१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

भालुबाट अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती

घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली भालुको आतङ्कले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन गस्तीमा खटिने गरेका छन्। 

यहाँका किसानले उत्पादन गरेको स्याउलगायत अन्नबाली भालु पसेर खाइदिएपछि चिमाङ गाउँमा पाँचपाँच जनाको सातवटा समूह बनाएर पालैपालो भालुको गस्ती गर्न थालेका छन्।  

स्थानीय सुकबहादुर विश्वकर्माका अनुसार यहाँका किसानलाई भालुले अन्नबाली सखाप पारेर सास्ती दिएको छ। एक्याप संरक्षित क्षेत्रमा हिमाली वन्यजन्तु कालो भालु र मानवबिचको द्वन्द्व बढ्दै जान थालेको छ। समुद्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको चिमाङ गाउँ बेनी–जोमसोम सडकमार्गको कालीगण्डकी पारि अग्लो भिरालो स्थानमा अवस्थित छ। घनाजङ्गलको फेदमा अवस्थित त्यहाँका किसानलाई खेतबारीमा लगाएको अन्नबाली जोगाउन धौधौ परेको छ। त्यहाँ उवा र जौं बाहेक सबै अन्नबाली भालुले सखाप पारिदिने गरेको छ।  

अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय मातहतमा रहेको चिमाङ गाउँमा हिमाली कालो भालुको जत्थाले किसानले उत्पादन गरेको बालीनाली सखाप पारिदिन थालेपछि किसान चिन्तित बनेका छन्। यो समस्या यहाँका किसानले वर्षौंवर्षदेखि झेल्दै आएका छन्। किसानले उत्पादन गरेको स्याउ, फापर, मकै, सिमी र हरियो ताजा तरकारीलगायत अन्नबाली कालो भालु रातको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको स्थानीय किसानको भनाइ छ।  

घरपझोङ गाउँपालिकाले किसानको खेतबारीमा ग्याविनसहित तारजाली लगाएको थियो। तर यहाँ बनाइएको घेराबार तारजालीमाथि उक्लिएर भालुले खेतबारीमा लगाएको अन्नबाली नोक्सान पारिदिएको घरपझोङकी कार्यपालिका सदस्य मनि विश्वकर्माले जानकारी दिए। चिमाङ गाउँ कृषि उत्पादनमा निकै सम्भावना भएको गाउँ हो। यहाँका किसान कृषिमा आत्मनिर्भर छन्। 

तर, यहाँको मुख्य आम्दानीको रूपमा रहेको कृषि व्यवसायलाई भालुको आतङ्कले दुःख दिन थालेपछि किसान समस्यामा परेका छन्। भालुको आतङ्क रोक्न गाउँका खेतबारीमा लगाएको तारजालीले काम नगरेपछि त्यसको विकल्पमा एक्याप जोमसोमले गत वर्ष भालु धपाउने यन्त्र जडान गरेको कार्यपालिका सदस्य विकले बताए। तर, त्यस प्रकारको यन्त्रले पनि भालुको आतङ्क रोक्न असफल भएको उनको भनाइ छ।  

चिमाङ गाउँका खेतबारीमा तारजाली र भालु धपाउने यन्त्र जडान गरे पनि त्यसले काम नगरेपछि त्यहाँका किसानले छ–सात जनाको समूह बनाएर दैनिक हेरालो बस्न सुरु गरेका थिए। एक्यापले भालु नियन्त्रण गर्न तीन जना कर्मचारीको पारिश्रमिकबापत एक लाख ३० हजार बजेट विनियोजन गरेको थियो। तर भालु नियन्त्रण गर्न तीन कर्मचारीले मात्र नपुगेपछि छ–सात जनाको समूह बनाएर पारिश्रमिक बाँडफाँट गर्दै खेतबारीमा आएको भालु धपाउने गरेको विश्वकर्माले बताए।  

किसानले कृषि उपजको संरक्षण गर्न एक्याप जोमसोमले परीक्षणका रूपमा विद्युतीय तारजाली निर्माण गरेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए। सौर्य ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह हुनेगरी भालु नियन्त्रण गर्न एक हजार २७० मिटर क्षेत्रफलमा विद्युतीय घेराबार निर्माण गरेको कार्यालय प्रमुख गुप्ताले बताएका छन्। 

उनले यस कार्यका लागि चार लाख बजेट खर्च भएको जानकारी दिए। चिमाङ गाउँमा मात्र होइन, भालुले थासाङ गाउँपालिकामा पनि बर्सेनि भालुको आतङ्कले किसानको बालीनाली सखाप पारिदिने गरेको छ। यहाँको कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउराली, सौरु, सिर्खुम र नाउरिकोटलगायत स्थानमा कालो भालुको आतङ्कले किसानलाई निकै सास्ती दिने गरेको छ। रासस

प्रकाशित: १५ भाद्र २०८२ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App