको रहेको छ । “फेवाताललाई बचाउन अझ सशक्त सहकार्य, दीर्घकालीन योजना र हरेक नागरिकको प्रतिबद्धता चाहिन्छ । फेवाताल सफा हुनु भनेको पोखराको पहिचान जोगिनु मात्र होइन, भावी पुस्ताका लागि एउटा हरित र स्वस्थ सहर उपहार दिनु हो,” पौडेलले भने ।

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु आठ अर्ब ३५ करोड १२ लाख बराबरको बजेट प्रस्तुत गर्‍‍यो । उक्त बजेटमध्ये सहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड अर्थात् सात दशमलव २८ प्रतिशत विनियोजन भएको छ ।

महानगरले बजेटमार्फत पोखराको पहिचानसँग जोडिएको फेवाताललगायतका तालको संरक्षण लागि एक अधिकार सम्पन्न ‘पोखरा ताल विकास प्राधिकरण’ गठन गर्ने घोषणा गरेको छ । महानगरले ताललाई ३०–४० वर्ष पुरानै स्वरूपमा फर्काउने दूरदर्शी योजनाअघि सारेको छ । महानगरपालिकाअन्तर्गतको सहरी विकास पर्यटन पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख विमलरञ्जन कार्कीका अनुसार तालको सौन्दर्यमा ह्रास ल्याइरहेको जलकुम्भी झारलाई आयआर्जन र रोजगारीको स्रोतमा रूपान्तरण गर्ने नवीन कार्यक्रमसमेत बजेटमा समावेस गरिएको छ । -रासस

प्रकाशित: ६ श्रावण २०८२ १८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App