२२ असार २०८३ सोमबार
image/svg+xml
समाज

क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न

गरिब तथा विपन्न क्षयरोगका बिरामीलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ।

विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्थामा उपचार गरी घरमै बसेर औषधि सेवन गर्दै आएका बिरामीहरूलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो।

नेपाल क्षयरोग निवारण संस्था (नाटा) ले ‘क्षयरोगका बिरामीहरूलाई उपचारको ६ महिना अवधिभर पोषण खाद्यान्न सहयोग कार्यक्रम २०२६’ अन्तर्गत बिरामीहरूलाई राहत सामग्री प्रदान गरेको जनाएको छ।

गत फागुन महिनादेखि सञ्चालनमा आएको यस कार्यक्रममार्फत हाल ८ जना अति विपन्न क्षयरोगीहरूले नियमित रूपमा पोषणयुक्त खाद्यान्न प्राप्त गरिरहेका छन्।

बिरामीको स्वास्थ्य अवस्था सुधार्न र औषधिको प्रभावकारिता बढाउनका लागि वितरण गरिएको खाद्यान्न प्याकेजमा प्रदान गरिएको नाटाले जनाएको छ। बिरामीहरूलाई २५ केजी चामल, दाल, चना, १ क्रेट अण्डा, न्युटेला (सोयाबिन), खाने तेल र सर्वोत्तम पिठो वितरण गरिएको हो।

बीएनएमटी नेपाल र सावित्रा बस्न्यात फण्ड फर टीबीले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। कार्यक्रममा बोल्दै बीएनएमटीका कार्यक्रम संयोजक रामप्रसाद कोइरालाले भने, ‘क्षयरोगको औषधि सेवन गरेपछि शरीरलाई तागतिलो खानाको आवश्यकता पर्छ। पैसाको अभावमा खाना खान नपाएर बिरामीले औषधि नछोडुन् भन्ने उद्देश्यले हामीले यो सहयोग सुरु गरेका हौँ। गरिब तथा विपन्न बिरामीहरूलाई छनोट गरी खाद्यान्न वितरण गरिएको हो।’

त्यस्तै, नाटाका केन्द्रीय कार्यवाहक अध्यक्ष राजन श्रेष्ठले विगत ४०–४५ वर्षदेखि नाटा र बीएनएमटीबीच सहकार्य हुँदै आएको बताए। उनले न्यून आय भएका व्यक्तिले पोषणयुक्त खाना खान पाएमा रोग चाँडै निको हुने र औषधि सेवनमा निरन्तरता रहने विश्वास व्यक्त गरे।

नाटा मोरङका कार्यवाहक अध्यक्ष भैरव क्षेत्रीले बीएनएमटीसँगको यो ऐतिहासिक सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताए। उनले क्षयरोग निवारणका लागि औषधि मात्र पर्याप्त नहुने र उचित खानपानको पनि उत्तिकै भूमिका हुने भएकाले यस कार्यक्रमले बिरामीहरूलाई ठुलो राहत मिलेको छ। 

प्रकाशित: २२ असार २०८३ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App