२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

जमल डुबानको मुख्य कारण पूर्वाधारको असन्तुलन

काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य कारण पानी भित्रिने र बाहिरिने ढल प्रणालीबीचको असन्तुलित क्षमता रहेको प्राविधिक अध्ययनले देखाएको छ। 

प्रतिवेदनअनुसार जमल क्षेत्रमा विभिन्न दिशाबाट आउने पानीको कुल प्रवाह क्षमता (टोटल इनफ्लो एरिया) ० दशमलव ८२६ वर्गमिटर रहे पनि निकासका लागि रहेको ढलको क्षमता (टोटल आउटफ्लो एरिया)  मात्र ० दशमलव २८३ वर्गमिटर भएकाले पानी सडकमै जम्ने र डुबान हुने गरेको हो। 

प्राविधिक अनुसन्धानका अनुसार ज्याठातर्फबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर व्यासका पाइपमार्फत वर्षाको पानी जमल चोकमा आइपुग्छ । यी सबै पाइपबाट आउने पानीको संयुक्त क्षमता करिब १२० सेन्टिमिटर व्यासको पाइप बराबर हुने भए पनि निकासका लागि भने ६० सेन्टिमिटर व्यासको एउटै ढल प्रयोग भइरहेको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनले टुकुचा खोलाको पानीको सतह र ढलको अन्तिम निकास बिन्दुबीच उचाइको अन्तर अत्यन्त कम भएकाले ठूलो वर्षा हुँदा टुकुचाको पानी उल्टै ढलभित्र पस्ने र निकास अवरुद्ध हुने समस्या देखाएको छ ।  यसले जमल क्षेत्रमा डुबानको जोखिम अझ बढाउने गरेको निष्कर्ष निकालिएको छ। 

यसअघि माइतीघर मण्डलामा देखिएको ‘बोटलनेक’ समस्या जस्तै जमलमा पनि पूर्वाधारको क्षमता असन्तुलित हुँदा सामान्य वर्षामै सडक जलमग्न हुने अवस्था सिर्जना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

जमलमा लगातार डुबान हुन थालेपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनमा महानगरपालिका, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र डिभिजन सडक कार्यालयका प्राविधिकहरूको संयुक्त टोलीले स्थलगत अध्ययन गरेको थियो। सोही अध्ययनका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार पारेको हो। 

समितिले डुबान न्यूनीकरणका लागि तत्काल, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणका उपाय सिफारिस गरेको छ। तत्कालका लागि जमलदेखि केशरमहलसम्म थप क्याचपिट निर्माण, ढल, म्यानहोल र क्याचपिटमा थुप्रिएको फोहोर, लेदो तथा बालुवा नियमित सफा गर्ने तथा टुकुचा खोलाको बहाव सहज बनाउन सफाइ गर्न सुझाव दिइएको छ। 

मध्यकालीन योजनाअन्तर्गत हालको ६० सेन्टिमिटर व्यासको निकास पाइप हटाएर ठूलो क्षमताको ट्रंक लाइन निर्माण, पानीको चाप कम गर्न डाइभर्सन प्रणाली विकास तथा पुरानो ढल प्रणाली पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सिफारिस गरिएको छ। साथै वर्षाको पानीको भार कम गर्न त्रिचन्द्र बहुमुखी क्याम्पस, होटल, विद्यालय, सपिङ मल र निजी जग्गामा पानी पुनःभरण प्रणाली लागू गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ। 

दीर्घकालीन समाधानका रूपमा जमल क्षेत्रका भवनमा वर्षाको पानी संकलन (रेन वाटर हार्भेस्टिङ) र भू–जल पुनःभरण (ग्राउन्ड वाटर रिचार्ज) प्रणाली अनिवार्य गर्न, वर्षाको पानीका लागि छुट्टै स्टोर्म वाटर ड्रेनेज प्रणाली निर्माण गर्न तथा प्रशोधन गरिएको वर्षाको पानी रानीपोखरीलगायत जलाशयमा पुनःभरण गर्ने व्यवस्था गर्नुपर्ने समितिको सुझाव छ। 

समितिले सन् २०१८ मा तयार गरिएको काठमाडौंको कोर सिटी क्षेत्रको ढल पुनःस्थापना सम्बन्धी विस्तृत डिजाइनलाई पुनः अध्ययन गरी आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान सके मात्र जमल क्षेत्रमा हुने डुबानको समस्या दीर्घकालीन रूपमा समाधान हुने निष्कर्ष निकालेको छ।  

प्रकाशित: २१ श्रावण २०८३ ११:४६ बिहीबार