१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

नेल्सन मण्डेला र मोहनचन्द्र अधिकारी : दुई क्रान्तिकारीको एउटै सन्देश!

सन्दर्भः मण्डेला दिवस

आज जुलाई १८ अर्थात् अफ्रिकाको रङ्गभेद विरोधी आन्दोलनका महानायक नेल्सन मण्डेला दिवस।

‘सत्ताको सम्मानभन्दा पनि सिद्धान्तको सम्मान गर’ यो विचारले नेल्सन मण्डेलालाई विश्व राजनीतिमा अमर बनायो। यस्तै विचार बोकेका नेपालका मोहनचन्द्र अधिकारीलाई पनि सच्चा कम्युनिस्टको दर्जा दियो। यिनीहरूबिच भूगोल फरक भए पनि सङ्घर्ष, बलिदान र आदर्शको आधार भने समान छ। मण्डेलाले श्वेत सत्ताविरुद्ध लड्दा २७ वर्ष जेल जीवन भोगे, अधिकारीले वर्गीय उत्पीडनको विरुद्ध आवाज उठाउँदा १७ वर्ष जेल जीवन भोगे।

तर राजनीतिक नियतिमा भने अधिकारीभन्दा मण्डेला भाग्यमानी रहे। मण्डेला देशको पहिलो अश्वेत राष्ट्रपति बनेर सानदार बिदाइ भए। तर अधिकारी भने वामपन्थी सरकारको राजहुँदा पनि ‘गुमनाम’जीवन बाचिरहेका छन्। मण्डेला दिवस मनाउँदै गर्दा नेपालका मण्डेला भने ओझेलमा परेका छन्। आजको दिन मण्डेलाको जन्मोत्सव अर्थात् मण्डेला दिवस जुन विश्वभर मनाइन्छ। उनका तस्बिर, विचार र सन्देश अन्तर्राष्ट्रिय मञ्चहरूमा झल्किन्छन्। तर नेपालमा मोहनचन्द्र अधिकारी बिर्सिँदै गएका छन्। न कुनै औपचारिक सम्मान, न इतिहासमा स्थान।

नेपालको  क्रान्तिकारी नेताका रूपमा चिनिने अधिकारीको नाम झापा विद्रोहसँग गाँसिएको छ। उनी पद र प्रतिष्ठाको पछि लागेनन्। त्यसैले उनलाई  पनि ‘नेपालका नेल्सन मण्डेला’ समेत भनियो। सन् १९५० को दशकतिर १३ वर्षको उमेरमा अधिकारी राजनीति प्रवेश गरे। पञ्चायती निरङ्कुशता, वर्गीय विभेद र शोषणको विरुद्ध उनी सधैँ उभिए। विद्यार्थी आन्दोलनबाट सुरु भएको उनको यात्रा झापा विद्रोहसम्म पुगेको थियो। उनी र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सँगै एउटै साङ्लोमा बाँधिएर जेल परेका थिए। केपी शर्मा पटक-पटक प्रधानमन्त्री भइसकेका छन्। तर उनी भने यति बेला गुमनाम जीवन बाचिरहेका छन्।  

‘मलाई ६० वर्षको उमेरमै बुढो हुनुभयो भनेर पार्टीबाट पन्छाइयो,’ उनले केही समय अगाडि टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, ‘अहिले ७०-८० वर्षको उमेरको खेल भइरहेको छ।’  

मण्डेला र अधिकारीको जेल यात्रा राजनीतिक लडाइँको दोस्रो अध्याय थियो। जेलमा बसेर पनि उनीहरूको विचार कमजोर भएन। उनीहरूको विचार  जेलको साँघुरो कोठामा पनि फैलिएको थियो। मण्डेला भन्थे, ‘म स्वतन्त्र छु, किनकि मेरो आत्मा कसैले कैद गर्न सक्दैन।’ अधिकारीको आत्मबल पनि उस्तै थियो। उनी आफ्नो सक्कली नाम लुकाएर बसेका बेला झोलाभित्र रहेको किताबकै कारण पक्राउ परे। पक्राउपछि उनीमाथि निकै अत्याचार भयो तर उनले आफ्नो ‘कमरेड’ हरूलाई दोष दिएनन्। आफ्नो साँचो परिचय दिए र पहाडका ५ र तराईका ५ जेलमा गरी उनले १७ वर्ष बिताए।

जेल बदलिए पनि उनले आदर्श बदल्दैनथे। ‘मलाई जेलमा लामो समय बिताएको कुनै पश्चात्ताप छैन। हामीले वर्गीय मुक्तिका लागि यो सब गरेका थियौँ,’ उनले भन्ने गरेका छन्, ‘अहिले पार्टीहरूमा कम्युनिस्ट नदेख्दा भने दु:ख लाग्छ।’ व्यक्तीगत रूपमा मुलुकमा अझै पनि सच्चा कम्युनिस्ट रहेको तर पार्टीगत रूपमा भने साँचो कम्युनिस्ट नदेखिएको भन्दै उनी चिन्ता व्यक्त गरिरहन्छन्। ९० को हाराहारीमा पुग्दै गरेका यी नेतामा आफूले कोल्टे फेर्न नसकेको भन्दा पनि मुलुकले कोल्टो फेर्न नसकेकोमा चिन्ता बढी छ। ‘पहिला पहिला सामन्ती सत्ताका कारण मुलुकले विकाशको बाटो नलिएको भन्न सकिन्थ्यो,’ उनले भने, ‘अहिले दोष दिएर पन्छने ठाउँ छैन।’ कम्युनिस्टको नाउँ गरेकाले मुलुकलाई बरबादीको बाटोमा लगेका कारण कम्युनिस्ट भन्ने शव्दतर्फ नै सर्वसाधारण कठोर भएको उनको बुझाइ छ।  

