काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। मृतक कीर्तिपुर–ट्याङ्लाफाँट बस्दै आएका सुरेशचन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार श्रेष्ठको परिवारले शवको सनाखत गरेको हो। उनी नरदेवीका स्थायी बासिन्दा भए पनि पछिल्लो समय ट्याङ्लाफाँटमा बस्दै आएका थिए।
मंगलबार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा श्रेष्ठले चलाइरहेको बा ५ च ३०३८ नम्बरको सेतो रंगको किया कारमा एक्कासि आगो लागेको थियो। प्रत्यक्षदर्शीका अनुसार कार चाँदनी चोकमा आएर रोकिएपछि सुरुमा गाडीभित्र सानो आगो देखिएको थियो। केहीबेरमै आगो तीव्र रूपमा फैलिँदा चालक बाहिर निस्कन नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठ सिट बेल्ट बाँधेकै अवस्थामा कारभित्र जलेको अवस्थामा फेला परेका थिए। प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाएको जनाएको छ।
प्रकाशित: ५ श्रावण २०८३ १७:४० मंगलबार





