२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबिच समझदारी

नेपालका पर्यटकीय उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटिबी) र नेपाल वायु सेवा निगम (एनएसी)बिच समझदारी भएको छ ।  

दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचार–प्रसार, मेगा इभेन्ट र ब्रान्डिङसम्मका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति जनाएपछि नेपालको पर्यटन कूटनीति नयाँ चरणमा प्रवेश गरेको बताइएको छ ।

समझदारीपत्र अनुसार बोर्डले विदेशी पर्यटन मेलाहरू, सेल्स मिसन, रोड सो, पत्रकार सम्मेलन, फ्याम ट्रिपलगायत सबै प्रमुख प्रवद्र्धनात्मक कार्यक्रमहरूमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन’का रूपमा निःशुल्क सहभागिता प्रदान गर्नेछ ।  

निगमले पनि आफ्ना उडान गन्तव्यहरूमा एक सय किलोसम्मका प्रवद्र्धन सामग्री निःशुल्क लैजान दिने, संयुक्त कार्यक्रमका लागि उपहार टिकट उपलब्ध गराउने तथा रियायती टिकट सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।

दुवै संस्थाले अन्तर्राष्ट्रिय बजारमा नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटी सहभागी हुने फ्याम ट्रिपहरूमा सामूहिक रूपमा काम गर्नेछन् ।  

नेपालका पर्यटकीय गन्तव्य तथा उत्पादनको डिजिटल विज्ञापन, प्रमोसन भिडियो, संयुक्त ब्रान्डिङ, वेबसाइट लिंक–सपोर्ट, संयुक्त होर्डिङ बोर्डलगायत सामग्री उत्पादनलाई पनि नयाँ रूपले एकीकृत गर्ने समझदारीपत्रमा उल्लेख छ ।  

बोर्ड र नेपाल वायुसेवा निगम दुवैले आवश्यक परेको अवस्थामा संयुक्त ब्रोसर, गाइडबुक, पोस्टर तथा सांस्कृतिक विविधता झल्किने सामग्री निर्माण गर्ने र विदेशी राष्ट्रिय दिवस वा व्यापारिक कार्यक्रमहरूमा संयुक्त उपस्थिति जनाउने सहमति समेत गरेका छन् । नेपालभित्र विदेशी कलाकार, फिल्म उत्पादक, खेलाडी तथा खेलकुदमा संलग्न व्यक्तिहरू तथा सेलिब्रिटी सहभागी हुने मेगा–इभेन्टमा पनि निगमले सहुलियत टिकट उपलब्ध गराउनेछ ।  

यस सहकार्यका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन संरचना बढी गतिशील, समन्वित र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ । दुवै संस्थाले हरेक ६ महिनामा संयुक्त प्रतिवेदन तयार पारेर कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्नेछन् ।  

समझदारीपत्र हस्ताक्षरपछि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सहकार्यलाई नेपालको अन्तर्राष्ट्रिय छवि तथा बजार पहुँच विस्तारका लागि ऐतिहासिक कदमको रूपमा व्याख्या  गरेका छन् ।  

उनले भने, ‘नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव हो र पर्यटन यसको मूल चालक शक्ति हो । दुवै संस्थाबिचको यो रणनीतिक साझेदारीले ‘नेपाली ब्रान्ड’ लाई विश्वभर उच्चतम प्रचार र प्रबद्र्धन गर्न टेवा पुग्नेछ । विमानस्थलदेखि गन्तव्यसम्म एकीकृत प्रवद्र्धनले नेपालको पहिचान थप स्पष्ट र प्रभावकारी बन्छ ।’  

उनले सहकार्यलाई दिगो पर्यटन विकासका लागि महत्त्वपूर्ण हुने बताउँदै थपे, ‘फ्याम ट्रिप, मेगा–इभेन्ट, डिजिटल क्याम्पेनदेखि अन्तर्राष्ट्रिय मेलासम्मका गतिविधिमा हुने संयुक्त प्रयासले नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’

प्रकाशित: १६ मंसिर २०८२ २०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App