कोशी प्रदेशका सांसद अमृत अर्यालले प्रदेश स्थापनाको आठ वर्ष पुगिसक्दा पनि जनताले महसुस गर्ने गरी उल्लेखनीय काम गर्न नसकेको बताएका छन्। उनले प्रदेशसभाको बाँकी एक वर्षे कार्यकालमा जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका काम गर्न सरकारलाई आग्रह गरेका छन्।
बुधबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसद अर्यालले पाँच वर्षको कार्यकालमा प्रदेशको आर्थिक अवस्था सुधार, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा प्रदेशवासीले गौरव गर्ने खालका काम गर्न नसकिएको गुनासो गरे।
उनले भने, ‘पाँच वर्षमा प्रदेशको आर्थिक अवस्था उकास्ने, पर्यटन प्रवर्द्धन गर्ने, पूर्वाधार निर्माण गर्ने र प्रदेशका जनताले गौरव गर्ने खालका पाँचवटा काम के–के गर्यौं भनेर जनताले सोधे जवाफ दिन सकिने अवस्था छैन। अब बाँकी कार्यकालमा जनतालाई जवाफ दिन सकिने गरी काम गर्न सरकारलाई आग्रह गर्दछु।’
अर्यालले कोशी प्रदेश स्थापना भएको आठ वर्ष पुगिसक्दा पनि प्रदेशका स्थायी संरचना निर्माण हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए। अझै पनि पुराना सरकारी भवन तथा भाडाका घरबाट मन्त्रालय सञ्चालन भइरहेको भन्दै उनले प्रदेशको आफ्नै संरचना निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।
प्रदेशसभामा आएर मुख्यमन्त्री तथा मन्त्री बन्ने र आफ्नो निर्वाचन क्षेत्रमा बजेट लैजाने होड मात्रै चलेको उनको आरोप थियो। आफ्नो क्षेत्रमा बजेट खन्याउँदैमा विकास भएको मान्न नहुने भन्दै उनले त्यसबाट कति उपलब्धि हासिल भयो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए।
सांसद अर्यालले विगतमा प्रमुख राजनीतिक दलको हैसियतमा रहेका दलहरू पछिल्लो निर्वाचनमा कमजोर अवस्थामा पुग्नुका कारणबारे पनि राजनीतिक दलहरूले गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे।
उनले प्रदेश सरकार र राजनीतिक दलहरूलाई जनताको अपेक्षा तथा आवश्यकता सम्बोधन गर्दै बाँकी कार्यकाललाई परिणाममुखी बनाउन आग्रह गरे।
प्रकाशित: १७ भाद्र २०८३ २१:०३ बुधबार



-600x400.jpg)