मुलुक र नेता राम्रो भए त्यागी नेताले सम्मान पाउँछ भन्ने उदाहरण दक्षिण अफ्रिकामा देखियो। मण्डेलालाई पद चाहिएको थिएन तर उनी  जेलबाट निस्किएपछि राष्ट्रपति बने। राष्ट्रले सम्मान स्वरूप जिम्मेवारी दिएको थियो। तर मोहनचन्द्र अधिकारीको जीवनमा त्यो अवसर जुरेन। झापा विद्रोहका सहकर्मीहरू, केपी शर्मा ओली, माधवकुमार नेपाल, सिपी मैनाली लगायतका नेताहरू प्रधानमन्त्री र मन्त्रीसम्म बने। तर अधिकारी कुनै पनि राज्य पदमा पुगेनन्। उल्टै, ६० वर्ष उमेर पुगेपछि माधव र ओलीले उनलाई पार्टीबाटै हटाए। ‘यो उमेर भरत मोहन अधिकारीको सवालमा भने लागु भएको थिएन,’ उनले विगत सम्झँदै टेलिभिजन अन्तर्वार्ता भनेका छन्, ‘मलाई भने पन्छाइयो।’  

यति हुँदाहुँदै पनि इतिहासले मण्डेला र अधिकारीलाई भिन्न ढङ्गले सम्झिने छ। मुलुक प्रति हेर्ने दुवै नेताको दृष्टिकोण समान थियो, क्रान्ति, न्याय र परिवर्तनको बाटो। सुरुमा केही हिंसाको बाटो अपनाए पनि पछि दुवै शान्तिका पक्षधर भए। जेलबाट निस्केपछि उनीहरूले हिंसा होइन, मेलमिलापको बाटो रोजे। अधिकारी पनि हिंसात्मक विद्रोहको अनुभवपछि हतियार बन्द आन्दोलन तत्काल आवश्यक छैन भन्ने निष्कर्षमा पुगे। उनले प्रचण्डलाई समेत हतियार उठाउने बेला नभएको सुझाव दिएका थिए।

दुवै नेताको एउटै बुझाइ देखिन्छ – ‘क्रान्ति केवल बन्दुकले होइन, विचार, सङ्गठन र दृढ इच्छाशक्तिले सम्भव छ।’ उनीहरूको यो भनाई किन पनि सार्थक छ भने दुवैले क्रान्तिको अनुभव पनि बटुलेका छन्। क्रान्तिबाट शान्तिको बाटोमा आएर मुलुकलाई अगाडि बढाउने उनीहरूको सोचलाई सबैले सम्मान गरेका छन्। गोराहरूको शासनविरुद्ध लडेका मण्डेलाले आफ्नो शासन कालमा गोराहरूलाई साथ लिएरै मुलुक अगाडि बढाएका थिए।

यी दुवै पात्र हाम्रो समाजका ऐना हुन्। मण्डेला र अधिकारी यस्ता पात्र हुन्, जो पुस्ता–पुस्तामा आदर्शको प्रतीक बन्न सक्छन्। एकले रङ्गभेद तोडे, अर्काले वर्गभेदविरुद्ध लडे। एक राष्ट्रपतिमा पुगेर महान् बने, अर्का राज्यभन्दा माथि उठेर महान् बने। नेताहरू सधैँ सत्ता मोहमा पर्दैनन् भन्ने उदाहरण बनेका छन् अधिकारी। त्यसैले मोहनचन्द्र अधिकारीजस्ता नामहरूलाई सम्झनु नै साँचो अर्थमा मण्डेला दिवसको सम्मान हुने छ।  

अन्तर्राष्ट्रिय नेल्सन मन्डेला दिवस

आज अन्तर्राष्ट्रिय नेल्सन मन्डेला दिवस हो। स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गरेको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो।मानवताको सेवामा गरेको समर्पण, द्वन्द्व समाधान, मानव अधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता र बालबालिकाका साथै अन्य कमजोर समूहको अधिकारको रक्षाका निम्ति अश्वेत नेता मन्डेलाले जीवनभर सङ्घर्ष गरेका थिए।

यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जारी गरेको सन्देशमा नेल्सन मन्डेलाको असाधारण जीवनले कसरी उत्पीडन, सङ्घर्ष र अधीनतालाई मेलमिलाप, सामाजिक न्याय र एकतामा रुपान्तरण गर्न सक्छ भन्ने देखाएको बताएका छन्।नेता मन्डेलाको स्वतन्त्रता, न्याय र समानताप्रतिको प्रतिबद्धताबाट प्रेरित भएर काम गर्न विश्ववासीलाई महासचिव गुटरेसले आह्वान गरेका छन्।

प्रकाशित: २ श्रावण २०८२ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App