१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष स्थापना भएको छ। स्थलमार्गबाट म्याग्दी भित्रने नाकामा रहेको कालीपुल बसपार्कदेखि म्याग्दीबाट लामो र छोटो दूरीका यातायातका साधनहरू सञ्चालन हुन्छन्।

चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले बसपार्कमा रहेको ट्राफिक कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए।

चाडपर्वमा सर्वसाधारणसँगै मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटक र यातायात व्यवसायीलाई सहयोग र सहजिकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको उनले बताए।

सहायता कक्षमा दसैँ, तिहार र छठ पर्वको अवधिभर नियमित रूपमा सुरक्षाकर्मीको उपस्थिति हुनेछ। चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सर्वसाधारण यात्रुलाई सार्वजनिक यातायातका साधनमार्फत यात्रा गर्दा आइपर्ने समस्या हटाउन मालिका गाउँपालिकाको केन्द्र दरवाङमा पनि सहायता कक्ष सञ्चालन गरिने प्रनाउ थापाले बताए।

सहायता कक्षको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले चाडपर्वको समयमा सर्वसाधारणलाई सहज र सुरक्षित रूपमा यात्रा गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायी र सुरक्षाकर्मीलाई आग्रह गरे।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल परियारले सहायता कक्ष सञ्चालनका साथै दुर्घटना न्यूनीकरणका लागि नियमित जाँचलाई निरन्तरता दिएको बताए। रासस

प्रकाशित: ६ आश्विन २०८२ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App