२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

अमेरिकी स्टार बालोगुनको रातो कार्ड उल्टियो, फिफाको निष्पक्षतामाथि प्रश्न

संयुक्त राज्य अमेरिकाका स्टार फरवार्ड फोलारिन बालोगुनमाथि लगाइएको एक खेलको निलम्बन फिफाले हटाएपछि विश्वकपको रातो कार्ड प्रणालीलाई लिएर नयाँ बहस सुरु भएको छ।

बोस्निया–हर्जेगोभिनाविरुद्धको अन्तिम ३२ को खेलमा रातो कार्ड पाएर मैदान छाडेका बालोगुन अब सोमबार हुने बेल्जियमविरुद्धको अन्तिम १६ को खेल खेल्न पाउने भएका छन्। प्रतियोगितामा तीन गोल गरिसकेका उनी अमेरिकाका सर्वाधिक गोलकर्ता हुन्।

फिफा अनुशासन समितिले आइतबार जारी गरेको निर्णयअनुसार २५ वर्षीय स्ट्राइकर बालोगनमाथि स्वतः लाग्ने एक खेलको प्रतिबन्ध स्थगित गरिएको छ।

विश्वकप इतिहासमा हालसम्म १८९ खेलाडीले रातो कार्ड पाएका छन्। तीमध्ये निलम्बनबाट उन्मुक्ति पाउने खेलाडीको संख्या भने अत्यन्तै कम छ।

यसअघि सन् १९६२ मा ब्राजिलका गारिन्चालाई सेमिफाइनलमा रातो कार्ड देखाइए पनि उनले फाइनल खेल्न पाएका थिए। त्यतिबेला स्वचालित निलम्बनको व्यवस्था नभएकाले फिफा अनुशासन समितिले उपलब्ध प्रमाणका आधारमा निर्णय गरेको थियो।

यसपटक भने बालोगुनको निलम्बन हटाउने निर्णयले विभिन्न प्रश्न जन्माएको छ। प्रतियोगितामा रातो कार्ड पाएका अन्य ११ खेलाडीले एक खेलको निलम्बन भोगिसकेका छन्, तर बालोगुनलाई मात्र किन छुट दिइयो भन्ने विषय चर्चामा छ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग टेलिफोनमा कुराकानी गरेपछि बालोगुनको मामिलामा पुनर्विचार भएको दाबी गरिएको छ। यद्यपि फिफाले यसबारे औपचारिक रूपमा राजनीतिक प्रभाव परेको स्वीकार गरेको छैन।

यस निर्णयले भविष्यमा रातो कार्डपछि हुने स्वचालित निलम्बनका विषयमा थप अपिल र विवाद बढ्न सक्ने विश्लेषण गरिएको छ।

यदि एउटै प्रकृतिका घटनामा फरक–फरक निर्णय हुन थाले भने फिफाको अनुशासन प्रणालीको निष्पक्षतामाथि प्रश्न उठ्ने खेल विश्लेषकहरूको भनाइ छ।

अब सबैको ध्यान फिफाले यस निर्णयबारे दिने थप स्पष्टिकरण र यसले भविष्यका प्रतियोगितामा पार्ने प्रभावतर्फ केन्द्रित भएको छ।

प्रकाशित: २२ असार २०८३ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App