वर्षा याममा सधैं टाउकोदुखाइको विषय बनेको मुग्लिन–नारायणघाट सडक खण्डको विकल्पमा सडक विभागले त्रिशूलीपारि समानान्तर सडक निर्माणको योजना बनाएको छ। त्यसका लागि रेखाकंकनको काम भइरहेको सडक विभागको भनाइ छ।
विभागका महानिर्देशक डा. विजय जैशीले मुग्लिन–नारायणघाट सडकखण्डको विकल्पमा त्रिशूलीपारि समानान्तर सडक निर्माण गर्न विभागबाट रेखांकनको काम भएको बताए। ‘मुग्लिन–नारायणघाट खण्डमा त्रिशूलीपारि समानान्तार सडक निर्माण गर्न स्थानीय तहबाट ठाउँठाउँमा ट्र्याक खन्ने काम भइरहेको छ। सम्बन्धित सडक डिभिजनहरूले पनि काम गरिरहेका छन्,’ डा. जैशीले भने, ‘यसका साथै विभागबाट समानान्तर सडक निर्माण गर्न रेखांकनको काम भइरहेको छ।’
त्यस क्षेत्रमा सबै ठाउँमा ट्र्याक खन्ने काम पूरा भए विभागले औपचारिक रूपमै काम सुरु गर्ने उनको भनाइ छ।
त्यस क्षेत्रमा पटकपटक पहिरो किन जान्छ?
त्यस क्षेत्रमा सानो वर्षा हुँदा पनि पटकपटक पहिरो जाने गर्छ। नारायणगढको पोखरा बसपार्कदेखि मुग्लिनसम्मको ३५ किलोमिटर सडक भौगलिक दृष्टिकोणले जोखिमपूर्ण र संवेदनशील छ। यसको स्तरोन्नति गरिसकेपछि पनि यस खण्डमा हालसम्म पटकपटक पहिरो गइसकेको छ।
२०७९ सालमा दुई अर्बभन्दा बढी रुपैयाँ खर्च गरेर साढे दुई वर्षमा यस सडकको स्तरोन्नति गरिएको थियो। सन् २०१६ जनवरीबाट काम सुरु भई सन् २०१८ अगस्टमा स्तरोन्नतिको काम सकिएको थियो। स्तरोन्नतिपछि यस सडकखण्डको साढे पाँच मिटर चौडाइलाई बढाएर नौदेखि ११ मिटरसम्म पुर्याइएको थियो। वर्ल्ड बैंकको आर्थिक लगानीमा उक्त सडककको स्तरोन्नति गरिएको हो।
सडक डिभिजन चितवनका प्रमुख नारायण लामिछानेका अनुसार यस वर्ष वर्षायाममा उक्त सडकखण्डमध्ये तुइनखोला, जलबिरे, सेतीदोभान लगायत चार ठाउँमा पटकपटक पहिरो गएको छ र पटकपटक सडक अवरुद्ध भएको छ। उनले भने, ‘तीमध्ये तुइन खोलामा स्थायी रूपमै पहिरो रोक्ने उद्देश्यले सडक डिभिजन चितवनले २२ करोड रुपैयाँमा काम सुरु गरेको छ।’
उनका अनुसार सडक अवरुद्ध हुनेबित्तिकै एक दुई घण्टामै पहिरो हटाउने गरिएको छ। विभागका महानिर्देशक डा. जैशीले भौगोलिक दृष्टिकोणबाट मुग्लिन नारायणघाट सडकको भूगोल कमजोर रहेको र उक्त सडकखण्डभन्दा माथि स्थानीय तहबाट जथाभाबी प्लटिङ निर्माण तथा सडकको ट्र्याक खन्ने गरिएकाले उक्त क्षेत्रमा सानो वर्षा हुँदा पनि पहिरो जाने गरेको बताए।
इन्जिनियरिङमै त्रुटि
