५ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

नागरिकको मुख थुनेर अधिनायकवाद लाद्ने प्रयास हुँदैछ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले नागरिकका अधिकारमाथि हस्तक्षेप गर्दै अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजिरहेको आरोप लगाएका छन्।

सोमबार कांग्रेस केन्द्रीय नीति प्रतिष्ठानले आयोजना गरेको ४४औँ बीपी स्मृति दिवसको तयारीसम्बन्धी वृहत् छलफल बैठकलाई सम्बोधन गर्दै थापाले राज्य नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नतर्फ उन्मुख भएको बताए।

‘राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको छ,’ उनले भने।

थापाले पार्टी नेताका घर, सञ्चारमाध्यमका कार्यालय तथा व्यवसायीका प्रतिष्ठानअगाडि सवारीसाधन तेर्स्याएर नागरिकको निजी सम्पत्ति, रोजीरोटी र जीवनमा क्षति पुर्‍याउने अधिकार राज्यलाई नभएको जिकिर गरे।

‘पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडी तेर्स्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पुर्‍याउने कुनै अधिकार राज्यले राख्दैन,’ उनले भने।

थापाले आफ्नो निवासअगाडि पनि सोमबार गाडी तेर्स्याइएको उल्लेख गर्दै त्यसमा संलग्न व्यक्तिहरू सरकारी गाडी प्रयोग गरेर फर्किएको जानकारी स्थानीय बासिन्दाबाट प्राप्त भएको दाबी गरे।

सरकारले कानुनले उपलब्ध गराएको समाधानको बाटो नअपनाई आफैँ समस्या सिर्जना गरिरहेको आरोप लगाउँदै उनले मानव जीवनको संरक्षणमा राज्य असफल भएको टिप्पणी गरे।

‘सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्नुपर्नेमा मानव जीवनको रक्षाबाट विमुख र करुणाविहीन भएको छ,’ थापाले भने।

कांग्रेस केन्द्रीय नीति प्रतिष्ठानद्वारा आयोजित उक्त छलफलमा उपत्यकामा रहेका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, उपत्यकाका जिल्ला सभापति तथा प्रतिष्ठानका सदस्यहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २९ असार २०८३ १८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App