२०६३ सालमा माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै तराईमा भूमिगत सशस्त्र समूह बढ्दै गए । त्यो बेला बग्रेल्ती भूमिगत समूह सक्रिय थिए । ती मध्येको मधेसी मुक्ति टाइगर्स एक थियो । त्यही समूहको सेल्टर थियो, ‘सुनसरीको हरिपुर’। त्यो बस्तीमा प्रायः सबै पहाडबाट झरेका राई, लिम्बू, मगर, गुरुङ, कुवरसँगै क्षेत्री बाहुनलगायतका समूदाय थिए ।
मधेसी मुक्ति टाइगर्सले हरेक दिन त्यही बस्तीमा गएर खानपान गर्ने अनि दुःख दिने श्रृङ्खला बढाउँदै लगे । मधेसी मुक्ति टाइगर्सका कार्यकर्ताले त्यो बस्तीमा बसोबास गर्नेको नगद पैसासमेत लुट्न थाले । नदिएमा जे पनि गर्ने धम्की दिन्थे ।
त्यो समूहका कार्यकर्ताको चरम ज्याजतीसँगै हिंसाका घटना बढाउन थालेपछि रातारात मानिसहरू विस्थापित भए । परिवारमा छोरीचेली जोगाउनै कठिन भएको भन्दै स्थानीय रातारात नै भाग्नुपर्ने अवस्था बन्यो ।
त्यहाँबाट विस्थापित उनीहरू सुनसरी–मोरङ सिचाईं आयोजनाको ऐलानी जग्गा बराहक्षेत्र वडा नं. ३ मा बस्न थाले । उनीहरु यसरी बसेको १८ वर्ष पुग्यो ।
विस्थापित भएकालाई केही वर्षअघि सिचाईं आयोजनाले हटाए पनि अहिले उनीहरू त्यही बस्दै आएका छन् । उनीहरु कि पुरानै ठाउँमा फर्किने वा नयाँ स्थायी बसोबासको व्यवस्था गरिदिन सरकारसमक्ष माग गर्दै आएका छन् ।
‘आशै आशमा जीवन जाने भयो,’ विस्थापित कुलबहादुर माझीले भने, ‘हाम्रा पक्षमा सरकारले केही गर्छ कि भन्ने आशामा बसेका छौं, तर अहिलेसम्म कसैले चाँसो दिएनन् ।’
विस्थापित बासिन्दालाई समस्या छ । ‘सधैँभरी पीडामा बस्नु परेको छ,’ ३६ वर्षे गोविन्द लिम्बूले भने, ‘पहिलेकै ठाउँमा फर्कँने वातावरण भएमा टन्नै जग्गा जमिन थियो । त्यही जग्गा जमीनमा अन्नबाली लगाएर हाइसञ्चो ढंगले बस्ने थियौं ।’
गोविन्द १४ वर्षको हुँदा विस्थापित भएका थिए । विगतको अनुभव सुनाउँदै उनले भने, ‘मधेसी मुक्ति टाइगर्सले घरकाम दिदीबहिनीलाई जे मन लाग्यो त्यही गर्थे, त्यहाँको सम्पूर्ण छाडेर सुरुवातमा बराहक्षेत्रकै बिचपानीमा केही दिन आएर बस्यौं अनि त्यहाँ पनि बस्ने उपयुक्त वातावरण नभएपछि यहाँ नहरको डिलमा आएर बसेका हौं ।’
पीडितहरुले दिवंगत प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, शेरबहादुर देउवा, माधवकुमार नेपालसँगै नेताहरु गगन थापा, रकम चेम्जोङ् र सुनसरीकै भीम आचार्यलाई थुप्रै पटक भेटेर आफ्ना समस्या राखेका छन् । प्रदेश सरकारलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छन् । यद्यपी, कही कतैबाट पहल भएको छैन ।
‘कम्तीमा हामी जस्ता पीडितलाई जे हो, त्यो त सरकारले भन्नुपर्छ नि तर अहिलेसम्म कसैले चाँसो नदिएको देख्दा अचम्भित भएका छौं,’ विस्थापित धनबहादुर राईले भने ।
पछिल्लो समय भदौं २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि नागरिक स्तरको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्व सरकारसमक्ष आफ्ना मागहरु राख्ने तयारी भइरहेको जानकारी दिइयो ।
२०६४ कात्तिकमा हरिहरपुरका ५८ परिवार एकै दिन घर छाडेर हिँडेका थिए । त्यतिबेला एकैपटक विस्थापित भएका अहिले बराहक्षेत्र-३ मा १२ परिवार बस्दै आए पनि अरु भने बराहक्षेत्रकै चतरा, कोही मोरङको उर्लाबारी, लक्ष्मीमार्ग र झापाको विभिन्न स्थानमा छन् ।
मधेसी मुक्ति टाइगर्सका कार्यकर्ताले स्थानीयलाई पीडा दिनुका सार्थै २०६४ साल साउन १४ गते राति त टेकबहादुर कुवँरलाईं गोली हानेर हत्या नै गरेका थिए । मधेसी टाइगर्सको निसानामा बलराम गिरी पनि परेका थिए । टेकबहादुरलाई हत्या गरेको १३ दिनपछि परिवारकै सदस्यले बलरामलाई भगाएर अन्यत्रै राखेपछि बाँच्न सफल भएका थिए ।
प्रकाशित: १९ मंसिर २०८२ २०:०३ शुक्रबार





