१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

नारायणीबाट निकालिएका १४५ शव बर्दघाट र सुनवलका जंगलमा व्यवस्थापन

भोटेकोशीमा आएको बाढीका कारण पश्चिम नवलपरासीस्थित नारायणी नदीमा फेला परेका शवहरूको व्यवस्थापन सुरु गरिएको छ। नवलपरासीको गण्डक क्षेत्रमा मात्रै बुधबारसम्म १८१ वटा शव फेला परेका छन्। तीमध्ये पाँचवटा शवको सनाखत भइसकेको छ।

नारायणी नदीले बगाएर भारत पुर्‍याएका थप १४ वटा शवसमेत भारतीय प्रहरीले नवलपरासी प्रहरीलाई बुझाएको छ। यससँगै नवलपरासीमा प्राप्त शवको संख्या १९५ पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाका अनुसार १९५ शवमध्ये १४५ शवको डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ।

नारायणी नदीबाट निकालिएका शवहरू केही दिनसम्म पहिचानका लागि सुरक्षित राखिएको थियो। तर, पानीले भिजेका तथा क्षतविक्षत अवस्थामा रहेका शवहरू लामो समयसम्म राख्दा कुहिने तथा थप समस्या उत्पन्न हुने अवस्था आएपछि आइतबारदेखि व्यवस्थापनको काम सुरु गरिएको डीएसपी थापाले बताए।

उनका अनुसार सुनवल नगरपालिका–स्थित मुलपानी सामुदायिक वन र बर्दघाट नगरपालिका–स्थित चिसापानी सामुदायिक वनमा बुधबारसम्म १४५ वटा शव गाडेर व्यवस्थापन गरिएको छ।

शव व्यवस्थापन गरिएका स्थानमा जंगली जनावर प्रवेश गर्न नसक्ने गरी मजबुत तारजाली लगाउने तथा भविष्यमा शवको पहिचान गर्न सहज होस् भनेर प्रत्येक शवसँग सम्बन्धित पहिचान ट्याग सुरक्षित रूपमा भित्र र बाहिर राख्ने काम भइरहेको प्रहरीले जनाएको छ।

बाँकी रहेका ५० वटा शवको समेत पोस्टमार्टम गरी डीएनए नमुना संकलन गरेपछि सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिने नवलपरासी प्रहरीले जनाएको छ।

नारायणी नदीबाट निकालिएका केही शवहरू पहिचानका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल तथा कपिलवस्तुको पिपरा अस्पतालमा राखिएका छन्।

प्राकृतिक विपत्तिपछि नदीमा बेपत्ता भएका तथा भारततर्फ बगाइएका व्यक्तिका आफन्तहरू अझै पनि आफ्ना परिवारजनको अवस्थाबारे अनिश्चित छन्। त्यसैले शव व्यवस्थापनसँगै डीएनए परीक्षण, अभिलेखीकरण र पहिचान प्रक्रियालाई प्रभावकारी तथा पारदर्शी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

 

प्रकाशित: १७ भाद्र २०८३ २०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App