२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

एक वर्षसम्म युट्युबर, पत्रकारलाई अन्तर्वार्ता नदिने महावीर पुनको घोषणा

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।

केही दिनअघि सडक ट्राफिक जरिवानाका विषयमा आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्।

मन्त्री पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक आगामी एक वर्षसम्म ठूला-साना युट्युबर, सामाजिक सञ्जाल र पत्रकार कसैलाई पनि अन्तर्वार्ता नदिने बताएका छन्।

‘आजदेखि मैले कुनै पनि ठुला साना युटुबरसहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन, छैन, छैन’, उनले लेखेका छन्।

केही दिनअघि सामाजिक सञ्जालका पत्रकारहरूलाई अन्तर्वार्ता दिने क्रममा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने भनी दिएको अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले सो भनाइ फिर्ता लिँदै माफीसमेत मागेका छन्। अज्ञानवश कसैलाई चोट पुगेको भए माफ गरिदिन अनुरोध गर्दै उनले ट्राफिक नियम अटेर गर्नेहरूलाई ‘मुटुमा हात राखेर सोच्न’ आग्रह गरे।

अन्तर्वार्ताका क्रममा आफूलाई विवादमा तानिएको दाबी गर्दै मन्त्री पुनले भनेका छन्, ‘केही दिनअगाडि ट्राफिक जरिवानासम्बन्धी कुरामा मलाई केही थाहा छैन भन्दाभन्दै पनि उनीहरूले कोट्याई कोट्याई सोधेका थिए। मैले अटेर गर्नेलाई जरिवाना गर्नुपर्छ भनेको हो र ५० हजारको कुरा उनीहरूले नै निकालेका हुन्।’

प्रकाशित: २७ असार २०८३ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App