बाजुराको प्रसिद्ध धार्मिकस्थल बडिमालिका पुगेर परम्परागत पूजा सम्पन्न गरेको जुम्लाको सरकारी टोली १८ दिनपछि बुधबार सदरमुकाम खलंगा फर्किएको छ। टोली फर्किएसँगै खलंगा बजारमा धार्मिक उत्सवजस्तै माहोल देखिएको थियो। नेपाली सेनाको सलामी, सुरक्षा अधिकारीको उपस्थिति, बाजागाजा, फूलमाला र अबिरसहित टोलीको भव्य स्वागत गरिएको हो।
बडिमालिकाबाट ल्याइएको डोलीलाई बाजागाजासहित खलंगा बजार परिक्रमा गराउँदै चन्दननाथ–भैरवनाथ मन्दिर हुँदै दरबार मालिका मन्दिरमा पुर्याएर विधिपूर्वक बुझाइएको थियो।
जिल्ला प्रशासन कार्यालय जुम्लाका खरिदार तिलकप्रसाद तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय सरकारी टोली १८ दिनअघि बडिमालिकाका लागि प्रस्थान गरेको थियो। टोलीमा बडिमालिका पुजारी विष्णुप्रसाद उपाध्याय (रेग्मी)सहित स्थानीय भक्तजनसमेत सहभागी थिए।
टोली प्रमुख तिमिल्सिनाका अनुसार तत्कालीन जुम्ला राज्य र डोटी राज्यले संयुक्त रूपमा बडिमालिकामा पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै हरेक वर्ष जुम्लाबाट सरकारी टोली बडिमालिका जाने गरेको छ।
बडिमालिकाको पूजा सम्पन्न गरेपछि टोली मुगु हुँदै जुम्ला फर्किएको थियो। जुम्ला प्रवेश गर्ने क्रममा टोलीले कनकासुन्दरी मन्दिरमा समेत पूजा गरेको थियो।
सेनाको सलामीसहित स्वागत
बुधबार सदरमुकाम खलंगा पुगेको टोलीलाई नेपाली सेनाको टुँडिखेल मैदानमा औपचारिक रूपमा स्वागत गरिएको थियो। नेपाली सेनाको टुकडीले टोलीलाई सलामी दिएको थियो।
स्वागत कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी महत (कठायत), प्रमुख प्रशासकीय अधिकृत नवराज जोशी, प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण जुम्लाका गणपति एसपी देवबहादुर बोहोरा, देविदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी राजु केशीलगायत सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको उपस्थिति थियो।
सलामीपछि बडिमालिकाबाट ल्याइएको डोलीलाई बाजागाजासहित खलंगा बजार परिक्रमा गराइएको थियो। डोलीलाई चन्दननाथ–भैरवनाथ मन्दिर हुँदै दरबार मालिका मन्दिर पुर्याएर विधिपूर्वक बुझाइएको पुजारी विष्णुप्रसाद उपाध्याय (रेग्मी)ले बताए।
भक्तजनले गरे फूलमाला र अबिरसहित स्वागत
सरकारी टोली फर्किएको खबरसँगै जुम्लाका विभिन्न गाउँबाट भक्तजनसमेत खलंगा पुगेका थिए। उनीहरूले टोलीका सदस्यलाई फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए।
जुम्लाबासीले दिएको ध्वजा, अक्षता तथा अन्य धार्मिक सामग्री बडिमालिका पुर्याइएको पुजारी उपाध्यायले बताए। उनका अनुसार बडिमालिका माईसमक्ष जुम्लाबासीको सुख, शान्ति र समृद्धिका साथै सबैको मनोकामना पूरा होस् भन्ने कामना गरिएको थियो।
स्थानीय चित्रलाल श्रेष्ठका अनुसार नागपञ्चमीका दिन जुम्लाबाट बडिमालिकातर्फ टोली प्रस्थान गर्ने परम्परा पुरानो हो। विगतमा अञ्चलाधीश कार्यालयको मातहतमा सञ्चालन हुँदै आएको बडिमालिका पूजा व्यवस्थापन अहिले जिल्ला प्रशासन कार्यालयको समन्वयमा हुँदै आएको छ।
पहिले तत्कालीन बडाहाकिम स्वयं टोलीको नेतृत्व गर्दै बडिमालिका जाने चलन थियो। अहिले भने जिल्ला प्रशासन कार्यालयले सरकारी प्रतिनिधि पठाउने गरेको छ।
कृष्ण जन्माष्टमीको अघिल्लो दिन फर्किने परम्परा
बडिमालिका माईको दर्शन तथा पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। कृष्ण जन्माष्टमीको अघिल्लो दिन जुम्लाबाट गएको टोली फर्किने परम्परा रहेको स्थानीय बताउँछन्। टोली फर्किएको भोलिपल्ट जुम्लामा लाखे काट्ने चलनसमेत रहेको छ।
बडिमालिकाको वार्षिक पूजाका क्रममा भगवतीलाई सुनको टीका, चाँदीको बिनायो, मुरली, काँगियो र छत्र चढाउने पुरानो परम्परा पनि निरन्तर छ।
बडिमालिका यात्रामाथि पुस्तक विमोचन
यसै अवसरमा बडिमालिका यात्राको धार्मिक तथा ऐतिहासिक महत्त्व समेटिएको पुजारी विष्णुप्रसाद उपाध्याय (रेग्मी)द्वारा लिखित ‘बडिमालिका यात्रा महिमा’ पुस्तकसमेत विमोचन गरिएको छ।
३४ पृष्ठको उक्त पुस्तकमा देवी वन्दना, बडिमालिका यात्रा महिमा, जिल्ला प्रशासन कार्यालयको भूमिका, विगतमा बडिमालिका यात्राको नेतृत्व गरेका व्यक्तिहरूको स्मरण, दरबार मालिकाको पूजा, बडिमालिका जाने पुजारीहरूको विवरण, बडिमालिका र त्रिपुरासुन्दरीको प्रसङ्ग तथा पूजाका लागि आवश्यक सामग्रीबारे जानकारी समेटिएको छ।
त्यस्तै, पुस्तकमा बडिमालिका यात्रामा पालना गर्नुपर्ने आचरण, यात्रामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको भूमिका, त्रिवेणीधाममा स्नान गरेर मात्र मालिका जानुपर्ने धार्मिक मान्यता, भगवती मालिका देवीलाई रातो झोली चढाउने परम्परा, पैदल यात्रा गर्नुको महत्त्व तथा जुम्लाको तीर्थयात्रामा बडिमालिकालाई पहिलो यात्रा मानिनुको कारणलगायतका विषय समेटिएका छन्।
बडिमालिका यात्रा जुम्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्परा भएकाले यसलाई पुस्तान्तरण गर्दै संरक्षण र प्रवर्द्धन गर्नुपर्ने स्थानीयको भनाइ छ।
प्रकाशित: १७ भाद्र २०८३ २०:४४ बुधबार