भौगोलिक दृष्टिकोणबाट नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो र भूकम्पको सधैं जोखिम भइरहने भएकाले त्यसअनुसार यस सडकलाई सुरक्षित बनाउन डिजाइनिङ र भूप्रविधि इन्जिनियरिङमा ख्याल नपुगेको विज्ञहरू बताउँछन्। ‘बिपी राजमार्ग बनाउन जसरी जिओलोजिकल इन्जिनियरिङ गरियो र सडकलाई सुरक्षित बनाउन ठुलो लगानी गरियो त्यसैले त्यस खण्डमा पहिरो गएको घटना कम आउने गर्छ,’ भूप्रविधि विज्ञ तथा पूर्वाधार विकास मन्त्रालयका एक पूर्व सहसचिवले भने, ‘तर अत्यन्त जोखिमपूर्ण भूगोल र कमजोर चट्टान भएको नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नति गर्दा यसको भौगोलिक संवेदनशीलतालाई त्यति ख्याल गरिएन।’
उनका अनुसार मुग्लिन–नारायणगढ राजमार्ग भूगोलका हिसाबले यस्तो रेखामा बनेको छ, त्यसको भूगोलमुनि तिब्बतियन प्लेट र इन्डियन प्लेट आपसमा जुध्ने गरेका छन्। तिब्बतियन प्लेटमाथि र इन्डियन प्लेट तल रही माथिको प्लेटले तलको प्लेटलाई धकेल्ने गर्छ। हिमालय क्षेत्रको करिब २२ सय किलोमिटर भूगोल भूकम्पीय दृष्टिकोणले सधैं जोखिमपूर्ण छ। त्यही जोखिमपूर्ण रेखानजिकै मुग्लिन–नारायणगढ सडकखण्ड रहेको विज्ञहरूको भनाइ छ।
‘दुई प्लेटबिचको आपसी जुधाइले त्यहाँको चट्टान कमजोर बनेको छ। माटो पनि उत्तिकै कमजोर छ। यस्तो संवेदनशील भूगोलमा बनेको सडकको इन्जिनियरिङ डिजाइन गर्दा अन्य भूगोलभन्दा बढी संवेदनशील हुनुपथ्र्यो, त्यति भएन कि ?’ उनले भने।
विज्ञका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको भूगोल एमसिटी (मेन सेन्टर थस्र्ट) र एमबिटी (मेन बाउन्ड्री थर्स्ट ) को लाइनमा पर्छ। यी दुई रेखा हुन्। एमसिटी इन्डियन र तिब्बतियन प्लेटको सिमाना हो भने एमबिटी महाभारत पर्वत र चुरेबिचको सिमाना हो। यतिबेला एमबिटी लाइन सक्रिय भएको विज्ञहरू बताउँछन्। त्यसैले त्यस क्षेत्रको भूगोल बलियो छैन। यही कारण त्यस क्षेत्रमा माटो, ढुंगा कमजोर भई सधैं पहिरो जाने जोखिम भइरहन्छ। त्यसकारण यस क्षेत्रको जलाधारा क्षेत्रमा संरचना निर्माण गर्दा सडकलाई असर पर्ने गरी निर्माण गर्न नहुने विज्ञहरूको सुझाव छ।
सामान्यतया सडक क्षेत्रभन्दा दायाँबायाँ २५/२५ मिटर बाहिरसम्मको क्षेत्रलाई राजमार्गले ओगट्ने गर्छ। त्यसैले सडक निर्माण गर्दा या स्तरोन्नति गर्दा मूल सडकभन्दा २५/२५ मिटर बाहिरसम्मको क्षेत्रलाई हेरेर संरचना बनाउने गरिन्छ तर भूगोलको अवस्था हेरेर सडकभन्दा ४०/५० मिटरसम्म हेर्ने गरिन्छ।
प्रकाशित: ८ श्रावण २०८३ १२:०० शुक्रबार





