१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

६ महिनामै बन्यो पालुङटारको चुक्तीखोला मोटरेबल पुल

सांकेतिक तस्बिर

जिल्लाको पालुङटार नगरपालिका–९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम ६ महिनामा नै सम्पन्न भएको छ। गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल निर्माणको काम यही पुस मसान्तमा सम्पन्न भएको हो।  

तीन करोड ४१ लाख ४२ हजारको लागतमा पुल निर्माणको सम्झौता भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताए। उनका अनुसार कार्यालयले ठेकेदार कम्पनीसँग १८ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौँता गरेको थियो।  

‘निर्माण कम्पनीले ठेक्का सम्झौँता भएको ६ महिनाभित्रै काम सम्पन्न गरेको छ’, उनले भने। पुलको लम्बाइ २० मिटर छ भने चौडाइ ८.४० मिटर रहेको छ। पालुङटारको तल्लो सेरा र माथिल्लो सेरा जोड्ने चुक्तीखोला पुल निर्माण सम्पन्न भएसँगै त्यहाँका स्थानीयले राहतको सास फेरेका छन्। यसअघि पक्की पुल नहुँदा सेराका बासिन्दा काठे पुल हालेर आजतजावत गर्न बाध्य थिए ।  

बर्खाको बेलामा विद्यार्थीलाई विद्यालयसम्म पुग्न पनि कठिनाई हुने गरेको पालुङटार नगरपालिका–९ का वडाअध्यक्ष भोजराज पाण्डे बताउछन्। ‘जिल्लामा विकास निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने प्रवृत्ति कायमै छ। यसरी निर्धारित समय अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन गर्नुपर्छ’, उनले भने। मोटरेबल पुल बनेपछि आवतजावतसँगै कृषि सामग्री ढुवानी गर्न समेत सहज हुने छ।

प्रकाशित: २६ माघ २०८२ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App