१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भोटेकोशी बाढीले बगाएर भारत पुर्‍याएका ९ शव नेपाल ल्याइयो

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर भारत पुर्‍याएका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ।

भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका विभिन्न थाना क्षेत्रमा फेला परेका ती शवहरू सुनौली नाका हुँदै नेपाल ल्याएर रूपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियालाई बुझाइएको हो।

भारतीय प्रहरीले मङ्गलबार साँझ पाँच वटा र आज बुधबार अपराह्न चार वटा शव नेपालतर्फ ल्याएको हो। हस्तान्तरण गरिएका शवहरूमा एक बालिकासहित चार महिला र पाँच पुरुष रहेका छन्।

बेलहियामा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सबै शवलाई पोस्टमार्टम र पहिचानका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ।

भारतको खड्डा थानाका सब-इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदीको ठोकर नम्बर-३ नजिक पर्ने मदनपुर सुक्रौली क्षेत्रको नदी किनारमा यी शवहरू फेला परेका थिए। उक्त स्थान नेपाल–भारत सीमाको गण्डक बाँधबाट करिब ३५ किलोमिटर टाढा पर्छ।

बुधबार हस्तान्तरण गरिएका चार शवमध्ये ९ देखि १२ वर्ष उमेर समूहकी एक बालिका, ३५ देखि ४० वर्षकी महिला, ४० देखि ४५ वर्षका पुरुष र दाहिने हातमा ‘दशरथ जङ्गे’ भनेर ट्याटु खोपिएका २३ देखि २८ वर्षका एक युवक रहेका छन्।

पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवका अनुसार, नदीमा भेटिएका शवलाई सुरक्षित राखेर पञ्चनामा तयार गरिनुका साथै भारतको गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको थियो।

मृतकहरूको पहिचान खुलाउन सहज होस् भनेर शवबाट डीएनए परीक्षणका लागि आवश्यक नमुना लगायतका प्रमाणहरू सुरक्षित राखिएको यादवले जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०८३ २१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App