सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेपछि रौतहटको राजनीति तरङ्गित बनेको छ । बिहीबार सदरमुकाम गौरस्थित रौतहट उद्योग वाणिज्य संघमा बसेको सर्वदलीय तथा सर्वपक्षीय भेलाले जनप्रदर्शन समिति गठन गर्दै मसाल जुलुस र विशाल प्रदर्शन गर्ने निर्णय गरेको हो ।
जसपा नेता रामकिशोर यादवको संयोजकत्वमा गठित जनप्रदर्शन समितिमा विभिन्न पार्टीमा छरिएर रहेका तत्कालीन मधेसी जनअधिकार फोरमका समर्थकहरूकै संख्या बढी रहेका छन् । सर्वपक्षीय भेलाले तीन सूत्रीय निर्णय गरेको सार्वजनिक भएको छ । तत्कालको लागि जनप्रदर्शन समिति गठन, मसाल जुलुस गर्ने र विशाल जनप्रदर्शन गर्ने निर्णय गरिएको छ ।
सर्वोच्च अदालतबाट जारी भएको परमादेशबाट मधेसको राजनीति गर्नेहरूलाई बदनियत पूर्वक तह लगाउन खोजिएको र मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न गराउन प्रपञ्च रचिएको समितिले जनाएको छ ।
जनप्रदर्शन समितिले शनिवार सदरमुकाम गौरमा मसाल जुलुस गरिने र आइतबार सदरमुकाम गौरमा विशाल जनप्रदर्शन गर्ने निर्णय गरेको छ । जिल्लाभरका कार्यकर्तालाई दुवै कार्यक्रममा सहभागिताका लागि नेताहरुलाई परिचालन गरिने सहमति पनि भएको छ ।
सर्वपक्षीय बैठकमा संविधान सभा सदस्य बबन सिंह, पूर्व प्रदेश सांसद बाबुलाल साह, पूर्व प्रदेशका राज्यमन्त्री योगेन्द्र राय यादव, रेवन्त झा, अनिल सिंह, दुर्गा भगवती गापा अध्यक्ष शम्भु सिंह, अमर यादव, विश्वनाथ पटेल, छोटन सिंह, रामेश्वर यादव, शंकर यादव, रामचन्द्र गिरी, उमेश तिवारी, भुषण सिंह, राजिव सिंह, किरण ठाकुर, भाग्यनारायण साह, गौरीकान्त मिश्र, बृजकिशोर यादव, अनिल यादव, श्याम यादव, राजकुमार दास तत्मासहित विभिन्न दलका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
प्रकाशित: ५ भाद्र २०८२ १८:४२ बिहीबार





