३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

पोखराको पृथ्वीचोक: सालिक राजनीतिको केन्द्र

पोखराको पृथ्वीचोक सालिक राजनीतिको थलो बनेको छ । यस चोकमा हरेक राजनीतिक उथलपुथलमा सालिक फाल्ने र राख्नेको होड चल्ने गर्छ । सदाझैँ यस वर्ष पनि यसले निरन्तरता पायो । पोखरा महानगरपालिकाले पोखरा–१८ ज्ञारजातीमा सहिद तथा विभूति पार्क बनाएर सहिद तथा विभूतिहरूको सालिक राख्दै आए पनि पृथ्वी चोकमा हुने सालिक राजनीति भने निरन्तर कायम छ।

विगतदेखि नै सालिक राजनीतिको केन्द्र बनेको पृथ्वी चोकमा रहेको लखन थापाको सालिक यस वर्ष पनि जेन-जी आन्दोलनको मौका पारेर ढलाइएको थियो । भ्रष्टाचारबिरुद्द उठेको आन्दोलनको बेलामा राप्रपाबाट घुसपैठ गरेकाहरूले सालिक राजनीति गर्दै त्यहाँ भएको लखन थापाको सालिक डोजर लगेर भत्काएर तत्कालै पृथ्वीनारायणको सालिक ठड्याएका हुन् । तर पृथ्वीनारायणको सालिक ठड्याएको ५ दिन पनि नबित्दै पुनः आदिवासी जनजातिहरूले आइतबार लखन थापाकै सालिक पुनर्स्थापना गरे ।

पृथ्वीचोक कुनै बेला चाईनाचोक भनेर चिनिन्थ्यो । यो चोकमा करिब ८० वर्ष अगाडि नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सालिक स्थापना गरिएको थियो । तत्पश्चात् यो चोक पृथ्वी चोकका नामले चिनियो । तर २०६२÷६३ को दोस्रो जनआन्दोलनका क्रममा शासकबिरुद्द आक्रोशित भीडले पृथ्वीचोकको पृथ्वीनारायण शाहको सो सालिक पनि ढालिदिए ।

दोस्रो जनआन्दोलन पछिको एक वर्षसम्म त्यहाँ कसैको पनि सालिक रहेन । तर पहिचानको आन्दोलनका क्रममा आदिवासी जनजातिहरूले त्यहाँ प्रथम सहिद लखन थापाको सालिक राखे । तत्कालीन समयमा पहिचानको मुद्दा स्थापित गर्ने भन्दै आन्दोलित उनीहरुले सालिक मात्र ठड्याएनन् बरु उक्त चोकको नाम नै फेरेर लखनचोक नामाङ्करण गरे । पछि २०६५ सालमा २४० वर्षदेखिको राजसंस्था ढलेर नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि यो विषय त्यत्तिकै ओझेल प¥यो ।

२०७४ सालमा भने पोखरा महानगरपालिकाले सालिकका कारण चोक साँघुरो भएको र यही कारण सवारी जाम बढेको भन्दै पोखराका सबै चोकका सालिक हटाउने निर्णय ग¥यो । सोही निर्णय अनुसार लखन थापाको सालिक पनि भत्काइयो । तर आदिवासी जनजातिहरूले प्रथम सहिद लखन थापाको सालिक भत्काएर आफूहरूको अपमान गरेको भन्दै विरोध जनाए र महानगरबिरुद्द प्रदर्शनमा उत्रिए । तत्कालीन पोखरा महानगरपालिकाका प्रमुख (मेयर) मानबहादुर जिसीले दबाब थेग्न सकेनन् र २४ घण्टा भित्र लखन थापाको सालिक पुनर्स्थापना गर्ने सहमति गरे ।  

सो सहमतिको क्षेत्री समाजले विरोध जनायो । महानगरले क्षेत्री समाजसँग आदिवासी जनजातिसँग गरेको सहमतिबाट ब्याक हुँदै सो चोकमा न लखन थापा नत पृथ्वीनारायण शाह कसैको पनि सालिक नराख्ने सहमति ग¥यो ।

सहमतिबाट महानगर ब्याक भएपछि आक्रोशित मगर समुदायले २०७५ सालको जनयुद्ध दिवस फागुन १ गतेको अवसर पारेर रातको समयमा लखन थापाको सालिक पुनः ठड्याएको थियो । त्यसयता निरन्तर रहेको सालिक जेन-जी आन्दोलनको मौका छोपेर हटाएकोप्रति आदिवासी जनजातिहरू रुष्ट छन् ।

तमु धिँ नेपालका अध्यक्ष हुम तमु प्रथम सहिद लखन थापालाई सम्मानित रुपमा राख्नुपर्ने बताउँछन् । कुत्सित मनसाय र उद्देश्य राखेर प्रथम सहिदको सालिक भत्काउने, हटाउने गर्नू गलत हो,उनले भने,‘बरु व्यवस्थित बनाउन सर्वदलीय, सर्वपक्षीय छलफलमार्फत दीर्घकालीन निकास निकाल्नुपर्छ । त्यसका लागि हामी तयार छौँ ।’

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले पृथ्वी चोकको सालिक राजनीतिले आजित भएको बताउँछन् । दुबै पक्षले महानगरसँग सालिक राख्ने विषयमा एक पटक पनि नसोधेको उनले स्पष्ट पारे । ‘एउटाले आन्दोलनको मौका छोपेर लखन थापाको सालिक हटाएर पृथ्वीनारायणको राख्यो, त्यसको ५ दिन नबित्दै अर्को पक्षले लखन थापाको पुनर्स्थापना ग¥यो । यी दुबै हुँदा महानगरसँग न समन्वय भयो, नत सहमति नै लिएको छ’–उनले भने । उनले पोखरा–मुग्लिङ सडक खण्डमा परेकाले त्यहाँको सालिक व्यवस्थापन गर्नुको विकल्प नभएको बताए । त्यो भनेको ज्ञारजातीमा रहेको सहिद तथा विभूति पार्कमा लैजाने भन्ने रहेको उनको भनाई छ ।

प्रकाशित: ३१ भाद्र २०८२ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App