काठमाडौंको नागार्जुन नगरपालिका-७, रामकोटस्थित रत्न राज्य स्कूल नजिक सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो ३:२० बजेको समयमा चितवन, इच्छाकामना गाउँपालिका-४ घर भई बस्ने ४८ वर्षीय हिरालाल सुनारले चलाएको बा.प्र.०१-०२६ च २६०५ नम्बरको डि.आई. गाडीले रामकोट घर भएका ३५ वर्षीय कृष्ण थापाले चलाएको बा ६५ प ६१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक थापाको टाउको र दाहिने हातमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारका लागि लगिएको थियो। बोल्न नसक्ने अवस्थामा रहेका थापालाई थप उपचारका लागि साँझ ५:०० बजे ललितपुरको बीएन्डबी अस्पतालमा स्थानान्तरण गरिएको थियो। तर सोही दिन राति ८:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीले ठक्कर दिने गाडी र चालक हिरालाल सुनारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरी नायब निरीक्षक निरज पौडेलको कमान्डमा ५ जनाको टोलीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनास्थलमा ३:३५ बजे पुगेर अनुसन्धान थालेको थियो। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २७ असार २०८२ २२:१६ शुक्रबार





