१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

सुरुङ खोल्न र डीएनए परीक्षण गर्न ४ देशका विशेषज्ञ टोली परिचालन: परराष्ट्र

भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका नागरिकको उद्धार र क्षतविक्षत शवको पहिचान गर्न अन्तर्राष्ट्रिय प्राविधिक टोली परिचालन गरिएको छ।

विपद्को आकार विशाल भएपछि भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विशेषज्ञ टोलीहरू नेपाली सुरक्षाकर्मीसँग मिलेर ‘ग्राउन्ड जिरो’ मा खटिएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार विपद्‌मा परी ज्यान गुमाउनेको संख्या बढ्दो छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हालसम्म १ हजार २०४ वटा शव फेला परिसकेका छन् भने अझै करिब ४ हजार २०० जना बेपत्ता छन्। बेपत्ता हुनेमा ३४ देशका करिब ५९० जना विदेशी नागरिकसमेत रहेका छन्।

हालसम्म १२ हजार १०० जनाको सकुशल उद्धार गरिएको छ। जसमा ३०० भन्दा बढी विदेशी नागरिक छन्। तीमध्ये पाँच जना सम्पर्कमा र सुरक्षित अवस्थामा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारमा भारतीय, चिनियाँ र कोरियाली टोली खटिएका छन्।

भारतीय सुरुङ उद्धार टोलीले नेपाली टोलीसँगको समन्वयमा लाङटाङ र चिलिमेमा काम गरिरहेको छ। सुरुङ खोल्ने काम भए पनि भित्री भाग हिलो र ठूला ढुङ्गाले भरिएकाले उद्धारमा कठिनाइ भइरहेको छ।

‘चिनियाँ सुरुङ उद्धार टोलीलाई अपर त्रिशूली ३ ‘ए’ मा परिचालन गरिएको छ। उहाँहरूले सुरुङको केही भाग खोलिसक्नुभएको छ,’ प्रवक्ता क्षेत्रीले भने। त्यसैगरी, कोरियाली सुरुङ उद्धार टोलीले अपर त्रिशूली १ को सुरुङ खोल्ने कार्य गरिरहेको छ। त्यहाँ थप प्राविधिक सहयोग आउने क्रममा छ।

शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले डीएनए नमुना विश्लेषण गर्न विदेशी फरेन्सिक विज्ञहरू ल्याइएको छ। सरकारको समन्वयमा १९ सदस्यीय भारतीय फरेन्सिक टोलीले नेपाल प्रहरीसँग मिलेर काम गरिरहेको छ।

‘चीनको ५ सदस्यीय विशेष फरेन्सिक टोली हिजो आइपुगेर डीएनए नमुनाको प्रशोधन र विश्लेषण तीव्र बनाएको छ,’ प्रवक्ता क्षेत्रीले भने। यसबाहेक सिङ्गापुरबाट ६ सदस्यीय ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन टिम’ आइसकेको छ भने आज थप १३ सदस्य उच्च क्षमताका ड्रोन र डीएनए परीक्षण उपकरणसहित नेपाल आउँदैछन्। कोरियाली फरेन्सिक टोली पनि यस कार्यमा जोडिएको छ।

विपद्का बेला कैलाश पर्वततर्फ जाने र फर्कने क्रममा रहेका करिब ४ हजार तीर्थयात्रीमध्ये २ हजार ५०० जना हिल्सा र तातोपानी नाका हुँदै सकुशल फर्किसकेका छन्। बाँकीलाई ल्हासाबाट हवाईमार्ग हुँदै फर्काउन सहजीकरण भइरहेको छ।

मन्त्रालयका अनुसार हाल चीनको केरुङमा करिब १ हजार ५०० नेपाली नागरिक अलपत्र छन्। उनीहरूलाई फर्काउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ।

त्यस्तै, केरुङमै रोकिएका १७६ नेपाली ट्रक र कन्टेनरलाई सुरक्षित नाकाबाट फर्काउन रुट परिवर्तनको पहल भइरहेको छ। बाढी गएको दिन चिनियाँ सीमातर्फ करिब १०० जना नेपाली नागरिक बेपत्ता भएको मन्त्रालयले पुष्टि गरेको छ।

हाल प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत टोलीले निरन्तर खोज, उद्धार र राहतको काम गरिरहेको छ।

प्रकाशित: १७ भाद्र २०८३ २०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App