२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

बालेन र रविको भ्रम आधाआधी चिरिइसक्यो, आगामी चुनावमा एमाले पहिलो पार्टी बन्छ: महेश

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति नागरिकमा रहेको भ्रम चिरिन थालेको दाबी गरेका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव बस्नेतले आगामी स्थानीय निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने समेत दाबी गरे।

प्रधानमन्त्री बालेन शाहका पछिल्ला गतिविधि र अलोकप्रिय कामहरूका कारण सामाजिक सञ्जालमा उनकै विरोध हुन थालेको बस्नेतको भनाइ छ। ‘हिजो सामाजिक सञ्जालमा जसको पक्षमा वाह-वाह हुन्थ्यो, आज तिनै युवाहरूले छ्या-छ्या भन्न थालेका छन्,’ बस्नेतले भने, ‘युवा पुस्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली, सुकुमवासी र गरिब किसानहरूमा रहेको भ्रम अब आधाआधी चिरिइसकेको छ। आगामी चुनावसम्म यो भ्रम पूर्ण रूपमा समाप्त भई एमाले पहिलो शक्ति बन्नेछ।’

बस्नेतले सामाजिक सञ्जालको ‘एल्गोरिदम’ मार्फत अराजकता र अवसरवाद फैलाएर राष्ट्रिय संयन्त्रहरूलाई कमजोर बनाउन खोजिएको आरोप लगाए।

बालेनले संविधान संशोधनमार्फत कार्यकारी प्रणाली ल्याई आफैं त्यसमा उम्मेदवार बन्ने महत्त्वाकांक्षा बोकेको उनको दाबी छ। संघीयता बलियो बनाउने भाषण गर्ने बालेनले अहिले संघीयता खारेजीको चेतावनी दिन थालेको बस्नेतले उल्लेख गरे।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनलाई लक्षित गर्दै बस्नेतले त्यसलाई गाईजात्रा भने। रास्वपाले आफूलाई डिजिटल र आधुनिक पार्टी दाबी गरे पनि पदाधिकारी मनोनीत गर्ने शैली अलोकतान्त्रिक रहेको उनको आरोप छ।

‘१९ जनामध्ये १२ जना मनोनीत गर्ने शैली अलोकतान्त्रिक हो,’ उनले थपे, ‘४२ सय प्रतिनिधिमध्ये ६२ प्रतिशतले मात्र केन्द्रीय सदस्यमा र ३४ प्रतिशतले पदाधिकारीमा भोट हाले। यसले उनीहरूको आधुनिक पार्टीको दाबी खण्डित गरेको छ।’

सुकुमवासी र अपाङ्गता भएका नागरिकको प्रसङ्ग उठाउँदै बस्नेतले सरकारले बर्खाको समयमा सुकुमवासीका घर भत्काएर उनीहरूलाई अलपत्र पारेको बताए।

‘अहिले सुकुमवासी र दृष्टिविहीन साथीहरूले समेत बालेन र रविभन्दा केपी ओली नै ठीक रहेको बताउन थालेका छन्,’ बस्नेतले भने। आन्दोलनकारीहरूलाई एमालेले उचालेको भन्ने आरोपको खण्डन गर्दै उनले आफ्नो विरोध गर्ने जति सबैलाई एमालेसँग जोड्नु विरोधीहरूको स्वाभाविक प्रतिक्रिया मात्र भएको बताए।

प्रकाशित: २० असार २०८३ १७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App