भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफ्ना प्रियजनहरू जीवित भेटिने आश टरेपछि परिवारले कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरेका छन्।
बाढी गएको लामो समय बितिसक्दा पनि अवस्था पत्ता नलागेपछि र शवसमेत फेला नपरेपछि आफन्तहरूले पशुपति आर्यघाटमा कुशको प्रतीक बनाएर हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेका हुन्।
सोमबार पशुपतिस्थित आर्यघाटमा दर्जनौं बेपत्ताका परिवारजन भेला भएर सामूहिक अन्त्येष्टि गर्दा दिनभरजसो बाक्लो भीड लागेको थियो। आफ्ना आफन्तको अनुहारसमेत हेर्न नपाई कुशको प्रतीकात्मक शव जलाउन बाध्य हुँदा परिवारजन भावविह्वल बनेका थिए।
पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार सोमबार मात्रै आर्यघाटमा कम्तीमा एक सयभन्दा बढी कुशबाट बनाइएका शवका प्रतीकको सामूहिक अन्त्येष्टि गरिएको छ।
‘कुशका शवको हामीले छुट्टै रेकर्ड त राख्ने गरेका छैनौं, तर आज कम्तीमा पनि एक सयभन्दा बढी यस्ता प्रतीकात्मक शव जलाइएका छन्,’ उनले भने।
बाढीमा आमाबुवा दुवैलाई गुमाएका नुवाकोटका बबिन रिजालले पनि सोमबार आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। उनका बुवा नाथ रिजाल र आमा विनिता रिजाल बाढी आएदेखि नै बेपत्ता छन्। ‘बाढीमा बगेको यति लामो समय बितिसक्दा पनि बुवा-आमाको अवस्था पत्ता लाग्न सकेन। अब जीवितै भेटिने आशा मरिसकेकाले कुशको शव बनाएर अन्त्येष्टि गरेका छौं,’ आँसु झार्दै रिजालले भने।
आफन्त फर्केर आउने आशामा दिनरात बाटो हेरिरहेका परिवारले अन्ततः हार मानेर धार्मिक संस्कार पूरा गरी मनलाई केही शान्त पार्ने प्रयास गरेका हुन्।
कसैले कुशबाट तयार पारिएको प्रतीकात्मक शव बोकेर घाटसम्म ल्याएका थिए भने कसैले धार्मिक विधिअनुसार कर्मकाण्ड पूरा गरेका थिए।
भदौ १० गतेको अचानकको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय क्षति भएको थियो। अझै पनि हजारौं मानिस बेपत्ता छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।
तर, समय बित्दै जाँदा जीवित उद्धार हुने आशा क्षीण हुँदै गएपछि धेरै परिवारले यसरी नै कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्।
प्रकाशित: १७ भाद्र २०८३ २०:३१ बुधबार





