मुग्लिन नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक मंगलबार दुई पटक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरो पन्छाएपछि हाल सडकमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
बिहान करिब ७ः३० बजे मुग्लिन बजार नजिकैको खहरे खोलामा पहिलो पटक सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। करिब पाँच घण्टापछि पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि करिब डेढ घण्टामै सोही क्षेत्रमा पुनः सुख्खा पहिरो खसेपछि सडक फेरि अवरुद्ध बनेको थियो।
दोस्रो पटकको पहिरो हटाउन करिब एक घण्टा लागेको र त्यसपछि सडकमा सवारी आवागमन पुनः सञ्चालन गरिएको सडक डिभिजन भरतपुर निकायले जनाएको छ।
पहिरो खसेको स्थान यसअघि जोखिम क्षेत्रका रूपमा चिनिएको नभई नयाँ स्थान रहेको जनाइएको छ। उक्त क्षेत्रमा थप पहिरो खस्ने सम्भावना उच्च रहेको आकलन गरिएकाले सडक प्रयोगकर्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित: १२ श्रावण २०८३ १६:५७ मंगलबार


-600x400.jpg)


