लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन् ।
मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ ।
पाँचथरमा फाल्गुनन्द–३ (रमाईलो चोक, पौवा चोक, चिम्फुला), फिदिम–३, लालीखर्क, तुम्वेवा–२ (नावा खोला), फालेलुङ–८ (आकाशे भञ्ज्याङ), फिदिम–११ (फेमे खोला), याङवरक–२ (दोभाने खोला), याङवरक–३ (रिजाल भिर), फिदिम–१२ (पिपलबोटे) क्षेत्रमा गएको पहिरोले सडक अवरुद्ध बनेका छन् । जसले आवतजावतमा समस्या हुने भएकाले सावधानी अपनाउन र जोखिम मोलेर यात्रा नगर्न प्रशासनले सुझाएको छ ।
त्यस्तै उदयपुरमा कटारी–१४ (दलदले सडक, चनौटे)मा सडक अवरुद्ध भएको छ ।
धनकुटाको साँगुरीगढी–१ (चनौटे, घण्टे, सिमसुवा), पाख्रिबास–४,–५ (पाख्रिबास, दिकुरे)मा सडक पहिरो खसेर अवरुद्ध भएको छ ।
त्यस्तै संखुवासभामा मकालु–३ (एकुवा)मा सडक अवरुद्ध बनेको छ ।
सुनसरीको धरान–१३ (विष्णुपादुका), इलामको इलाम–९ (राजदुवाली)मा मेची राजमार्ग अवरुद्ध बनेको छ ।
धनकुटा र साँगुरीगढीका केही सडकहरू एकतर्फी सञ्चालनमा रहेका छन् । सडक अवरुद्धका कारण यातायात पूर्ण वा आंशिक रूपमा ठप्प भएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीले उद्धार, निगरानी र ढलान/मर्मत कार्यमा खटिएका छन्।
प्रकाशित: १९ आश्विन २०८२ १७:११ आइतबार





